कर्णाली प्रदेशका साना किसान र कृषि मध्यस्थकर्ताद्वारा उत्पादित कृषि वस्तुहरू र नवीनतम सोचका अवधारणाहरू सुर्खेतको वीरेन्द्रनगर स्थित कभर्ड हलमा एक भव्य प्रदर्शनी कार्यक्रम मार्फत प्रस्तुत गरिएको छ । यो प्रदर्शनी कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा, युथ इनोभेसन ल्याबको आयोजना, डब्लु.एच.एच र जिआईजेठ परियोजनाको सहकार्यमा भएको थियो ।
यस कार्यक्रममा कृषि क्षेत्रका उत्पादनकर्ताहरू, नवप्रवर्तक हरू, सरकारी र गैरसरकारी संस्था, विकास साझेदार, वित्तीय संस्था, र विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री माननीय राजीव विक्रम शाहले गरे । मन्त्री शाहले आफ्नो सम्बोधनमा कर्णालीलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा निर्यात गर्न सकिने सम्भावनाको चर्चा गर्दै, प्रदेशलाई कृषि क्षेत्रको प्रमुख केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्य व्यक्त गरे । उनले भने, “कर्णालीमा कृषि क्षेत्रको अत्यधिक सम्भावना रहेको छ, र यो सम्भावनालाई उपयोग गर्न नयाँ प्रविधि र विचारहरूलाई किसानसम्म पुर्याउन अत्यावश्यक छ ।
प्रदर्शनीका मुख्य आकर्षण
प्रदर्शनीमा साना किसानहरूले आफ्नो उत्पादन र नवीनतम सोचहरू प्रदर्शन गरेका थिए। सहभागीहरूले प्रदर्शनीमा जडीबुटी, कृषि उत्पादनका वस्तुहरू, र कृषि व्यवसायका योजनाहरू प्रस्तुत गरेका थिए । यस प्रदर्शनीको मुख्य उद्देश्य साना किसान र कृषि मध्यस्थकर्ताहरूलाई व्यवसायिक ज्ञान र सञ्जाल निर्माण गर्ने अवसर प्रदान गर्नु थियो। यो प्रदर्शनी दुईवटा बुटक्याम्पका चरणहरूबाट अघि बढ्दै अन्तिम चरणमा पुगेको थियो, जसमा करिब ३०० जना साना किसान र ४० जना कृषि मध्यस्थकर्ताहरूले सहभागिता जनाएका थिए ।
उक्त बुटक्याम्पहरूमा सहभागीलाई कृषि उद्यमशीलताका बारेमा आवश्यक सीप प्रदान गरिएको थियो । सहभागीहरूलाई साना कृषि व्यवसायीहरूलाई थप व्यावसायिक र उद्यमशील बनाउनका लागि अनलाइन पाठ्यक्रम कृषि उद्यमशीलता १.० मार्फत तालिम दिइएको थियो, जुन यो प्रदर्शनीकै विशेष आकर्षण रहेको थियो ।
जलवायु परिवर्तनका चुनौती र समाधानका उपाय
मन्त्री शाहले जलवायु परिवर्तनले कर्णाली प्रदेशका किसानहरूलाई पारेको प्रभावको बारेमा चर्चा गर्दै कृषि उत्पादनमा आएका विविध चुनौतीहरूको सामना गर्न सबै सरोकारवाला बीचको सहकार्यलाई महत्वपूर्ण माने । “कर्णालीमा जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा विभिन्न रोगकिराहरू बढ्दै गइरहेका छन्, जसले उत्पादनमा नकारात्मक प्रभाव पारेको छ,” उनले भने । यद्यपि, उनले कृषि क्षेत्रमा व्यवसायीकरण र नवीनतम प्रविधिहरूको प्रयोगले उत्पादन वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे । उनले प्रदेश सरकारको नीतिहरू, जसमा “स्वस्थ माटो, स्वस्थ जीवन ”, “एक स्थानीय तह, एक कृषि विद्यालय ” र “जैविक कृषि प्रवद्र्धन ” कार्यक्रमहरू रहेको बताए ।
प्रदर्शनीको आर्थिक र सामाजिक प्रभाव
यस प्रदर्शनीले कर्णाली प्रदेशको स्थानीय कृषि खाद्य प्रणालीलाई सुदृढीकरण गर्ने लक्ष्य राखेको थियो । यसले साना किसानहरूलाई व्यवसायिक रूपमा सशक्त बनाउने, ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने महत्त्वपूर्ण भूमिका खेल्नेछ। यो परियोजना भगवतीमाई, भैरवी, दुल्लु, नौमुले, बराहताल, भेरीगंगा र वीरेन्द्रनगर पालिकाहरूमा कार्यान्वयन भइरहेको छ, जसले कर्णालीका किसानहरूलाई थप सशक्त बनाउने लक्ष्य राखेको छ ।
यो प्रदर्शनीले साना किसान र कृषि व्यवसायमा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गरेको छ। स्थानीय उत्पादनहरूलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन यो प्रकारका कार्यक्रमहरू महत्वपूर्ण मानिन्छन्।
प्रदेश सरकारले गरेका योजनाहरू
कर्णाली प्रदेश सरकारले साना किसानलाई आत्मनिर्भर बनाउने र कृषि क्षेत्रमा थप लगानी र विकास गर्ने योजनाहरू अगाडि बढाइरहेको छ । प्रदेश सरकारको नीति र कार्यक्रमहरूले आर्थिक न्याय, गरिबी निवारण, रोजगार सिर्जना, र उद्यमशीलता विकासलाई प्राथमिकतामा राखेको छ । यस्तै, प्रदेश सरकारले “स्वस्थ माटो, स्वस्थ जीवन” भन्ने अवधारणालाई प्राथमिकतामा राखेर स्थानीय तहहरूमा कृषि विद्यालय स्थापनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
यसै क्रममा, कृषि व्यवसायलाई प्रवर्द्धन गर्नका लागि प्रदेश सरकारका विभिन्न मन्त्रालयहरूले सिप विकास तालिमहरू सञ्चालन गर्ने योजना बनाएको छ । यसले युवाहरूलाई कृषि क्षेत्रमा आकर्षित गर्न र रोजगार सिर्जना गर्न सहयोग पुर्याउनेछ ।
अन्त्यमा, मन्त्री शाहले कर्णाली प्रदेशलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चिनाउने सरकारको प्रतिबद्धता व्यक्त गर्दै, यस प्रदर्शनीका आयोजक, सहभागी, र समन्वयकर्ताहरूलाई धन्यवाद व्यक्त गरे ।
दिपेन्द्र शर्मा । सुर्खेत । २८ भाद्र २०८१, शुक्रबार १७:५५