खलंगालाई पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर सुरु


जिल्ला सदरमुकाम खलंगालाई व्यवस्थित, सुन्दर र पर्यटकीय सहर बनाउन जुगाडखोला करिडोर निर्माण सुरु भएको छ । करिडोर निर्माणको लागि रेखाकंन सुरु गरिएको छ ।चन्दननाथ नगरपालिकाको आग्रहमा नापी कार्यालयका कर्मचारीले जुगाडखोलाको क्षेत्र छुट्याउन थालेका छन् । बिहीबार चन्दननाथ–५ मा रहेको खलंगाको खानेपानी उपभोक्ता समिति कार्यालय नजिकैदेखि रेखांकन सुरु भएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । ‘खलंगा आफैमा धेरै पहिचानले परिचित भूगोल हो ।

पछिल्लो समयमा अव्यवस्थित बनिरहेकाले जुगाडखोला करिडोर बन्नेबित्तिकै पर्यटकीय सहरका रुपमा विकसित हुने छ,’ उनले भने ।संघीय सरकारको सहरी विकास तथा भवन निर्माण आयोजनाअन्तर्गत २० करोड रुपैयाँको लागतमा करिडोर बन्न लागेको हो । जुगाडखोलालाई स्वच्छ र हराभरा बनाउने र खलंगालाई पर्यटकीय सहरका रुपमा स्थापित गर्ने हेतुले करिडोरको अवधारणा अघि बढाइएको हो।बहुवर्षीय योजनाअन्तर्गत पहिलोपटक ६ करोड रुपैयाँ लागतको ठेक्का आह्वान भएर निर्माण अघि बढ्न लागेको हो । पहिलो वर्ष १२ सय मिटर सडक बनाउन रकम विनियोजन गरिएको छ । नगरप्रमुख राजुसिंह कठायतले पहिलो चरणमा चन्दननाथ–४ मालाभिड जाने पुल र रेडक्रस कार्यालयसम्म करिडोर निर्माण हुने बताए ।

करिडोरले अतिक्रमित जुगाडखोला पहिलेकै अवस्थामा फर्किने उनले बताए । ‘जुगाडखोलाको दायाँबायाँ दुईरदुई मिटर चौडा करिडोर निर्माण हुनेछ,’ नगरप्रमुख कठायतले भने, ‘खोलाको दुई मिटर दूरीभित्र पर्ने घरटहरा हटाउनु पर्ने छ । पहिलो चरणमा रेखाकंन गर्ने, सार्वजनिक क्षेत्रमा परेका घरटहरा हटाउन ताकेता गर्ने र अटेर गरे नगरप्रहरी र डोजर लगाएर भत्काइने छ ।’ करिडोरको लम्बाइ तीन किलोमिटर हुनेछ ।अहिले जुगाडखोला फोहोर फाल्ने स्थान जस्तो बनेको छ । खोला अतिक्रमण गरेर घरटहरा बनिरहेका छन् ।

नगरप्रमुख कठायतले भने, ‘अबको केही वर्षमा जुगाडखोला आफ्नै आकारमा कञ्चन पानी बग्ने छ । वारिपारिको क्षेत्रमा पर्यटक खेल्ने, रमाउने र मर्निङ जान उपयुक्त हुने स्थान बन्नेछ ।’ तिला नदीदेखि नै करिडोर सुरु हुने भए पनि पहिलो चरणमा खेतीयोग्य जमिनमा प्रभावित नगर्ने नीति नगरपालिकाले लिइएको छ । करिडोर ‘टी’ आकारको हुनेछ । करिडोरमा सडक बत्ती, सिसी क्यामेरा, बीचमा आकर्षक पुलहरु र आरामदायी बेन्च राखिने प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बताए । यहाँ पछिल्लो समयमा जनसंख्या वृद्धिसँगै खेतीयोग्य जमिन मासेर धमाधम क्रंक्रिटका घर ठडिने र व्यवसाय गर्ने नाममा खोला अतिक्रमण गरेर टहरा निर्माण भइरहेका छन् । ‘पहिले जुगाडखोलामा सफा पानी बग्थ्यो । खोलाका बीचबीचमा कुटानीपिसानी गर्ने घट्ट थिए । अहिले जुगाडखोला भेटिनेबित्तिकै नाक थुन्नुपर्ने अवस्था छ,’ नगर प्रमुख कठायतले, ‘करिडोर बनेपछि खोला र नगरको मुहार फेरिनेछ ।’

तपाईको प्रतिक्रिया