प्रदेश अस्पतालमा एमआरआई मेसिन जडान


कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अत्याधुनिक एमआरआई मेसिन जडानपछि सञ्चालनमा ल्याइएको छ । एमआरआई मेसिनबाट गत वर्ष भदौ महिनादेखि बिरामीको उपचार सेवा सुरू गरिएको थियो । तर औपचारिक रूपमा उद्घाटन भने शुक्रबारदेखि गरिएको हो ।

अस्पतालका निर्देशक डा. डम्बर खड्काका अनुसार यो मेसिनलाई नेपालकै उत्कृष्ट र अत्याधुनिक प्रविधिको मानिएको छ । सुर्खेतमै एमआरआई मेसिनबाट उपचार सेवा सुरु भएपछि महँगो खर्च गरेर सुर्खेतबाहिर जानुपर्ने बाध्यता अन्त्य भएको छ ।

डा. डम्बर खड्काका अनुसार हाल यो मेसिनबाट दैनिक आठ जनासम्म बिरामीको उपचार गरिँदै आएको छ । २५ देखि ३५ जनालाई दैनिक जाँच गर्न सकिने यो मेसिन आर्टिफिसियल इन्टेलिजेन्स (एआइ) सहितको आवाजविहीन उच्च गुणस्तरको छ । मेसिन सञ्चालनमा आएसँगै आवश्यक परेको खण्डमा २४ सै घण्टा अस्पतालले सेवा दिन सक्नेछ ।

देशका अन्य अस्पतालमा एमआरआई सेवा लिएका बिरामीको रिपोर्ट आउन करिब एक हप्ता लाग्छ । मेसिन जडानसँगै प्रदेश अस्पताल सुर्खेतमा चिकित्सकले एकै दिनमा रिपोर्ट दिन सक्नेछन् ।

निर्देशक खड्काले भने, ‘अस्पतालले हालसम्म २५ करोड ५९ लाख रकम मौज्दात राख्न सफल भएको छ । केहि आवश्यक उपकरण पनि किनिरहेका छौं । अस्पतालमा कार्यरत कर्मचारीका पाँच जना परिवारको बीमा गर्दा अस्पतालले ५० प्रतिशत बीमा शुल्क उपलब्ध गराउने गरेको छ ।’

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश अस्पताल सुर्खेतलाई एमआरआई मेसिन खरिदको लागि बजेट उलब्ध गराएको हो । पाँच वर्ष ग्यारेन्टी भएको मेसिन नेपाली रुपैयाँ २९ करोड ७१ लाख परेको छ । मेसिन २०२३ मा निर्मित भएर परीक्षण गरिएको थियो ।

चुम्बकीय शक्तिबाट चल्ने अति नै उच्चस्तरको प्रविधिलाई एमआरआई भनिन्छ । यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउको, शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ । त्यसले सही रूपमा रोग पत्ता लगाइ उपचार गर्न सजिलो हुन्छ ।

ढाड वा कम्मर दुख्ने, घुँडाका रोगी, हाडमा लागेको संक्रमण वा ट्युमरको विशेष जानकारी लिन पनि एमआरआई गर्ने गरिन्छ । मस्तिष्क र मेरुदण्डको ट्युमरको परीक्षण र उपचारका लागि पनि एमआरआई गर्ने गरिन्छ ।

एमआरआईले नरम तन्तुलाई स्पष्टसँग देखाउने गर्छ । अत्याधुनिक एमआरआईमा पेट, स्तन, मुटुको समस्यासमेत पहिचान गर्न सकिन्छ । मेसिन उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीका बिरामीको विश्वास जित्ने गरी एमआरआई सेवा दिन निर्देशन दिए । अस्पतालको सामान्य गल्तिले विरामी र आम नागरिकमा ठुलो असर पर्नसक्ने भन्दै सेवा दिदाँ ध्यान दिन मुख्यमन्त्री कँडेललको सुझाब छ ।

प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश सरकार अस्पतालको साथमा रहेको र आवश्यक परे सहयोग गर्ने भन्दै गुणस्तरीय सेवा प्रवाहमा जोड दिन निर्देशन दिए ।

तपाईको प्रतिक्रिया