नेपाल कृषि प्रधान देश हो । त्यसमा पनि अन्य प्रदेशको तुलना अर्गानिक कृषि उत्पादनमा राम्रो सम्भावना बोकेको क्षेत्र पनि हो कर्णाली प्रदेश । मानव विकास सुचाङ्कमा पछाडि परेको कर्णालीलाई कृषिका माध्यमबाट समृद्धिको बाटोमा लैजान सकिनेमा दुई मत छैन । रैथानेवालीको अथाह सम्भावना बोकेको कृषि क्षेत्र भएपनि निर्वाहमुखी उत्पादनले कर्णालीको आर्थिक समृद्धिमा टेवा पुग्न सकेको छैन । कर्णाली आफैमा विविधता बोकेको क्षेत्र पनि हो । यहाँ अन्य प्रदेशमा उत्पादन नहुने रैथाने खाद्य बालीदेखि फलफूल, तरकारी लगायतका कृषि उपजहरु पाईन्छन् । भौगोलिक हिसाबले विकट भएपनि कर्णालीमा कृषि, पशुपालनको सम्भावना पनि उत्तिकै छ । उच्च भूभागमा फल्ने जुम्ली मार्सीदेखि विभिन्न प्रकारका रैथानेवाली, विभिन्न प्रजातिका स्याउ, जडिबुटीको खानी कर्णाली हो । तर यसको मुल प्रवाहीकरण हुन नसक्दा कर्णालीले कृषि क्षेत्रबाट लिनुपर्नेजति लाभ लिन सकेको छैन । आफ्नै ठाउँमा कृषि उत्पादनको अथाह सम्भावना छ । तर कर्णालीको ठुलो सक्रिय जनशक्ति रोजगारीका लागि भारत तथा तेस्रो मुलुकमा हानिने प्रचलन कर्णालीमा छ । सम्भावना नभएको पनि होइन । कर्णालीका किसानहरुले अझैपनि परम्परागत कृषि पेशाबाट माथी उठ्न सकेका छैनन् । उनीहरु परम्परागत कृषि पेशाबाट माथी उठ्न आफ्नो पुँजिका कारण पनि सक्दैनन् । उनीहरुसँग आवश्यक ज्ञान र सीप पनि छैन । फलस्वरुप परिवार पाल्नैका लागि भएपनि कर्णालीका नागरिक काम गर्न सकुन्जेलसम्म देश बाहिर श्रम बेच्न बाध्य छन् । राज्यले वास्तविक किसानलाई अझै पनि चिन्न सकेको छैन । जसले गर्दा कर्णाली खाद्यान्नमा परनिर्भर बनिरहेको छ ।
यसमा एकाध किसान भने कृषि बाटै लोभ लाग्दो कमाई गरिरहेका छन् । कालीकोट खाँडाचक्र नगरपालिका–५, गारुवाँ गाउँका किसानलाई भने व्यवसायिक तरकारी खेतीले विगत सात बर्षयता कामको खोजीमा भारत जानु परेको छैन । गाउँमै व्यवसायिक तरकारी उत्पादन गर्न थालेपछि घर खर्च चलाउनकै लागि यस गाउँका झण्डै ३५ घरपरिवारलाई कालापहाड (भारत) धाउनुपर्ने बाध्यता हटेको छ । आफ्नै मेहनतले गाउँमै तरकारी फलाउन थालेपछि उनीहरु आफ्नै घरमा विस्तारै आर्थिकरुपमा सबल बन्दै गएका छन् । हाल यस गाउँका किसानले घर खर्च कटाएर बार्षिक मनग्य आम्दानी समेत गर्ने गरेका छन् । तरकारी खेतीले उनीहरुको जीवनशैली त फेरिँदै छ, उनीहरुले आफ्ना सन्तानहरुलाई राम्रो शिक्षा दिक्षासमेत दिन सफल भएका छन् । गारुवाँ गाउँ कालिकोट सदरमुकाम मान्मभन्दा थोरै उत्तरतर्फ, सुर्खेत–जुम्ला राजमार्गको किनारमा पर्दछ । कर्णाली राजमार्ग नियमित सञ्चालनमा आउन थालेपछि उनीहरुले उत्पादन गरेको तरकारीले राम्रो बजारसमेत पाउन थालेको छ । त्यहाँ उत्पादन हुने तरकारी अन्यत्र पठाउनका लागि तरकारी सङ्कलन केन्द्र पनि स्थापना गरिएको छ । जहाँ गाउँभरिको तरकारी जम्मा हुन्छ । त्यहाँबाट व्यापारीले तरकारी खरिद गरी कालीकोट, जुम्ला र मुगुका विभिन्न बजारमा जाने गर्छ ।
यहाँका किसान व्यवसायिक कृषि पेशामा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको कृषि क्षेत्र विकास कार्यक्रमको सानो सहयोगले सम्भव भएको हो । निर्वाहमुखी परम्परागत कृषि पेशामा लागेका यहाँका किसानका लागि सरकार सानो टेको बनिदिएको थियो । जसले उनीहरु व्यवसायिक कृषिमा लाग्न प्रेरित भए । तर सरकारी लगानी भने पर्याप्त छैन । कर्णली प्रदेश सरकारले कर्णालीको कृषि क्षेत्रलाई सम्वद्र्धन र प्रवद्र्धन गर्न रैथाने बाली संरक्षणको नीति लिएको छ । तर यो खाली नारामै सिमित जस्तो देखिन्छ । अझ भनौं प्रदेश सरकार र स्थानीय तहहरुको प्राथमिकतामा कृषि पर्न नसक्दा केही गरौं भन्ने हुटहुटी भएकाहरु कृषि उपजको बजारीकरणको समस्यामा छन् । त्यस्ता किसानलाई प्रविधिसहितको कृषि प्रणालीका बारेमा आवश्यक ज्ञान छैन । जसले वास्तविक किसानमा निराशा छाउने अवस्था छ । अतः कृषिमा लागेका र लाग्न इच्छुक किसानलाई तीनै तहका सरकारले आवश्यक ज्ञान, सीपसहितको प्रविधियूक्त खेती प्रणालीमा जोड्न सके कर्णालीमै सम्भावना देख्नेहरु पक्कै पनि लाभान्वित हुनेछन् ।
युग संवाददाता । सुर्खेत । २५ भाद्र २०८१, मंगलवार १०:४८