पेरिस पारालिम्पिकमा ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले आफूमा विश्वास गर्नु नै आफ्नो सफलताको आधार भएको बताएकी छिन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आज आयोजित आफ्नो स्वागत र बधाई कार्यक्रममा पलेशाले पेरिस पारालिम्पिकमा कांस्य पदक जित्नुको आधार नै आफूमाथि विश्वास गर्नु रहेको बताएकी हुन् ।अब गर्वका साथ हामीले नेपालसँग पनि ओलम्पिकको पदक छ भन्न सक्ने अवस्था रहेको उनले बताइन् । आफूबाट देशले पदकको आशा गरेको उल्लेख गर्दै उनले कठिन क्षणमा आफूमाथि विश्वास गर्दा पदक सम्भव भएको सुनाइन् ।
पलेशाले पेरिस परालिम्पिकमा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई हराउँदै कांस्य पदक जितेकी थिइन् । ओलम्पिकमा नेपालको यो पहिलो पदक हो । पलेशाले पारा एशियाली खेलकुदमा पनि कांस्य पदक जितेकी छिन् ।
यस्तै प्रशिक्षक कविराज नेगीले अब नेपालले पनि ओलम्पिकमा पदक जित्न सक्छ भन्ने प्रमाणित भएको बताएका छन् । प्रशिक्षक नेगीले मेहनत ग¥यो भने ओलम्पिकमा पदक ल्याउन सक्छौं भन्ने पलेशाले प्रमाणित गरेको बताए ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदको एउटा सपनालाई विपनामा परिवर्तन भएको र यो सफलता प्राप्त गर्न धेरै सङ्घर्ष रहेको धारणा व्यक्त गरिन् । ओलम्पिकमा पाइला चालेको दशकपछि पलेशाले नयाँ इतिहास रचेको उनले बताए ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले पदक जितेर पलेशाले विश्वमाझ नै देशको शिर उच्च पारेकोमा धन्यवाद व्यक्त गर्दै राष्ट्रको गौरव निर्माण गर्न सबैभन्दा पहिला खेलाडी र प्रशिक्षकलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
युग संवाददाता । काठमाडौं । १९ भाद्र २०८१, बुधबार १६:३६