स्वास्थ्य केन्द्र आठ महिनादेखि टेण्टमा


जाजरकोट भूकम्पबाट भवन भत्किएपछि दार्मा गाउँपालिका–५ मा रहेको सामुदायिक स्वास्थ्य इकाइ केन्द्र आठ महिनादेखि टेण्टबाट सञ्चालित छ । भवन नहुँदा केन्द्रको स्वास्थ्य सेवा प्रभावित भएको छ ।

भवन पुननिर्माणका लागि तत्काल बजेटको व्यवस्था गर्न नसकेपछि क्षति भएको भवन मर्मत गर्न नसक्दा र स्थानीयको घर भाँडामा लिन नसक्दा सामुदायिक स्वास्थ्य इकाई केन्द्र टेण्टबाटै सञ्चालन हुँदै आएको छ । वर्षाको बेला टेन्टबाट सेवा प्रवाह गर्नुपर्दा स्वास्थ्यकर्मीलाई सेवा दिन कठिनाई भएको छ भने उपचार गर्न गएका बिरामी समेत प्रभावित हुँदै आएका छन् ।

टेण्टबाट सेवा सञ्चालन गर्नुपर्दा स्वास्थ्यकर्मीलाई औषधि र अन्य स्वास्थ्य उपकरण जोगाउन समेत कठिनाई परिरहेको छ । केन्द्रका प्रमुख यज्ञबहादुर खड्काले आठ महिनादेखि टेण्टबाट सेवा प्रवाह गर्नुपर्दा असजिलो भएको बताए ।

‘यही टेण्ट पनि हावाहुरीले प्वाल पारिसकेको छ । एउटामात्रै टेण्ट छ,’ उनले भने, ‘टेण्ट नै चुहिने भइसक्यो । अब फेरि अर्को टेण्ट मगाउने हो कि भवनको व्यवस्था हुने हो ? कुनै टुंगो छैन ।’

वर्षाको पानी टेण्टभित्रै छिरेपछि केन्द्रका लागि प्राप्त भएको औषधि भिजेर नष्ट भएको उनले बताए । ‘टेन्ट भित्र तीन÷चार जना भन्दा बढी बस्न मिल्दैन । हिजोआज दैनिक हुने बर्षाले गर्दा बिरामी भिज्ने अवस्था छ । कोचाकोच बिरामी राखेर सेवा दिनुपर्छ,’ उनले भने । भुकम्पले भवनमा क्षति पुगेपछि अस्थायी रुपमा टेन्टबाट सेवा दिने ब्यवस्था मिलाएपनि आवश्यक सामग्रीको अभावमा गर्भ परीक्षण सेवा समेत अवरुद्ध छ ।

‘यही टेण्ट गाड्ने ठाउँसमेत समथर नभएकाले भिरालो जग्गामा राख्नुपरेको छ,’ उनले भने, ‘चिप्लो भएकाले चिप्लिएर लड्ने जोखिम पनि छ ।’

तपाईको प्रतिक्रिया