मनसुनी विपद्मा २५ बालबालिकाको मृत्यु

मनसुन भित्रिएयता प्राकृतिक विपद्का घटनामा २५ बालबालिकाको ज्यान गएको छ ।

अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी देशभर बुधबारसम्म २५ बालकालिकाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ । त्यस्तै, १९ बालबालिका घाइते भएका छन् ।

अहिलेसम्म विपद्का घटनामा अहिलेसम्म ८३ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता दानबहादुर कार्कीले बताए । यो अवधिमा बाढी र पहिरोमा परेर पाँच जना हराइरहेका छन् । जसमा तीन महिला र दुई पुरुष रहेको डीआईजी कार्कीले बताए ।

गत जेठ २८ गते पूर्वी नेपालबाट मनसुन भित्रिएको थियो । अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको छ । त्यस्तै, बाढी र पहिरोमा परेर १०६ जना घाइते भएका छन् ।

यसैगरी, बाढी र पहिरोमा परेर ३८४ पशु चौपाया मरेका छन् । विपदमा १३९ घर र ५४ गोठमा क्षति पुगेको प्रहरीको तथ्यांक छ ।

अविरल वर्षाका कारण आएको बाढीले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ पुल बगाएको छ । यस्तै, १६१ घर डुबानमा परेका र ११६ रोपनी जग्गा पुरिएको प्रहरीले जनाएको छ ।

बाढी, पहिरो र डुबानका कारण दुई हजार ९५४ परिवार विस्थापित भएका छन् । उनीहरू आफन्त तथा सार्वजनिक भवनमा आश्रय लिएर बसिरहेका छन् । अहिलेसम्म मनसुनी विपद्बाट १० करोड ७० लाख ४० हजार बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

तपाईको प्रतिक्रिया