– कुमार बहादुर ढकाल
लागु औषध दुव्र्यसन विश्वव्यापी समस्या हो । यसलाई विश्व स्वास्थ्य संगठनले मानिसको मानसिक रोगको रुपमा स्वीकार गरेको छ । यसले दुव्र्यसनमा फसेका दुव्र्यसनीहरुको सम्पूर्ण जनजीवन अस्तव्यस्त गराइदिन्छ ।
यसले सर्वप्रथम शारिरीक, मानसिक, आध्यात्मिक सबै तहसनहस बनाइदिन्छ । जसको कारणले यो कुलतमा फसेका व्यक्तिहरुको आर्थिक, शैक्षिक, व्यावसायिक, सामाजिक, पेशागत सबै क्षेत्रमा अस्तव्यस्त श्रृजना हुन जान्छ । त्यसकारण लागु औषध दुव्र्यसनलाई रोकथाम गर्नको लागि सबैतिरबाट यथासक्य प्रयास हुन जरुरी छ ।
१. विश्वव्यापी समस्या :
यसले विश्वका सबै देशहरुलाई आक्रान्त बनाएको छ । विश्वका सम्पन्न मुलुकदेखि लिएर विपन्न मुलुकहरुमा युरोप देखि एसिया, अफ्रिका साना ठूला सबै राष्ट्रमा लागु औषध दुव्र्यसन फैलिएको छ । कुनै जातजाती, धर्म, लिङ्ग, बर्ग, विभेद यसले गर्दैन । यसले शिक्षित, अशिक्षित, धनि, गरिब जुनसुकै बर्ग र समूदायका मानिसलाई यसले आक्रान्त बनाइरहेको छ । त्यसैले पनि यो विश्वव्यापी समस्या रहीआएको छ ।
२. अतृप्त स्वभाव
हामी देख्छौँ जुनसुकै वस्तुपनि प्रयोग गरेपछि उपभोग गर्ने मानिस तृप्त हुन्छ । तर यो लागु औषध चाहे त्यो मदिरा होस् चाहे त्यो लागुपदार्थ जुनसुकै पनि सुरुमा अत्यन्त बेस्वादिलो रुपबाट सुरु हुन्छ भने पछि गएर सम्पूर्ण जीवन बर्बाद भैसक्दा पनि यसबाट मानिसले सन्तुष्टी वा तृप्तता महसुष गर्दैन ।
निरन्तर बढ्दो मात्रामा र नभइनहुने निर्भरताको अवस्थामा मानिस पुग्दछ । परिणाम स्वरुप उ एउटा गाढा दुव्र्यसनी हुन जान्छ र आफ्नो जीवनलिला अत्यन्तै दुखद र असामयिक ढंगले समाप्त पार्दछ । त्यसैले पनि यो अतृप्त स्वभावको हुन्छ ।
३. जोखिममा किशोर किशोरी तथा यूवाहरु
निश्चय पनि लागु औषध दुव्र्यसन किशोरावास्थाबाट नै प्रवेश गर्छ र यूवा अवस्थामा झाँगिन्छ । नेपालको सन्दर्भमा पनि अन्य मुलुकहरुमा जस्तै त्यस्तै प्रभाव देखिएको छ । जुन मानवजन्य स्वरुप हो । विशेष गरेर कुलत दुव्र्यसनमा कुनैपनि व्यक्ति जानाजान वा दवावबाट फस्न सक्दैन ।
यो मुख्यतया खराब साथीभाईको साथ संगतबाट नै फस्न सक्ने हुन्छ । त्यसैले एउटा उत्सुक्ताको स्वभाव र अज्ञानतावस नै कुलत दुव्र्यसनमा किशोर तथा यूवाहरु फस्ने गरेको देखिन्छ । त्यसैले किसोर र यूवा बर्गलाई महत्वका साथ सजग गराइनु पर्दछ ।
४. इन्कार गर्न नसक्नु
आज जतिपनि यूवाहरु लागु औषध दुव्र्यसनमा फसेका छन् उनीहरु कठोर हुन नसक्नु, भावनात्मक बहकाउमा लहसिनु र यसको परिणामबारे सोच्न नसक्दा यो कुलत दुव्र्यसन झाँगिदै गएको छ । यदी कुनैपनि व्यक्तिले ड्रग वा अल्कोहल सुरु गर्नु पूर्व यसको परिणाम, यसले श्रृजना गर्ने जीवनको बर्बादी सम्झीयो भने पक्कैपनि उ बच्न सक्छ अन्यथा यसले कुनैपनि व्यक्तिलाई जीवनको समाप्तीतिर लैजान्छ त्यसकारण पनि दशकौँ पहिले संयुक्तराष्ट्र संघिय नारा आएको थियो “से नो टु ड्रग” ।
५. सुधारकेन्द्रका प्रयासहरु
आज विदेशतिरबाट हुँदै नेपालमा पनि २०/२५ बर्ष अघि देखि लागु पदार्थका दुव्र्यसनीहरुलाई उपचार तथा परामर्शको माध्यमबाट सुधारमा ल्याई पुर्नस्थापना गर्ने उद्देश्यले स्वयम् पूर्व दुव्र्यसनीहरुद्वारा नै अनेकौँ सुधार केन्द्रहरु संचालन हुँदै आएको पाइन्छ । हाल नेपालमा पनि झण्डै ३०० को हाराहारीमा अधिराज्यभरी यस्ता पुर्नस्थापना केन्द्रहरु सञ्चालन भएका छन् । तर आवश्यक व्यवस्थापनको कमी कमजोरीले गर्दा यिनीहरु सफल अपेक्षित रुपमा भैरहेका छैनन् । त्यसकारण यसमा सरकारी निकाय, स्थानिय समूदाय र पिडितका अभिभावकहरु सबैको साझा प्रयास भए मात्र सुधार केन्द्रले सफलता पाउने छन् ।
६. स्थानिय निकायको जिम्मेवारी
हाल नयाँ संवैधानिक प्रावधान अनुरुप नेपालमा स्थानिय सरकार, प्रदेश र संघिय तीन तहको सरकार सञ्चालनमा आएको पाइन्छ । यि तीनै तहले आ–आफ्नै तहबाट जसरी स्वास्थ्य केन्द्र र अस्पतालमा जिम्मेवारी सम्हालेका छन् त्यसरी नै आ–आफ्नो तहबाट लागु औषध दुव्र्यसनीको उपचारको लागि सुधार केन्द्र सञ्चालनमा ध्यान दिने हो भने पनि यो रोगको रोकथाममा सहज हुने छ ।
७. यु.एन.ओ. डि.सी.को सक्रियता
संयुक्तराष्ट्र संघिय निकाय यु.एन.ओ. डि.सी.ले प्रत्येक बर्ष जुन २६ तारिखलाई लागु औषध दुरुपयोग विरुद्ध तथा अबैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाउदै आएको छ । यसले पनि विश्वव्यापी रुपमा लागु औषध दुरुपयोग विरुद्ध अभियान सञ्चालन गर्नको लागि सरकारी तथा गैर सरकारी निकाय एवम् यस अभियानमा खटेका सरोकारवाला सबैलाई काम गर्न प्रेरित गरेको छ ।
यो बर्ष यसले “द क्रिटिकल निड टु इन्भेष्ट इन प्रिभेन्सन” “रोकथामका लागि महत्वपूर्ण लगानी” भन्ने नारा अघि सारेको छ । त्यसकारण यो नारालाई सार्थक तुल्याउन पनि विशेष गरेर अभिभावकको रुपमा हाम्रा तीनै तहका सरकारले गम्भिरतापूर्वक नीति निर्माण र कार्यान्वयनको क्षेत्रमा अग्रता देखाउनु पर्दछ ।
अन्तमा, हाम्रो देशमा पनि लागु औषध दुव्र्यसन अत्यन्त जटिल र भयावह रुपमा रहँदै आएको तितो सत्य कसैबाट लुकेको छैन । दुव्र्यसनीहरु अपराधी हुन् भनेर तिरस्कार र भेदभावको भावनाले समाज बन्दैन । त्यसकारण सुखी र समृद्ध देश निर्माणको लागि परिवार र समूदाय नै सुखी हुन आवश्यक छ त्यसको लागि यस्ता सबैखाले कुलत दुव्र्यसनलाई निरुत्साहित गर्दै सभ्य समाज निर्माणको लागि सबै सामाजिक एवम् मानविय भावनाले ओतप्रोत भएका व्यक्ति, संस्था र समूदायले सक्रियतापूर्वक आ–आफ्नो दायित्व निर्वाह गर्नुपर्ने देखिन्छ ।
नेपालको सन्दर्भमा भन्नेहो भने शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालय यि तीनओटा मन्त्रालयको आपसी समन्वयद्वारा सबै जिल्ला र पालीकाहरुमा स्वास्थ्य केन्द्रकै रुपमा लागु औषध दुव्र्यसनमा फसेका दुव्र्यसनीहरुलाई सुधारमा लाई पुर्न जिवन दिनको लागि सुधार केन्द्रहरुको कम्तीमा एक/एकवटा पुर्नस्थापना केन्द्रहरु स्थापना र संचालन हुन जरुरी छ ।
त्यसमा स्थानिय प्रशासनले उपलब्ध सुधार केन्द्र र सुधारकर्मीहरुलाई समेत सदुपयोग गर्दै सुधार केन्द्रहरु सञ्चालन गर्न सकिन्छ । यसको लागि व्यवस्थापन तथा अनुगमन पक्ष मझबुत हुनु पर्छ । निश्चय पनि यसमा आन्तरिक र बाह्य दुबै पक्ष सुव्यवस्थापन हुन जरुरी छ । यो दिवसको सन्दर्भमा र मनाउने सन्दर्भमा बर्षेनी कर्मकाण्डी दिवसको रुपमा मात्र नभई फलदायी एवम् परिणाममुखी हुन जरुरी छ ।
युग संवाददाता । सुर्खेत । १२ असार २०८१, बुधबार १३:२५