काठमाडौंबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने ५ हजार क्विन्टल खाद्यान्न हिल्सा आइपुगेको छ ।
केहीअघि काठमाडौंबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्ला शाखालाई ढुवानी हुने ५ हजार क्विन्टल खाद्यान्न चीन हुँदै ढुवानी भएको छ ।
नाम्खा गाउँपालिका–५ को हिल्सा नाका आइपुगेको हो । ४ हजार क्विन्टल जिल्ला शाखा सिमकोट र १ हजार क्वीन्टल नाम्खा गाउँपालिकाको याल्वाङ बिक्रि केन्द्रका लागि रसुवाको केरुङ हुदैँ हुम्लाको हिल्सानाका पुगेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेट सिमकोट शाखाले जनाएको छ । तिब्बतको बाटो हुदैँ आएको ४६२ क्विन्टल शाखा कार्यालय सिमकोट पुगिसकेको छ ।
केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुगाएको र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका शाखाका प्रमुख कृष्णप्रसाद अधिकारी जानकारी दिए ।
जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्न मध्ये १ हजार क्विन्टल नाम्खा गाउँपालिका याल्वाङमा बिक्री वितरण हुने अरू खाद्यान्न सिमकोट शाखाका लागि ढुवानी गर्न प्रमुख अधिकारीले बताए ।
दूतावासबाट कागजात मिलाएर खाद्यान्न ढुवानी कार्य ढिलाई भएको अधिकारीको भनाइ छ । नाम्खा गाउँपालिका याल्वाङमा ४८ रुपैयाँमा र सिमकोटमा प्रतिकेजी ६२ रुपैयाँ बिक्री वितरण हुनेछ ।
युग संवाददाता । हुम्ला । ६ असार २०८१, बिहीबार १५:३१