सम्पादकीय : मातृमृत्युदरको विकराल अवस्था

राष्ट्रिय जनसंख्या र आवास जनगणना २०२१ का अनुसार कर्णाली प्रदेशमा मातृ तथा प्रश्रवकालिन मृत्युदरको अवस्था डरलाग्दो देखिएको छ । जसमा प्रति एक लाख जनसंख्यामा १७२ जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ । सामान्यतया शिक्षितको तुलनामा कम शिक्षित र अशिक्षित महिलाहरु रहेको देखिन्छ । शिक्षाको अभाव, बालबिबाह, सन्तान जन्माउने प्लानिङ विना नै आमा बन्नु, गर्भवती अवस्थामा जोखीमपूर्ण काम गर्ने बाध्यता, सन्तुलित आहारविहारको कमि, पौष्टिक तत्वको कमीका कारण मातृ मृत्युदर कर्णालीमा डरलाग्दो देखिएको छ । एउटा मानिसले अर्को एक मानिस उत्पादन गर्नु सुन्दा मात्रै सामान्य हो तर एक महिला सुत्केरी भएर सन्तान रहोस या नरहोस तर त्यो महिलाको भने पुनर्जन्म हो भन्दा अनुपयुक्त हुदैन ।

अशिक्षा सबैभन्दा ठूलो कारण हो जसले न आफ्नो व्यवस्थापन गर्न सक्षम हुन्छन न त सहि गलत छुट्याउन सक्छन । अगाडीका आमा, सासुहरुको कुरा सुनेर आफ्नो धारणा बनाउने र सोही अनुसारको कार्य गर्ने भएकोले पनि मातृ मृत्युदर डरलाग्दो भएको हो । घरपरिवारबाट पाउनुपर्ने, माया, सद्भाव, सहयोग, हेरचाह, पौष्टिक आहार, नियमित स्वास्थ्य जाँच लगायतका कुरासम्बन्धि शिक्षा भन्दा पनि भ्रम धेरै भएको हुँदा हामीले यस्तै गरेका हौं तिमिहरुको मात्र नाटक भन्ने कुराले पनि मातृमृत्युदरलाई बढावा दिएको छ । के एउटा आमाको ज्यान जोखिममा पर्नु भनेको एक जना मात्र जोखिममा पर्नु हो र ? एक जना गर्भवती या सुत्केरीको मृत्यु हुनु भनेको एउटा व्यक्तिको मात्र मृत्यु हुनु हो र ? यसको सामाजिक असर केही हुँदैन र ? यदि उसको कुनै सन्तान भए उ टुहुरो हुन्छ । एक देशको उर्जाशिल उमेरको नागरिक गुम्छ । त्यत्तिको नागरिक तयार गर्न सरकारको प्रत्येक्ष अप्रत्येक्ष रुपमा थुप्रै लगानी भएको हुन्छ । उ एक आमामात्र नभएर कसैको छोरी, कसैको आमा, कसैको श्रीमती हुन्छ त्यसले सिंगो परिवारमा असर पुग्छ । अन्य गर्भवती र सुत्केरी महिलामा पनि नकारात्मक असर पर्छ ।

डरको वातावरण सिर्जना हुन्छ । म पनि गर्भवति या सुत्केरी छु या त मेरा आमा, दिदी बहिनी, श्रीमती पनि सुत्केरी छिन कतै यो दिन मलाई नपर्ला भन्ने के छ र ? भन्ने जस्ता नकारात्मक कुराहरुले गर्दा अन्य गर्भवती र सुत्केरी महिलामा समेत डर, त्रासको वातावरण पैदा हुन्छ र मनोवल कमजोर हुन्छ । असुरक्षित गर्भपतन गराउनु, अस्थायी साधनको प्रयोगका बारेमा शिक्षाको कमि हुनु, श्रीमान् र आफन्तबाट गर्भवती अवस्थामा सकारात्मक सहयोग नपाउनुले यहाँ त मरेकाको मात्र हिसाव आउँछ । मानसिक सन्तुलन गुमाएका, डिप्रेशनको सिकार भएका, आत्महत्या गरेका र बच्चासहित सामूहिक आत्महत्यासम्मका असरहरु प्रत्येक्ष अप्रत्यक्ष रुपमा मातृमृत्युदरसंग जोडिएको छ ।

महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितताको बारेमा कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन २०७८ को परिच्छेद ६ मा स्वास्थ्य सेवाको पहुँच विषयमा बुँदा न २७ मा उल्लेख छ । तर सरकारको ऐनमा मात्र उल्लेख भएर हामीले चाहे जस्तो प्रगति हाँसिल गर्न सकिँदैन । गर्भवती र सुत्केरी अवस्थामा उसको नजिकका आफन्त, श्रीमान्, नन्द, आमाजु, सासुससुरा लगायतका व्यक्तिबाट हुने सकारात्मक व्यवहारबाट मातृमृत्युदर घटाउन सकिन्छ ।

जीवनप्रति उत्साह, नयाँ सन्तानको आगमनको खुसीमा खुसी भएको परिवार, उसको हेरचाहले गर्भवतीमा उच्च मनोवल, सकारात्मक सोच विकास हुन्छ । यस्तो बेलामा परिवारका अरु सदस्यको भन्दा श्रीमानको भूमिका महत्वपूर्ण हुन्छ । गर्भावस्थामा गर्ने माया, साथ, हौसला, समय अनुसार चेकजाँज, जीवनप्रतिका योजनाले गर्भवतीलाई सकारात्मक बन्न बल पुग्छ र उ स्वस्थ हुन्छ । न कि घरकी श्रीमतिमा आएका हर्नोनल परिवर्तनलाई नाटकको संज्ञा दिदै बाह्य सम्बन्धमा जब श्रीमानहरु रमाउन थाल्छन तब मातृमृत्युदर बृद्धि हुनुमा सबैभन्दा महत्वपूर्ण भूमिका श्रीमान र घरपरिवारको हुनेगर्छ ।

तपाईको प्रतिक्रिया