तपाईका विचार र भावना स्वयं तपाईका सिर्जना हुन भने तपाई तिनलाई आफूले चाहेको जस्तो बनाउन सक्नुहुन्छ । सद्गुरुको यो वाणी जस्तै कवितालाई आफुले चाहे जस्तै सरल भाषा सहित सुन्दर शैली र शिल्पमा कुँदेका छन कवि गगन योक्पाङ्देनले केवाफुङ्को गीत कवितासङ्ग्रहमा ।
सम्बन्ध भावना हो, प्रेम हो र प्रेम अस्तित्व । अस्तित्वमा रहेका हरेक चिजहरुको परिधी छ र त्यो अकाट्य छ । यो चक्रको सर्वज्ञान सम्पन्न मनुष्य उतिकै रहस्यमय छ । रहस्यमयी मनुष्यका सम्बन्धहरु पनि उतिकै रहस्यमयी छन । त्यहि रहस्यको निमेषबाट उदाएका कविको जादुयी कवितासङ्ग्रह केवाफुङ्को गीत हो ।
माया पब्लिकेशन प्रा. लि. काठमाण्डौले बजारमा ल्याएको केवाफुङ्को गीत कवितासङ्ग्रहमा जम्मा ३८ वटा कविता सङ्ग्रहित छन । चुपचाप बस्न मनपराउने कविको स्वभाव जस्तै कविताहरुले पनि चुपचाप दिल चोरी लैजान्छन । सबै कविता उतिकै आकर्षक र सुन्दर छन ।
ध्यानमार्गको बाटो ह्रदयको गहिराइबाट तय हुन्छ । उसो त हरेक कामको थालनीको उद्गम ह्रदयकै गहिराइ हो । एकचित्त हुनु नै सफलताको शुरुवात हो । यहि शुरुवात स्वरुप केवाफुङ्को गीत हामी माझ आएको छ ।
संसारलाई साढे पाँच फन्को लगाउने विश्व साइकलयात्री पुष्कर शाह लेख्छन — संसारमा म जहाँजहाँ पुगें, सूर्य कहिल्यै फरक दिशाबाट उदाएन । न त भगवान बुध्दको अर्कै जून उदायो ! न त अल्लाहको अर्कै सूर्य उदायो ! न त जिससको अर्कै आकाश देखियो ! न त करोडौ भगवान भएका हिन्दुहरुको छुट्टै संसार भेटियो । शाहले भने जस्तै कविता लेख्नु पनि सत्यको निकट रहेर मात्रै होला । जे छ त्यहि देखिन्छ र त्यहि लेखिन्छ । देखिएका चिज कसैका लागि भ्रम भैजान्छन त कसैका लागि सत्य । जेहोस ह्रदयको धुनले जहाँ तालको शुरुवात गर्छ त्यहि बाट नै अनेक आलापको निर्माण गर्न सकिन्छ र कालान्तारमा तिनै कालजयि हुन्छन । केवाफुङ््को गीत कवितासङ्ग्रह पढि रहदा लाग्छ कवि गगन योक्पाङ्देन गहिराइको निकट पुगेर कविता लेख्ने कवि हुन ।
लिम्बू समुदायको मिथ÷मुन्धुममा आधारित केवाफुङ् शब्दको अर्थ सृष्टिको प्रथम गायक भन्ने हुन्छ । शीर्षकले आफ्नो पनको आभास बोकेर उभिएको छ । जब आफ्नोपन र शैलीमा एक लेखक ध्यानस्थ हुन्छ तब अब्बल सिर्जनाको प्रष्फुटन हुन्छ । लाग्छ कवि गगन योक्पाङ्देन भीडमा उभिएका ति कवि हुन जो आफ्नो शैलीका प्रथम गायक हुन ।
प्राणीहरु आफ्नै जाति र प्रजातिका स्वभावहरुसग अभ्यस्त हुन्छन । त्यस्तै मनुष्य पनि मनुष्य कै स्वभावसग निकट र अभ्यस्त रहन्छ । जहाँ जो सग निकटको सम्बन्ध हुन्छ कविले कलात्मक शैलिको निर्माण गर्छ र शब्दलाइ कविता मार्फत पस्कन्छ ।
आफ्नो धरातल भुलेको नेतालाई आन्दोलनका बेला हराएको एकजोर चप्पल उपहार दिनु निकटताको सम्बन्ध सहित व्यङ्ग्यको उच्च अभिव्यक्ति हो ।
वरपरका आम विषयलाई स्थानिय प्रकृति कै स्वरुपमा कला भर्दै कविताको उडान भर्न रुचाउने कवि गगन योक्पाङ्देन प्रकृति प्रेमि कवि हुन । स्थानिय लवजको शैली उनका कविताको सुगन्ध हो । यहि कलात्मक शैलीले उनका कविता सुन्दर छन ।
कवि पानी जस्तै तरल बन्न रुचाउछन । कवि बग्दै बग्दै जीवनलाई गन्तव्य तिर सोझ्याउने सन्देश कविता मार्फत दिन्छन । कविले भने जस्तो जीवन तरल बनाउन सजिलो कहाँ पो छ र ! आधुनिकताले ढाकेको मानविय आचरण र व्यबहारमा तरल शब्द जति सजिलो देखिन्छ र सुनिन्छ त्यो भोगाइ र व्यबहारमा उतार्न उतिकै कठिन छ । यो महानयात्राको सन्देश दिनु सायद कविको महानता हो र उनि भित्रको ब्रम्हचेत हो ।
विश्वमा अहंकारको बिगबिगी छ । यो उत्ताउलो परिवेशमा मपाई सामान्य जस्तो प्रायः देखिन्छ । तर कवि तरल र यथार्थवादी भएका कारण उनि आफ्नै नाम माथि हमला गर्छन र विश्व समुदायलाइ व्यङ्ग्य गर्छन ।
पेज ५ मा आमाप्रति भन्ने कविता छ । “उसो भए म बाँच्न चाहन्छु” कविताको यो अन्तिम वाक्यले हर पाठकलाइ सोच्ने बनाउछ । जीवनको सिङ्गो रङ बोकेको यो कविता तपाईले पढ्न छुटाउनु भयो भने धेरै कुरा छुटाउनु हुनेछ । यस्ता धेरै कविता केवाफुङ्को गीतमा भेटिन्छ ।
मौनताको भाषा के हो ? सायद यो प्रश्नको उत्तर अनुत्तरित छ । थाहा मात्रै पाउनु सायद यसको उत्तर होला । सबै थाहा पाएका चिजहरुको उत्तर हुदैन । महसुस मौनताको सुन्दर उत्तर हुनसक्छ । सङ्ग्रहमा कतिपय कविता यस्तै महसुस गर्ने कविता छन ।
ह्रदय ! खै कहाँ छ ? हो, त्यहि खै कहाँ छ भनिएको ह्रदयको गहिराइमा जब शब्द ब्रम्हहरु पवित्र नदिको यात्रातय गर्छन तब केवाफुङ्को गीत जस्ता कवितासङ्ग्रहको जन्म हुन्छ ।
छोरी पात्रमा लेखिएका केहि कविता छन जसले समग्र जीवनको चेत बोल्छन । भावनासग जोडिएका यी कविताहरु युगका आवाज हुन । छोरी पात्र निर्माण गरि सुन्दर शैलीमा समाज सुधारको आह्वान गर्नु कविको अर्को सुन्दर कला हो ।
गाली पनि कति मिठो ! कवि छुराको प्रहार यति कोमल तरिकाले गर्छन कि दुश्मन, शासक या अत्याचारीलाई फूल झै लाग्नेछ तर त्यसको गहिराइ भने बडो घातक बन्नेछ । कविको यो शिल्प प्रशंनीय छ ।
नगण्य भाषिक भुलचुक बाहेक केवाफुङ्को गीत कवितासङ्ग्रह पठनीय र सङ्ग्रहणीय काव्यकृति हो ।
……….हिँड्दा हिँड्दै हिँडेको बाटो पनि खिइँदो रहेछहिँड्दा हिँड्दै हिँडेको बाटो पनि मेटिँदो रहेछबाटोको पनि आयु हुँदोरहेछ ।……….
नौ हजार एकसय पच्चिस दिनको ध्यानबाट ध्यानस्थ भएको मिक्लाजुङ पहाडबाट उदाएका कवि गगन योक्पाङ्देनका यिनै रहस्यमयी काव्यिक पङ्ति सगै उनको आगामी काव्ययात्राको सतत् शुभकामना ।
युग संवाददाता । सुर्खेत । १२ जेष्ठ २०८१, शनिबार १६:२१