पातारासी क्षेत्रका पाँच सय बढी विद्यार्थी पुगे यार्सा टिप्न


वर्षभरिको पढाइ र घर खर्च जुटाउन जुम्ला लगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाका विद्यार्थी यति बेला बहुमूल्य जडीबुटी यार्सा खोज्न लेकतिर उक्लिएका छन् । यार्सा टिप्ने समय सुरु भएपछि जुम्ला, डोल्पा,कालिकोट, जाजरकोट, रुकुम र मुगु लगायतका जिल्लाबाट विद्यार्थी उनीहरू अभिभावकसँगै उच्च पहाडी क्षेत्रका पाटन गएपछि अधिकांश विद्यालयको नियमित पढाइ प्रभावित भएको छ ।

ऋमोक्ष माध्यमिक डिल्लीचौरका १ सय २१, गंगा माध्यमिक पेरेका २ सय ६०, गंगादेवि आधारभूत स्यालागडिगाउँका १५, आधारभूत विद्यालय हुरीमहरीका ६ जना, आधारभूत विद्यालय लुमका ३०, मालिका मावि लोठचौरका ७० र सरस्वती माध्यमिक विद्यालय तल्फिका ८० जना गरि कुल ५ सय ८२ जना छात्राछात्रहरु पढ्ने जोहो गर्न पाटन पुगेका छन् ।

गरिबीका कारण बालबालिकाहरू अभिभावकसँगै यार्सा खोज्न पाटन जानुपर्ने बाध्यताले गर्दा उनीहरूको पढाइ बर्सेनि प्रभावित हुँदै आएको जुम्लाको पातारासी गाउँपालिका–१ मा रहेको गंगा माध्यमिक विद्यालय पेरे प्रध्यानाध्यापक गोर्ख बुढा बताउँछन् ।

जुम्ला,कालिकोट डोल्पा, मुगु, जाजरकोट र रुकुमका अधिकांश स्थानीय बासिन्दाले यार्सा बेचेर जोहो गरेको पैसाबाट वर्षभरिको खर्चको जुटाउने गर्छन् । यार्सा विद्यार्थीदेखि सर्वसाधारणको आम्दानीको स्रोत बनेको छ ।

विद्यार्थीको तेजिलो आँखा हुने हुँदा पाटनमा बढी कीरा टिप्ने भएकाले अभिभावकले पढाइ छोडेर आफ्ना छोराछोरी ढेड महिनाको निम्ति पाटन लैजाने चलन छ । सबैभन्दा बढी डोल्पा र मुगुका पाटनमा तथा त्यसपछि जुम्ला र हुम्लाका पाटनमा यार्सा पाइन्छ ।

आम्दानीको गतिलो स्रोत नै यार्सा भएकोले अभिभावकले यार्सा टिप्न आफ्ना छोराछोरीलाई लिएर जाने गरेका छन् । कम्तीमा पनि दुई महिना बालबालिका विद्यालय छाडेर यार्सा टिप्न जाने गरेको सोही गाउँपालिका ४ मा अवस्थित ऋणमोक्ष माध्यमिक विद्यालय डिल्लीचौरका प्रध्यानाध्यापक हरिबहादुर बुढाले बताए ।

यार्सा टिपेर एक विद्यार्थीले कम्तीमा पनि एक लाख देखि दुई लाख बढी रुपैयाँ कमाउँछन् । त्यसैले अभिभावकले छोराछोरीको पढाइभन्दा यार्सालाई बढी महत्त्व दिने गरेको पाइन्छ । आधारभूत तहसम्म भने नियमित पढाइ भइरहेको छ । कक्षा ७ देखि १० सम्मका विद्यार्थी धेरै गएका छन् । भने ४,५ र ६ कक्षा सम्म कमै पाटन निस्केका छन् । “यार्साको कमाइले घर खर्च चलाउने र छोराछोरीलाई पढाउने गर्छौँ,“ पातारासी गाउँपालिका –३ चौर गाउँकी काली रावतले भनिन् । “खान लाउन पुग्दैन, त्यसैले छोराछोरीलाई च्याउ टिप्न नपठाई हुँदैन । “माथिल्लो तहका विद्यार्थी नआउँदा कतिपय विद्यालयका पढाइ हुदैन,शिक्षक हाजिर गरेर फर्किने गरेका छन् ।

यार्साको सिजनमा बर्सेनि डेढ महिना पढाइ प्रभावित हुँदा पाठ्यक्रम सक्न समस्या हुने गरेको मालिका माध्यमिक विद्यालय मावि शिक्षक प्रेमबहादुर हमालले बताए । पढाइ अघि बढाउँदा अधिकांश विद्यार्थीको पढाइ छुट्ने र नपढाउँदा पाठ्यक्रम पुरा गर्न सकस पर्ने गरेको उनी बताउँछन् । “यार्सा पाइने मौसममा विद्यार्थीको पढाइ प्रभावित हुन नदिन नयाँ विकल्प खोज्नुपर्छ,“शिक्षक हमालले भने।यार्साको आम्दानीले वर्षभरिको खर्च जुटाउनु पर्ने भएकोले आफ्ना छोराछोरीलाई जोखिम मोलेर मुगु र डोल्पाका पाटन लान बाध्य भएको अभिभावकहरु बताउँछन् ।

आफूहरूको यस्तो बाध्यतालाई अन्त्य गरी छोराछोरीलाई नियमित विद्यालय जाने अवस्था सिर्जना गर्नुपर्ने उनीहरू बताउँछन् । गाउँलेहरू यार्सा टिप्न डोल्पाका पाटनतिर गएपछि गाउँहरू सुनसान छन् । गाउँमा अहिले अधिकांश वृद्धवृद्धा र बालबालिका मात्रै छन् ।

कसैको मृत्यु भए अहिले गाउँमा मलामी जाने मान्छे समेत नभएको सरस्वती माध्यमिक विद्यालय तल्फीका प्रध्यानाध्यापक विष्णुचन्द्र डाँगी बताउँछन् । १, २,३ र ४ ५ वडा भित्र सामुदायिक विद्यालयका माथिल्ला कक्षामा पढ्ने अधिकतम विद्यार्थी पाटन पुगिसकेको पातारासी गाउँपालिकाअन्तर्गतको शिक्षा शाखा प्रमुख अविराज उपाध्याय बताउँछन् ।

गाउँपालिकामा रहेका सबै विद्यालयका प्रधानाध्यापकहरूको बैठकमा ७५ प्रतिशत हाजिर र ३३ प्रतिशत पढाइ नभए माथिल्लो कक्षामा लागि योग्य नहुने निर्णय गरिएको जानकारी दिए । विद्यालयहरूले पत्रमार्फत सूचना पठाएरै अभिभावकलाई सो निर्णयबारे सचेत गराएको छ ।

पातारासी गाउँपालिकामा १६ वटा सामुदायिक विद्यालय छन् । जसमा निमावि र मावि ६÷६ वटा तथा प्रावि चारवटा छन् । यतिबेला कम्तीमा ६० प्रतिशत विद्यार्थी पाटन पुग्छन् ।

तपाईको प्रतिक्रिया