सुर्खेती पत्रकारितामा दलित : गौरवपुर्ण इतिहाँस, आशालाग्दो भविस्य

टेकेन्द्र विश्वकर्मा/सुर्खेत
मिडिया एउटा अभिव्यक्त गर्ने सशक्त माध्यम हो । अहिलेको समयलाई मिडियाको युग पनि मानिन्छ । छापा, विद्युतीय, अनलाइनलाई मिडिया मान्ने प्रचलन छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पनि अहिले मिडियाको बाढी आएको छ । प्रजातन्त्र प्राप्तिका साथसाथै संघीय संरचनामा गएपछि मिडियाको बाहुल्यता बढेको छ । यसका साथै मिडिया आवद्ध हुने पत्रकारहरुको संख्या पनि सामान्य बृद्धि भएको छ ।

राज्यको पुनः संरचनासँगै पत्रकारिताको पनि पुनः संरचना आवश्यक छ । संघीयताको अभ्याससँगै मिडियाको पुनः संरचना र पत्रकारिताको विकास तिब्र रुपमा बढेको छ । यससँगै मोफसल, समावेशीता, भाषाभाषी र लक्षित वर्गहरुको पनि सहभागितामूलक प्रतिनिधित्व हुन आवश्यक छ । बाध्यात्मक अवस्था बाहेक उक्त क्षेत्रको सहभागिता न्यून देखिन्छ । संविधानको मर्म र भावनाअनुसार मिडिया, पत्रकारिता र समग्र क्षेत्रमा अर्थमूलक सहभागिता गराउन आवश्यक छ ।

अहिलेको परिवेश अनुसार मिडियामा दलित समुदायको सहभागिता न्यून छ । त्यसो त हरेक क्षेत्रमा दलितहरुको सहभागिता कम छ । अझ त्यसमा पनि मिडिया चुनौतीको पेशा भएकोले यसमा अझ सहभागिता कम भएको पाइन्छ । न्यू मिडियाको विकाससँगै पत्रकारिता र समग्र क्षेत्रको उन्नवयनको लागि सहभागिातमूलक विकास, नीतिगत निर्णयमा अर्थपुर्ण सहभागिता, कानुन कार्यान्वयनमा सहजिकरण, मिडिया पुनः संरचना, बाध्यात्मक अवस्था भन्दा पनि समग्र क्षेत्रको नेतृत्व लिन अभिवृद्धि गराउन आवश्यक छ ।

यसै सन्दर्भमा नेपाल पत्रकार महासंघ, पत्रकारिता सम्बन्धी विभिन्न पेसागत संगठन, छापा माध्यम, अनलाईन, रेडियो र टेलिभिजनमा नेतृत्व तथा सदस्यहरुमा दलित समुदायका पत्रकारहरुको सहभागिता बारे छोटो विश्लेषण गर्न खोजिएको छ । कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत मिडियाको केन्द्रबिन्दु मानिएपनि दलित समुदायका पत्रकारहरुको सहभागिता न्यून छ । सम्पादकीय नेतृत्वदेखि संवाददाता र व्यवस्थापनको जिम्मेवारीमा सहभागिता कम पाइएको छ ।

सुर्खेतको पत्रकारितालाई हेर्दा पञ्चायती कालमा साविक वीरेन्द्रनगर–३ का पट्टुसिंह नेपालीलाई पत्रकार भनेर चिनिने गरिन्थ्यो । भूमिगत भएर, छद्म नाम राखेर उनले पत्रकारिता गरेको उनका समकक्षीहरु बताउँछन् । अहिलेको जस्तो खुला समाज नभएकोले पनि उनले ज्यान जोखिममा राखेर पत्रकारिता गरेको पाइन्छ । यसबारे थप अध्ययन गर्न तथा केही तथ्य संकलन गर्नका लागि कठिनाई भएको छ । स्वर्गीय पत्रकार नेपालीकोे योगदान र भूमिकालाई थप ब्याख्या तथा सुर्खेती पत्रकारितामा दलित समुदायका पत्रकारहरुको इतिहाँस अध्ययन गर्न स्रोतको अभावमा थप प्रभावकारी बनाउन सकिएको छैन ।

त्यस्तै भेरीगंगा–८ कुइरेका लालसिंह मिजार पत्रकारिता सुरु गर्ने सुर्खेतको दोस्रो दलित पत्रकार हुन् । २०५२ सालमा रेडियो नेपालको तत्कालीन क्षेत्रीय प्रशारण केन्द सुर्खेत (हालः प्रादेशिक प्रसारण केन्द्र) बाट पत्रकारितामा होमिएका उनी नै सरकारी सञ्चार क्षेत्रमा काम गर्ने पहिलो दलित पत्रकार हुन् । तीन दशक पत्रकारिता क्षेत्रमा पार गरिसकेका उनी हालः रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रमा प्राविधिक अधिकृत पदमा कार्यरत छन् ।

त्यस्तै तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र द्वन्दमा सुर्खेतको भेरीगंगा–८ का जय बहादुर सुनार (जेवी सुनार) ले पत्रकारिता गरेको इतिहास छ । जनयुद्ध चरम उत्कर्शमा पुगेको बेला उनी निकै जोखिम मोलेर पत्रकारितामा होमिएका थिए । जनयुद्धमा २०५९ अन्त्यतिर जाजरकोटको गर्खाकोटबाट प्रशारण भएको डोको रेडियो भेरी कर्णाली, जनगणतन्त्र० मा उनी कार्यक्रम संचालक भएर पत्रकारितामा क्रियाशिल भए ।

शान्ति प्रक्रियापछि बाँकेको नेपालगञ्जको रेडियो जनआवाज, त्यसपछि सुर्खेतको भेरी कर्णाली, हिमाल एफएममा पत्रकारिता गरेका उनी हाल भेरीगंगा–८ जहरेमा रहेको बिजी एफएममा कार्यरत छन् । २०६६ सालमा तत्कालीन हिमाल एफएमको स्टेशन म्यानेजर भएर जिम्मेवारी निर्वाह गरेका उनी नै रेडियोको नेतृत्व गर्ने पहिलो दलित पत्रकार हुन् । दलितहरु पत्रकारहरुको उल्लेखनीय सहभागिता भने करिव ६० को दशकमा सुरु पाइन्छ । सुर्खेतमा स्थापना भएको काँक्रेविहार दैनिक सञ्चालन भएपछि आफ्नो सौख र रुचीका साथै चुनौती मोल्न सक्ने मनसायका साथ केही दलित युवाहरु पत्रकारितामा आवद्ध भएका छन् ।

भेरी साप्ताहिकबाट पत्रकारिता सुरु गरेका वीरेन्द्रनगर–४ का ललित बसेलले काँक्रेविहार दैनिकबाट व्यवसायिक रुपमा पत्रकारितामा होमिएको इतिहास छ । २०६० को दशकदेखि पत्रकारिता सक्रिय उनले २०६८ सालदेखि सुर्खेतपत्र दैनिक स्थापना गरे । हालः नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्ष समेत रहेका उनी २०६३ देखि हालसम्म गोरखापत्र दैनिकमा पनि आवद्ध छन् ।

नेपाल पत्रकार महासंघ सुर्खेतको पहिलो दलित पदाधिकारी २०६१ देखि २०६४ सम्म कोषाध्यक्ष भएका बसेल नै नेपाल पत्रकार महासंघ सुर्खेतको अध्यक्ष हुने पहिलो दलित समुदायको पत्रकार हुन् । ६० कै दशकमा एफएम रेडियोहरु संचालनमा आएपछि दलित पत्रकारिताको क्षेत्रमा टेकेन्द्र विश्वकर्माको नाम अग्रपंक्तिमा आउँछ । सुर्खेतस्थित तत्कालीन भेक आवाज एफएम, हिमाल एफएम, बुलबुले एफएममा रेडियो पत्रकारिता गरेका विश्वकर्मा पछिल्लो सुर्खेतबाट प्रकाशित जनचासो खबर दैनिकको सम्पाकीय नेत्तृव गरिरहेका पाइन्छ ।

दलित पत्रकारहरुको साझा संस्था राष्ट्रिय दलित पत्रकार संघको संस्थापक केन्द्रीय उपाध्यक्ष समेत रहेका विश्वकर्माको कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरबाट प्रदेश एफएममा आवद्ध छ । दलित पत्रकारहरुको पेशागत हक, हित र अधिकारका क्षेत्रमा क्रियाशिल रहि दुई कार्यकाल २०७० देखि २०७६ सम्म नेपाल पत्रकार महासंघ सुर्खेतको कोषाध्यक्ष र २०७७ देखि २०८० सम्म एक कार्यकाल सह–सचिवको जिम्मेवारी निर्वाह गरेको पाइन्छ ।

त्यस्तै, भेरीगंगा–७ काठेघारीका टेकेन्द्र बस्याल २०६४ सालदेखि सुर्खेतको लोकमञ्च दैनिकदेखि पत्रकारिता सुरु गरेका हुन् । सुर्खेतकै रेडियो भेरी एफएममा केही समय पत्रकारिता गरेका उनले बाँकेको नेपालगञ्जमा रहेको बागेश्वरी एफएमबाट व्यावसायीक रुपमा पत्रकारिता सुरु गरेका हुन् ।

तपाईको प्रतिक्रिया