सुर्खेतका स्थानीय तहले कृषिमा तत्कालिन र दिर्घकालिन योजना बनाई कार्यान्वयनमा ल्याउन ढिलाई गरेका छन् । जसका कारण कृषि तथा पशुजन्य उत्पादित वस्तुको बजारिकरणमा अनिश्चितता बढ्दै गएको छ भने कृषिमा लगानी समेत जोखिममा पर्न थालेको छ ।
तरकारीले बजार नपाएको भन्दै सुर्खेतका किसानले पटक पटक आवाज समेत उठाउँदै आएका छन् । भारतबाट ठूलो परिमाणमा तरकारी आयात हुनाले यहाँका किसानको उत्पादनले बजार पाउन नसकेको गुनासो छ । तर यसबारे सम्बन्धित निकायको ध्यान पुगेको देखिँदैन ।
सरकारले समयमा नै अनुदानमा मल नदिनु, स्थानीय तहले किसानको खेतबारी समय समयमा अवलोकन गरेर परामर्श दिने संस्कारको विकास नहुनु लगायत कारणले किसान समस्यामा परेका छन् । यसले युवा पुस्तालाई कृषिमा आकर्षित हुनुको साटो निरुत्साहित बनाएको छ ।
कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा पछिल्लो समय बढ्दो जनसंख्यालाई खुवाउन कृषि उत्पादन र उत्पादकत्व बढाउन स्थानीय सरकारले जोड दिएको पाइँदैन । यसका लागि नगरपालिकाले विभिन्न शिर्षकमा लगानी बढाउन आवश्यक छ । भने कृषिमा युवा वर्गलाई आकर्षित गराउने पहिलो र महत्वपूर्ण उपाय भनेकै कृषिको बजारिकरणमा ध्यान दिनुपर्दछ । किनकी किसानले जति सजिलोसँग आफ्ना उपज विक्री गर्न पाउँछन् त्यति उत्पादनमा पनि जुट्न प्रोत्साहन मिल्दछ । कृषिमा भएका जोखिम पनि स्थानीय सरकारले संरक्षण गर्नु पर्दछ ।
वीरेन्द्रनगरका कृषक नारद प्रसाद भट्टराइले नगरपालिकाले अन्य भन्दा कृषि उत्पादनमा लगानी कम गरेको बताउँछन् । सुर्खेतका कृषि उपजलाई बजारिकरण गर्न गाउँ गाउँसम्म सडक सञ्जाल निर्माणमा जोड दिनुका साथै कृषि, भौतिक पूर्वाधार निर्माण गर्नुपर्ने उनले बताए ।
पछिल्लो समय भौतिक रुपमा हेर्दा पहिरोको जोखिम, कृषि सामग्री र मल अभाव, भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने जस्ता समस्या बढेपछि कृषि क्षेत्रमा जोखिम पनि बढेका छन् । छिन्चुका कृषक नन्दराम योगीले पछिल्लो समय कृषि, तरकारी तथा फलफुलमा नयाँ नयाँ रोग किराको प्रकोप बढेको भन्दै पालिकाले रोग किरा व्यवस्थापनमा ध्यान नदिएको गुनासो गरे ।
बजारको अनिश्चितता हटाउनुका साथै कृषि लगानीमा बृद्धि गर्न सुर्खेतमा एन्साब नेपालको ग्रेप परियोजना लगायतका विभिन्न कार्यक्रम अन्तरगत आवश्यक कार्यक्रमसहित बहस पनि सुरु भएको छ । तर अवस्था भने उस्ताको उस्तै छ ।
बुलबुले कृषि बजारको तथ्यांक अनुसार चालु आर्थिक बर्षको ६ महिनामा मात्रै सुर्खेतको वीरेन्द्रनगरमा ८३ करोड ८३ लाख ११ हजार बढिको तरकारी तथा फलफुल भित्रिएको छ । तर सुर्खेतका अन्य पालिकासँगै कर्णाली भित्रिएको तरकारी तथा फलफुलको तथ्यांक छैन । बजार माग हुँदा हँुदै स्थानीय उत्पादन नहुनु र भएका उत्पादन पनि बिचौलियाका कारण बजार नपाउँदा समस्या भएको हो । हाल सुर्खेतका कुनै पनि पालिका कृषिमा आत्मनिर्भर छैनन् ।
युग संवाददाता । सुर्खेत । १५ फाल्गुन २०८०, मंगलवार ०६:१४