व्यक्तित्व चर्चा

जो आफू शिक्षाबाट बञ्चित भए उनैले छरिरहेका छन् कर्णालीमा शिक्षाको ज्योती


कालिकोटको महावै गाउँपालिका–२ मा जन्मिएका टोपबहादुर मल्ल अहिले कर्णालीमा शिक्षाको ज्योती छरिरहेका छन् । गाउँकै स्कुलमा कक्षा–८ सम्मको पढाई अधुरै छाडेर १२ बर्षको उमेरमा (२०४०) सालमा रोजगारीको लागि भारत पसेका टोपबहादुर अहिले कर्णालीमा शिक्षाको ज्योती छर्ने काम गरिरहेका छन् ।

टोपबहादुरले सुर्खेत बेश बनाएर कोपिला भ्याली सेवा समाजमार्फत कक्षा १२ सम्मको स्कुल सञ्चालन गरेर टुहुरा तथा बेसहरा बालवालिकालाई आवाससहित निःशुल्क शिक्षा दिने गरेका छन् । आमा–बुवा दुबै नभएकालाई आवाससहित शिक्षा र आमा–बुवामध्ये एउटा गुमाएकालाई अभिभावकको जिम्मामा राखेर निःशुल्क शिक्षा दिने गरेको टोपबहादुरले बताए । ‘कक्षा–१२ भन्दामाथी पढ्न चाहनेलाई पनि सहयोग गर्दै आएका छौं ।’ उनले भने, ‘हामीले यहाँ १२ कक्षासम्म त निःशुल्क पढाउँछौं नै ।’

अभावै अभावको जीवन
टोपबहादुरको बुवा उनी एक वर्षको हुँदा नै बिते । उनको घरमा दुई दिदी र एक दाजु छन् । जेठो दिदी उपचार नपाएरै म सानो हुँदा बितेको उनी बताउँछन् । ‘अभावै अभावमा मैले जिन्दगी विताएँ । म जति बढ्दै जान्थे उति धेरै समस्याहरु सिर्जना हुन्थे ।’ उनी विगत सम्झिन्छन्,‘विकट गाउँमा ऊबेला खान र लाउनकै समस्या हुन्थ्यो । बाल्यकालमा मैले चाहेको जस्तो भएन । अभावमै बित्यो ।’

पढेर अशल मान्छे बन्ने सपना बुनेको तर, पढ्दा पढ्दै आमा बिते र दिदी पनि गुमाएपछि उनको जीवन सानै उमेर ठुलो चोट पर्यो । त्यो बेला पनि भारतमा रोजगारी जाने चलन रहेको आफु पनि आठ कक्षामा नै पढाइ ब्रेक लागेको उनले सम्झिए । ‘गाउँकै देव प्राथमिक विद्यालयमा पढ्न जान्थेँ । जेनतेन प्रावि तहसम्मको पढाइ पूरा गरेँ । निम्न माध्यमिक तह पढ्न थालेँ । सँगै पढ्ने साथीहरुले पास भएपछि छाडेका किताव र लेखेका कापीहरु संकलन गरेर पढथेँ ।’ उनले भने, ‘साथीहरुले लेखेका कापी र कितावका खाली पाना संकलन गरेर भातको माँडले टालेर कापी बनाएर पढ्न जान्थेँ । तै पनि म सधै प्रथम हुन्थे ।’

१२ वर्षमै रोजगारीका लागि भारत
गाउँका अधिकांश मान्छेहरु कमाउनका लागि भारत (कालापहाड) जाने गरेको आफुले भारतको कालापहाड जाने तयारीका साथ भारत रोजगारीमा गएका कमाएर घर फर्किदा उनीहरुको परिवारमा बेग्लै खुसी छाउँने गरेको मैले पनि आफ्नो परिवारको खुसीका लागि भारत गएको उनले आफ्नो विगत कल्पिए ।

‘नयाँ कपडा लगाएर छरछिमेकका छोराछोरी रमाउँथे । मेरो पनि बुवा भइदिएको भए मलाई पनि नयाँ कपडा ल्याउनुहुन्थ्यो होला भन्ने लाग्थ्यो । भारत नै कमाउने ठाउँ रहेछ भन्ने लाग्यो ।’ उनले भने,‘भारत गएर फर्कनेहरुसँग म सोध्थे ‘कसरी जान्छन् भारत ?’ उनीहरुले सहजै भन्थे, दैलेख, सुर्खेत, नेपालगञ्जबाट भारतको रुपैडिया भएर रेल चढ्नुपर्छ ।’
अनि उनले भारत जाने बाटो पत्ता लगाएपछि गाउँबाट तीनसय ऋण खोजेर १२ वर्षकै उमेरमा (२०४० साल) भारत लागे । ओदानकु–दिल्लीकोटहुँदै महावै लेकको बाटो छलेर दैलेख, सुर्खेत, नेपालगञ्ज हुँदै रुपैडिया रेल चढेर भारतको देउपरेकमा लागेँ । हरिद्वारको देउपरेकमा कुल्ली काम गरेर उनले केही पैसा जम्मा पारेपछि पुनः नेपालमा आए । त्यसपछि उनको आउँजाउ नै चलिरहेको उनी विगत सम्झिछन् ।

‘रुपैडियाबाट हरिद्वार पुगेँ । दैनिक ३५ भारु कमाउँथें । खाना नास्ता खर्च गरेर मैले २० रुपैयाँ भारु बचाउँथेँ ।’ उनले, ‘चार पाँच महिना काम गरेँ । एक हजार आठसय भारु कमाएँ । भारत जाँदा लगेको तीनसय ऋण पनि तिर्न सक्ने भएपछि मैले घर फर्कने निधो गरेँ । भारतमै परिवारका लागि चाहिने सबै कपडा किनेर कालिकोट फर्किएँ ।’

त्यहाँ पुग्दा उनलाई आफ्नै गाउँ जस्तै लागेको उनी बताउँछन् । ‘दाजु पर्ने त्यही हुनुहुन्थ्यो काका पर्ने त्यही हुनुहुन्थ्यो गाउँका सबै त्यही थिए ।’ उनले भने,‘त्यही भारी बोक्ने काम गरे ।’

ऋषिकेशले बाटो फे¥यो
ऋषिकेशमा रमानाज गार्डेन भन्ने विदेशी संस्था रहेको त्यसमा आफ्नो जेठानले काम गर्ने गरेको त्यहाँ काम खुलेपछि जेठान नै बोलाएर आफु त्यहाँ गएको उनले सम्झिए । ‘त्यो संस्थामा मैले मजदुरी काम गरे । एक सय जनाभन्दा कामदार रहेको संस्थामा मैले नै सबैभन्दा राम्रो काम गरेँ ।’ उनले भने, ‘दैनिक ४० रुपैयाँ ज्यालादारीमा महिनामा १२ रुपैयाँ कमाउथेँ ।’

ऋषिकेशमा रमानाज गार्डेन संस्थामा काम गर्दा त्यसको डाइरेक्टर डा.प्रभावति दवाले आफ्नो कामबाट प्रभावित त्यही संस्थामा काम गर्न लगाएको उनले बताए । ‘त्यो संस्थामा जेनेरेटर चलाउने काम गरे । मैले त्यही अंग्रेजी सिके । पहिला त्यहाँ रहेका ६०, ७० जनालाई अर्कोले लिड गरेको थिए । अंग्रेजी सिकेपछि मैले लिड गरे ।’ उनले भने, ‘त्यहाँको प्रोजेक्ट म्यानेजर बनेर १४ वर्ष काम गरे । गाडी चलाउने सिके ।’

त्यो संस्थाले त्यहाँ स्कुलहरुमा शैक्षिक, आर्थिक र स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने गरेको र त्यस्तै नेपालमा स्कुलका पढ्न चाहने बच्चाले पढुन पाएको भए भन्ने लाग्न थालेको त्यसका लागि केही विदेशीसँग आफुले कुरा राखेको उनले बताए । ‘मैले यो काम गरेर राजीनामा दिएर नेपाल जान्छु भन्ने सोच बनाइरहेको थिए ।’ उनले भने, ‘त्यसै बेला म्यागी डोयनसँग भेट भयो । मैले काम गरेको १२ वर्ष भएको थियो ।’

म्यागीसँगको भेट
संस्थामा काम गरिरहेको बेलामा अमेरिकामा उच्च शिक्षा सकेर खाली समयमा म्यागी डोयन भारतमा आइन् । उनी त्यहाँ आएपछि बालबालिकाहरुसँग खेल्ने, सरसफाइ गर्ने जस्ता काम गर्दा त्यहाँ पढ्ने बालबालिका उनको अगाथ माया स्नेह गरिन । त्यो बेला नेपालमा द्वन्द्व भएका कारणले केही बालबालिका नेपालबाट त्यो संस्थामा पढ्न गएको उनीका बारेमा म्यागीले सोधपुछ गरेको उनले बताए ।

‘त्यो बेला नेपालका ४५ जना बच्चा त्यहाँ थिए । रोजगारी र द्वन्द्वलगायतका कारणले आएका हुन् भनेर मैले म्यागीलाई सुझाए ।’ उनले भने, ‘एकदिन म्यागीले सुझाव दिइन् । आफु नेपाल जाने । नेपालमा केही काम गर्ने ?’ सन् २००५ (२०६४) मा म्यागी, मेरो अंकल, अंकलको छोरी संगिता नेपालमा ट्राभलमा आएको उहाँहरु सुर्खेत हुँदै पैतल कालीकोट पुगेको, झण्डै एक महिना नेपाल घुमेर फेरि भारत पुगेको उनले बताए ।

कोपिला भ्यालीको शुरुवात
म्यागी अमेरिका गइन, नेपालको अवस्था देखेर उनी चिन्तित थिइन् । उनले पाँच रुपैयाँ डरलमा नेपालमा बच्चा पढाउन सक्किन्छ भन्ने उनको धारणा रहेको टोपबहादुर सम्झिन्छन् । ‘म्यागी र मबीच संस्थाको नाम छनौटमा कयौं छलफल भयो । अन्ततः म्यागीलाई कन्भेन्स गरेर कोपिला भ्याली समाज संस्था नाम राख्यौ ।’ उनले भने,‘१२ वर्षसम्म भारतमा त्यहीँ क्षेत्रमा काम गरेर कमाएको ११ लाख रुपैयाँ मेरो र म्यागीले अमेरिका रहँदा खुत्रुकेमा जम्मा गरेको झण्डै तीन लाख रुपैयाँले संस्था दर्ता ग¥यौ ।’

२०६४ सालमा संस्था दर्ता गरिसकेपछि शुरुमै स्कुल सञ्चालन गर्न सक्ने स्थिति नभएको, बालबालिकालाई पढाउने लक्ष्य अभियान शुरु गरेको अवस्थामा कसै हामी पढाउँछौभन्दा नपत्याएको उनले सम्झिए । ‘अहिले हामीले साढे चार सय बालबालिकालाई पढाइरहेका छौँं ।’ उनले भने, ‘त्यो बेला हामीले पढाउँछौभन्दा कसैले पत्याएनन् । धौँ–धौँ गरेर २५ जना बालबालिकाहरु जम्मा गरेर होराइजन स्कुलमा संस्थाको लगानीमा पढाउन थाल्यौं ।’

बालबालिकालाई पूर्ण निगरानी गर्दै हेरचाह गरेपछि विस्तारै संस्थाप्रतिको विश्वास बढ्दै गएको पछि संख्या बढ्न थालेपछि कक्षा–८ सम्म अनुमति लिएर विद्यालय सञ्चालन गरेको टोपबहादुरले बताए । ‘०६७ सालमा कोपिला भ्याली स्कुल सञ्चालन गरेर आफै पढाउन शुरुवात ग¥यौं । हाल विद्यालयमा चार सय ५० जना विद्यार्थी छन् । एक सय ५२ जनाले रोजगारी पाएका छन् ।’

उनले भने, ‘कक्षा–१२ सम्म म्यानेजमेन्ट बिषय पढाई हुन्छ । एसइइ दिएपछि अन्य बिषय पढ्न अन्य विद्यालयमा जानुहुन्छ । त्यो खर्च हामीले बेहोर्छाैं ।’कक्षा–८ मा पढ्ने बालबालिकाहरुमा बचत गर्ने वानीको विकास गर्न र बालविबाह नगरुन भन्ने हेतुले संस्थाले दश हजारको बचत खाता सञ्चालन गरिदिने गरेको उनले बताए ।

शिशु कक्षामा भर्ना हुनका लागि प्रत्येक वर्ष ३५ जनाको कोटा खुल्ने र त्यसमा पाँच वर्ष ननाघेको बच्चाको भर्ना लिने गरेको उनले बताए । ‘विपतमा परेर वा आमा बाबु दुवै गुमाएको बच्चालाई जतिबेला पनि संस्थाले संरक्षण गर्ने गरेको छ ।’ उनले भने, ‘आमाबाबुमध्ये एउटा गुमाएको छ भने, हामीले प्रत्येक शैक्षिक सत्रमा ३५ जनाको दरले भर्ना लिने गरेका छौं ।’

तपाईको प्रतिक्रिया