फल्न छाड्यो रैथाने बाली, खेती छाड्दै किसान

पछिल्लो समय कर्णालीका सिकानहरु रैथाने बालीको खेती छोड्न थालेका छन् । लागत अनुसार उत्पादन हुन छोडेपछि किसानहरु रैथाने बालीको खेती गर्न छाडेका हुन् । जुम्लाको कनकासुन्दरी गाउँपालिकाका किसान धनविर बुढाले रैथाने बालीको खेती गर्न छाडेको एक दशक पुग्यो ।

दुःख गरेअनुसार उब्जनी नहुने, हुर्कनै समय लाग्ने, रोग र किराबाट बाली जोगाउनै मुश्किल भएपछि उनले परम्परादेखि लगाउँदै आएका अन्नबालीको खेती गर्न छाडेका हुन् । उनका अनुसार फापर, उवा, चिनो र कागुनो अचेल पहिलाको जस्तो फल्दैन । दुख अनुसार उब्जनी नहुँदा स्थानीय जातका अन्नबाली लगाउन छोडेको उनले बताए ।

‘गाउँमा स्थानीय उत्पादनले जिविका नचलेपछि तीन बर्ष बैदेशिक रोजगारमा समेत बसे । अहिले गाउँ फर्केर काठ मिल चलाउँदैछु’ उनले भने, ‘तर रैथाने बाली उत्पादनमा जोड दिन मन लाग्दैन । खानलाई स्वादिष्ट र पोषणयोग्य छ, तर लागत अनुसार उत्पादन नभएपछि किन दुःख गर्ने ?’
उनका अनुसार केही बर्ष अघिसम्म फापर, चिनो, कागुनो, उवा, कोदो र जौ लगायतका स्थानीय जातका बालीको खेती राम्रै हुन्थ्यो । तर पछिल्ला बर्षमा ती बालीको उत्पादन क्रमशः घट्दो छ । उत्पादन घट्दै गएपछि स्थानीयले कतिपय रैथाने बालीको खेती नै गर्न छाडेका छन् ।
खेती नै गर्न छाडेपछि हिजोआज कतिपय स्थानीय जातका रैथाने बालीको बीउ नै नपाउने अवस्था आएको छ । ‘पहिला त पाखामा छरिदिए पुग्थ्यो, त्यही फलेको बालीले छाक टाथ्र्यौं । तर अचेल पहिलाको जस्तो उब्जनी हुँदैन, उब्जनी नहुने बाली किन लगाउनु ?’ जुम्ला हिमा गाउँपालिकाका किसान रण रोकायाले भने, ‘धेरै उत्पादन हुने आसमा हिजोआज हामीले हाइब्रिड जातका बालीको खेती गर्न थालेका छौं । रैथाने बालीलाई व्यवसायिक बनाउनुपर्छ भन्ने चलन हटिसकेको छ ।’

जुम्लाकै तातोपानी गाउँपालिकाका किसान जयप्रसाद गौतमले पछिल्लो समय मार्सी धानको उत्पादन समेत घट्दै गएको बताए । आफ्नो गाउँका किसानले लगाएको मार्सीधानमा लगातार तीन बर्षसम्म रोग लागेपछि खेती छाड्ने मनसायमा रहेको उनको भनाई छ ।

‘नयाँनयाँ रोग र किराको प्रकोपले मार्सी धानको उत्पादन सोचेअनुसार नहुँदा हामीले विस्तारै यसको खेती घटाउँदै गएका छौं’ उनले भने, ‘बर्सेनि नयाँ रोगले पाक्ने बेलामा मार्सी धान खेतमै नष्ट हुन्छ, पहिलाको जस्तो उत्पादन नै हुँदैन ।’

रोगले सताउने र उब्जनी हुन छाडेपछि मार्सीको साटो नयाँ जातको धान लगाउन थालेको उनले बताए । उनका अनुसार अब सबै किसानले खेती गर्न छाडेपछि विस्तारै यहाँको रैथाने मार्सी पनि लोप हुने देखिन्छ ।

कर्णालीका हिमाली जिल्लाहरू जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोटमा रैथाने जातका बालीको खेती घट्दो छ । उत्पादनमा आएको ह्रासका कारण स्थानीयले खेती गर्न छाडेपछि कतिपय रैथाने बालीहरूको अस्तित्व नै संकटमा परेको हो । चिसो र हिमाली हावापानीमा फल्ने चिनो, कागुनो, उवा, फापर, मार्से, जुम्ली मार्सी, कोदो, सिमी र जौं लगायतका रैथाने बालीहरू संकटमा पर्न थालेका छन् ।
वातावरणविद् सञ्जित कँडेलका अनुसार पहिलाको तुलनामा हिउँ कम मात्र पर्ने गरेको, हिउँ पर्न छाडेपछि विस्तारै हिमाली क्षेत्रको तापक्रम पनि वृद्धि हुँदै जाँदा त्यहाँका रैथाने बालीलाई अनुकुल वातावरण भएन । ती बालीमा रोग र किराको प्रकोप पनि बढ्न थाल्यो । र यसले उत्पादन पनि घट्दै गएको हो ।

घर खर्च चलाउन नै समस्या
रैथाने बाली लोप हुने अवस्थामा पुग्दा स्थानीय किसानको जीविकोपार्जनमा नै समस्या उत्पन्न हुन थालेको छ । तर स्थानीय किसान भने के कारणले रैथाने बालीको उत्पादन घट्यो भन्ने विषयमा जानकार छैनन् । बरु उत्पादन बढी हुने बालीको खोजीमा किसानहरू भौंतारिने गरेका छन् ।

मुगुको खत्याड गाउँपालिकाका किसान वीरबहादुर खत्रीका अनुसार पछिल्लो समय हिउँ र पानी नपर्दा छरेको बाली पनि सप्रिँदैन । भने पहिला अन्न फल्ने पाखाहरू अचेल बाँझै छन् । ‘पुस्तौंदेखि लगाउँदै आएका बालीको उत्पादन राम्रो नहुँदा हामीलाई छाक टार्न कठिन हुन्छ’ उनले भने, ‘रैथाने बाली फल्न छाडे पनि जिल्लामा विगतमा नफल्ने कतिपय बाली र फलफूलहरू भने अचेल फल्न थालेका छन् ।’

मार्सी, सिमी र फापरको बजारमा माग बढेको भए पनि उत्पादन भने वृद्धि हुन सकेको छैन । रैथाने बालीको उत्पादन वृद्धि र बीउ संरक्षणमा प्रभावकारी योजना र कार्यक्रम नहुँदा यी बालीहरू संकटमा पर्न थालेको किसानहरू बताउँछन् ।

पछिल्लो समय हिमाली क्षेत्रका किसानले उत्पादन बढी हुने आसमा हाइब्रिड तथा उन्नत जातका बीउको खेती गर्न थालेका छन् । यसले गर्दा पनि रैथाने बालीहरू संकटमा पर्न थालेका हुन् । रैथाने बालीको संरक्षणका लागि सरकारले आवश्यक कार्यक्रम सहित आधुनिक कृषि प्रविधि र खेती प्रणालीतर्फ किसानलाई आकर्षित गर्नुपर्ने अगुवा किसान दैलेख दुल्लु नगरपालिका ५ का किसान पूर्ण बहादुर शाहीको भनाइ छ । उनले भने ‘पछिल्लो समय यहाँका रैथाने बाली हराउँदै गएका छन् । बजार पनि सुनिश्चित छैन ।’

संरक्षणका लागि बाली सूचीकृत
कर्णाली प्रदेश सरकारले रैथाने बालीको संरक्षणका लागि पहल भइरहेको जनाएको छ । रैथाने बालीको अस्तित्व जोगाउन र किसानलाई यसको खेतीमा आकर्षित गर्न कर्णालीमा उत्पादन हुने नौ वटा रैथाने प्रजातिका बालीहरू सूचीकृत गरिएको छ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चिनो, कागुनो, उवा, मार्से, फापर, जुम्ली मार्सी, कोदो, जौ र सिमीलाई रैथाने बालीको रूपमा सूचीकृत गरिएको जनाएको छ ।मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले रैथाने बाली संस्कृतिसँग जोडिएकाले सम्पदाको उपमा दिएर ती रैथाने बालीको उत्पादनहरू बिक्री गर्नेले अब अनिवार्य रूपमा ‘मूल्यवान’ अंकित लोगो राख्नुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

कठायतका अनुसार रैथाने बालीको बजार माग धेरै छ, मूल्य पनि राम्रो छ । तर उत्पादन भने हुन सकिरहेको छैन । रैथाने बालीको उत्पादन बढाउन र ती बालीको संरक्षणका लागि मन्त्रालयले प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

‘चालू आर्थिक वर्षमा रैथाने बालीको संरक्षण र प्रवर्द्धनका लागि जिल्लाहरूमा करिब चार करोड बजेट पठाइएको छ’ उनले भने, ‘रैथाने बालीको बीउ लोपोन्मुख अवस्थामा पुगेपछि जिल्लास्थित कृषि विकास कार्यालयहरूले बीउ जोगाउने प्रयास गरिरहेका छन् ।’

रैथाने बाली जोगाउनका लागि कृषि मन्त्रालय तथा विभिन्न संघसंस्था मार्फत पटक पटक जिल्ला तथा प्रदेश स्तरमा कृषक अभिमुखिकरण गरिन्छ । तर तीनै किसान भने उत्पादनमा लागेको पाइदैन । बजार मुल्य राम्रो हुदाँहुदै पनि रैथाने बाली उत्पादन गर्न नसक्नु कृषक र सरोकारवाला सबैको कमजोरी हो । अब तीनै तहका सरकारले रैथाने बाली उत्पादनमा लगानी गर्नुका साथै बजार ग्यारेण्टिको पनि जिम्मा लिन जरुरी छ । किनकी यीनै रैथाने बाली कर्णालीको पहिचान र परिचय पनि हुन् ।

तपाईको प्रतिक्रिया