‘साम्स् कप– २०८०’ को उपाधी सुर्खेत मोडेल कलेजलाई


‘साम्स् कप– २०८०’ को उपाधी सुर्खेत मोडेल कलेजले प्राप्त गरेको छ ।
यहि फागुन ४ गतेदेखि सैनिक आवासीय महाविद्यालय सुर्खेतले आयोजना गरेको अन्तरमाध्यमिक विद्यालय स्तरीय फुटबल प्रतियोगिता ‘साम्स् कप–२०८०’ बुधवार सम्पन्न भएको छ ।

महाविद्यालयका खेलकुद शिक्षक उत्तम खड्काको संयोजकत्वमा सञ्चालित १३ वटा माध्यमिक विद्यालयहरू सम्मिलित ‘साम्स् कप–२०८०’ को फाइनलमा पोल ‘ए’ बाट सुर्खेत मोडेल कलेज र पोल ‘बि’ बाट साउथ एसियन स्कलर्स एकेडेमी पुगेका थिए ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा निर्धारित समयमा कुनै पनि टिमले गोल गर्न सकेनन् । खेलको अन्तिम निर्णयका लागि रेफ्रीद्वारा ट्राइ ब्रेकरको उद्घोष भयो । ट्राइ ब्रेकरमा सुर्खेत मोडेल कलेज ले ३–२ गोल सहित जित आफ्नो पक्षमा पारी ‘साम्स् कप’ दोश्रो संस्करण २०८० को उपाधि हात पार्न सफल भएको होे ।

प्रतियोगीताभर कुल ६ गोल गरी अमरज्योति मा.वि. नेवारेका प्रशान्त सारु मगर प्रतियोगिताको सार्वाधिक गोलकर्ता बन्न सफल भए । त्यसैगरी, सुर्खेत मोडेल कलेजका वसन्त बौडेल र निशान बि.सी. क्रमशः उत्कृष्ट गोल रक्षक र उत्कृष्ट डिफेण्डर बने भने साउथ एसियन स्कलर्स एकेडेमीका गणेश पुलामी मगर उत्कृष्ट मिड फिल्डर घोषित भएका हुन् ।

प्रतियोगितामा विजेता र उप–विजेता टिमलाई प्रमाणपत्र, मेडल तथा ट्रफी, व्यक्तिगत उत्कृष्ट हुने विभिन्न खेलाडीहरूलाई प्रमाणपत्र तथा ट्रफी एवम् विजेता÷उप–विजेता टिमका प्रशिक्षक र टिम म्यानेजर, रेफ्रीहरू लगायत सम्पूर्ण सहभागी विद्यालयहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने विजेता र उप–विजेता विद्यालयलाई नगद पुरस्कार सहित प्रमाणपत्र महाविद्यालयको १८ औं वार्षिक उत्सवको अवसरमा फाल्गुन १४ गते हस्तान्तरण गरिनेछ ।

सैनिक आवासीय महाविद्यालयद्वारा आयोजित ‘साम्स् कप–२०८०’ को समापन समारोह उत्तर पश्चिम पृतना हे.क्वा. का पृतनापति एवम् महाविद्यालय सञ्चालकसमिति अध्यक्ष उपरथी कृष्णदेव भट्टको प्रमुख आतिथ्यतामा भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतका प्रमुख स.प्र.ना.म.नि. दुर्गा प्रसाद भट्टराई, उत्तर पश्चिम पृतना हे.क्वा. का सह चिफ अफ स्टाफद्वय महासेनानी सुधिर के.सी. तथा महासेनानी सुवास खड्का, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी बरिष्ट उपरीक्षक बीर बहादुर ओली, जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र कुमार गिरी, वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष ऋषि गिरी, सुर्खेत स्थित नेपाली सेनाका बिभिन्न युनिटका युनिटपतिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

साथै, समापन समारोहका प्रमुख अतिथि उपरथी भट्टले विद्यार्थीहरूलाई फुटबल लगायत अन्य खेलहरूमा रुची बढाउन प्रेरित गरे । अध्ययन र खेलकुदलाई सँगसँगै लिन सक्ने हो भने स्वस्थ, अनुशासित, मर्यादित एवम् असल नागरिक बन्न सक्ने कुरामा उनले जोड दिए ।

यसैगरी, प्रमुख अतिथि, अतिथिहरू, सहभागी विद्यालयहरू, खेलाडीहरू, लगायत ‘साम्स् कप–२०८०’ लाई सहजपूर्वक सम्पन गर्न योगदान दिने सम्पूर्ण पक्षहरूप्रति आभार प्रकट गर्दै महाविद्यालयका प्रिन्सिपल प्रेमबहादुर विश्वकर्माले धन्यवाद मन्तव्य दिएका थिए भने विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिहरू सहितको समारोहको सञ्चालन महाविद्यालयका अतिरिक्त शैक्षिक क्रियाकलाप विभाग प्रमुख बेतेन्द्रकुमार दहालले गरेका थिए ।

तपाईको प्रतिक्रिया