कर्णालीमा अब पौष्टिक चामल विक्री शुरू

कर्णालीका जिल्लाहरुमा अब पौष्टिक तत्व चामल विक्री शुरु गर्न थालिएको छ ।
बुधवार एक कार्यक्रमको गर्दै कर्णालीका जिल्लाहरूमा यसअघि वितरण गरिएको चामलमा कम पौष्टिक तत्व हुँदा कुपोषण कायमै रहेपछि खाद्य व्यवस्थापन तथा व्यापार कम्पनीले कर्णालीमा पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल (फोर्टिफाइड राइस) बिक्रि गर्न थालेको हो । गत पुस २५ बर्दियाको राजापुर मिलबाट चामल उत्पादन सुरु गरिएको र कर्णालीमा बिक्रीका लागि वितरण शुरू गरिएको हो ।

पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) मा भिटानिम ‘ए’, भिटामिन ‘बी’, भिटामिन ‘बी २’, भिटामिन ‘बी ६’, भिटामिन ‘बी १२’, जिंक, आइरन, फोलिक एसिडलगायत शारीरिक र मानसिक स्वास्थ्यका लागि आवश्यक अन्य तत्व मिसाइएको छ ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कार्यक्रमको शुभारम्भसमेत गरिएको छ । मिलमा कुटेर प्याक गरेको अर्थात् अरू कुनै तत्त्व नमिसाइएको चामल खाँदै आइरहेकाले नागरिकको भान्सामा केही फेरबदल ल्याउन पोष्टिक तत्व स्तरोन्नति गरिएको चामल’ (फोर्टिफाइड राइस) कम्पनीले बिक्री शुरू गरेको खाद्य व्यवस्था तथा व्यापार केन्द्रका बिक्री–वितरण विभागका प्रमुख भीम थापाले जानकारी दिए ।

उनकाअनुसार विभिन्न सूक्ष्म पोषण तत्त्व मिसाइएको चामल हाम्रो भान्सामा पाक्नेछ । ठुला मिलहरूबाट आठथरी सूक्ष्म पोषण तत्त्व मिसाएर चामल उत्पादन थालिएको र कम्पनीले उपलब्ध गराइरहेका कर्णालीका हिमाली तथा पहाडी जिल्लाहरूमा सुर्खेतबाट पठाउन शुरू गरिएको थापाले बताए ।

पहिलो चरणमा कर्णालीका जिल्लाहरूमा वितरण गर्ने गरी ५ सय मेट्रिक टन चामल सुर्खेत पठाइसकिएको छ । उत्पादनको पहिलो चरणमा कर्णाली प्रदेशमा र क्रमशः अन्य प्रदेशहरूमा उत्पादन तथा वितरण सुरु गर्ने विभागका प्रमुख थापाले जनाए ।

पूर्वसम्झौता तथा योजनाअनुसार भदौसम्म कर्णाली प्रदेशमा यस्तो चामल वितरण गरिसक्ने केन्द्रको तयारी छ । विशेष प्रविधिबाट सूक्ष्म पोषण तत्व चामलमा मिसाउने प्रक्रिया हुन्छ ।

प्रविधि र भिटामिन एकैपटक व्यवस्थापन गर्न नसकिएकाले सुरुमा कर्णाली प्रदेश र क्रमशः अरू प्रदेशहरूमा वितरण गर्ने कार्यक्रम बनाइएको प्रमुख थापाले जानकारी दिए ।

विभिन्न अध्ययनले नेपालीहरूको स्वास्थ्यमा सूक्ष्म पोषण तत्वको कमी भएको पाइएपछि सरकारले चामलमा त्यस्ता तत्व मिसाएर बिक्री गर्ने कार्यक्रम अघि सारेको हो ।

नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को रिपोर्टअनुुसार कर्णाली, मधेस, लुम्बिनी र सुुदूरपश्चिममा यी सूक्ष्म पोषण तत्व बढी कमी भएको पाइएको छ । रिपोर्टअनुसार नेपालमा प्रजनन उमेर समूहका ३४ प्रतिशत महिला, ४३ प्रतिशत पाँच वर्षमुनिका बालबालिका र ३९ प्रतिशत किशोेरीहरूमा रक्तअल्पताको समस्या पाइएको छ । सर्वेक्षण अनुसार ५४ प्रतिशत महिलाले अस्वस्थकर खाना खाएको पाइएको छ ।

पोषण तत्त्वको कमीका कारण २५ प्रतिशत बालबालिकामा पुड्कोपना देखिएको छ । पोषण शाखाका प्रमुख थापाका अनुसार यी तत्वको कमीले पुड्कोपना, रक्तअल्पता हुने, शरीरमा रोगसँग लड्ने प्रतिरक्षा क्षमता कमी हुने हुनाले त्यस्ता समस्या क्रमशः हटाउँदै लाने उद्धेश्य अनुरूप सरकारले चामलमा यी तत्वहरू समावेश गरेर मात्र बजारमा पठाउने प्रबन्ध मिलाएको हो ।

नेपालसहित बंगलादेश, भुटान, अमेरिका, कोस्टारिका, भारतलगायत देशहरूमा यी सूक्ष्म पोषण तत्व मिश्रित चामल उत्पादन र वितरण प्रक्रिया पहिला नै सुरु भइसकेको छ ।

तपाईको प्रतिक्रिया