सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते व्यक्तिको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बुधबार बिहान बागचौर नगरपालिका ५ बांगेलाखुरीमा ना ७ ख ९७८२ नम्बरको टिप्परलाई ओभरट्याक गर्ने क्रममा रा ४ प १४६७ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडि सवार बागचौर नगरपालिका १२ बाफुखोलाका ४६ वर्षीय वीरबहादुर ओली गम्भीर घाइते भएका थिए ।
सल्यान जिल्ला अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाले जानकारी दिए ।
उनका अनुसार घाइते ओलीको ढाड र शरीरमा चोट लागेको छ । मोटरसाइकल चालक र टिपर चालकलाई नियन्त्रणमा लिएको प्रहरीको जनाएको छ ।
युग संवाददाता । सल्यान । ९ फाल्गुन २०८०, बुधबार १६:३०