चन्दननाथ मन्दिरका कान्छा पुजारी हुन्ः रमेश


हिमा गाउँपालिका–४ सिम्तोलीका २४ वर्षीय रमेश न्यौपाने कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरमा मुख्य पुजारी छन् । उनी १७ वर्षको उमेरमै मन्दिरको पुजारी बनेका थिए ।

२०७३ सालमा एसईईको तयारीका लागि सदरमुकाम खलंगा आएका न्यौपाने २०७५ सालदेखि निरन्तर चन्दननाथको मुख्य पुजारीको रुपमा काम गर्दै आएका छन् । सुरुमा मन्दिरमा गाइवस्तु चराउने र जल ल्याउने काम गरिरहेका रमेशलाई उतिबेलाका मुख्य पुजारी नवराज अधिकारीले मन्दिरमा पूजाआजा गर्न सिकाएका थिए ।

‘पुजारी भन्ने बित्तिकै पाका पुस्ताको हुनुपर्ने मान्यता छ । यस्तो अवस्थामा एक बालकलाई पुजारी बनाएर सिंगो मन्दिरको पूजा गर्ने जिम्मेवारी पाउनु चानचुने कुरो होइन,’ उनले भने, ‘सानै उमेरमा पुजारी बन्ने मौका पाएँ । मन्दिरको मुख्य मुर्ति दत्रातयको पूजा गरिरहेको छु ।’
गुठी समितिले पनि मन्दिरको सुरक्षाको लागि सिसिटिभी जडान गर्नेदेखि प्रहरीको बिट राख्ने कार्य गरिदिएको छ ।

जसले गर्दा पनि रमेश निर्धक्क भएर मन्दिरमा पूजा चलाइरहेका छन् । उनी अहिलेसम्मका पुजारीहरुमध्ये सबैभन्दा कान्छा हुन् । त्यसैले पनि उनी आकर्षणको केन्द्र बनेका हुन् । आन्तरिक तथा बाहृय पर्यटक, भक्तालुदेखि मन्दिरमा चासोका साथ कुरा गर्छन् । चन्दननाथमा पुजारीको रुपमा पहिलो अवसर त सन्यासीले पाउने गर्छन् । उनीहरु नभएको खण्डमा विवाह नगरेका कुमारले पुजारीको काम गर्न पाउने मान्यता छ ।

त्यही अनुसार रमेश २०७५ मा चन्दननाथ मन्दिरका पुजारी बनेका हुन् । अहिले चन्दननाथ भैरवनाथ मन्दिर परिसरमा गुरुकुल पाठशाला स्थापना गरेर पुजारी उत्पादन गर्न सुरु भएको छ । रमेशले पनि सुरुका केही दिन गुरुकुल पाठशालामा गएर पूजापाठको ज्ञान लिएका थिए ।
२०७३ मंसिर ११ गते चन्दननाथ मन्दिरमा मुर्ति चोरी भए । मन्दिरमा काम गर्ने जनशक्तिको अभाव थियो । पहिलेदेखि मन्दिर र धर्मकर्ममा विश्वास राख्ने उनले मन्दिरमै बसेर पढ्ने रहर गरे । उनले रहर मान्दैमा मन्दिरमा काम पाउने अवस्था थिएन ।

उनलाई पुजारी नवराज अधिकारीले मन्दिरमै राखेर काम लगाउन थाले । घरमा हुँदा दैनिक पूजाआजामा व्यस्त रहने भएकोले मन्दिरमा आएर पूजापाठ गर्नु उनको लागि खासै नौलो थिएन । रमेश बिहान ३ बजे उठ्छन् ।

मुर्तिहरु नुहाइधुवाइ र मन्दिर सफाइ गरेर ५ बजे बिहानीको आरती पूजा गर्छन् । भक्तजनलाई टीका लगाउने, भण्डार पकाउने, बिहान १० बजे भोक लगाएर दिउँसोको आरती गर्छन् । बेलुकी तीन बजे नुहाएर मन्दिर सफा गर्ने र बेलुकी ६ बजेदेखि पूजाआजामा व्यस्त हुन्छन् । कक्षा १२ सम्म पढेका उनी आफैले गुरुकुल शिक्षा पढेका थिए ।

चन्दननाथ मन्दिरको पुजारी भनेर सबैले सम्मान गर्छन् । राराताल घुम्न जाने पर्यटकहरु मन्दिरमा आएर उनको हातबाट टिका लगाउने गर्छन । उनी पनि यात्रा सफलताको कामना गर्दै आशिष दिइरहेका हुन्छन् । परिवारले भने उनलाई पुजारी नहोस् भन्ने चाहन्थे ।

पटक पटक घरमा जाँदा पुजारी नहुनु परिवारको दबाव झेलिरहनु पर्थ्यो । उनले भने,‘पुजारी भएको पाँच महिना पछि मात्र घरमा जानकारी दिए । परिवारबाट पुजारी छाडेर विहे गरेर घरजममा बस्न दबाव छ ।’ तर उनले मानिरहेका छैनन् ।गुठी समितिले उनको पारिश्रमिक मासिक २१ हजार रुपैयाँ तोकेको छ । मन्दिरमा उठेको सबै रकम गुठी समितिको खातामा जम्मा हुने गरेको छ ।

हरेक पूजामा उनले विश्वको कल्याण होस्, देशमा शान्ति होस् भन्ने कामना गरिरहेका हुन्छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थहरु सबैले मन्दिरमा आएर आदर सम्मान गरेको देख्दा काम गर्न झनै उत्साहित हुने गरेको उनको अनुभव छ ।
‘गुठी समितिले पुजारी बन्न पत्यायो । मैले पनि काम गर्न चाहे,’ पुजारी न्यौपानेले भने,‘मन्दिर धार्मिकस्थल हो । जहाज भक्तालु दर्शन गरिरहेका हुन्छन् । तर मन्दिर छेक्ने गरी बनाइएका संरचनाले शोभा हराएको छ ।’

उनले कालिका मावि तलिकुडुमा माध्यमिक शिक्षा अध्ययन गरेका थिए । पुजारी न्यौपाने कर्णालीको धार्मिक पर्यटन प्रभावकारी बनाउन सबैले हातेमालो गर्नुपर्ने बताउँछन् ।

गुठी समितिका कार्यालयका प्रमुख रत्नप्रसाद आचार्यले रमेश चन्दननाथ मन्दिरमा अहिलेसम्मकै कान्छो पुजारी भएको बताए । ‘मन्दिरका मुर्तिदेखि आसपासमा रहेका सबै सम्पत्ति पुजारीकै जिम्मेवारीमा छन्,’ उनले भने, ‘अहिलेसम्म मन्दिरमा राम्रो काम गरेर मन्दिरको विश्वासनीयता बढाउने काम गर्नुभएको छ ।’

तपाईको प्रतिक्रिया