ओम शाही।
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यी आयोजनाले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति हाँसिल गरेको छ । आर्र्थिक बर्ष २०७१÷०७२ बाट सुरु भएको आयोजना आगामी आर्थिक बर्ष २०८४÷०८५ सम्म सम्पन्न गरिसक्नु पर्ने कार्यदेश रहेको आयोजनाले हालसम्म ६५ दशमलव ६९ प्रतशत काम सम्पन्न गरेको छ ।
कुल ३३ अर्ब १९ करोड ६६ लाख लागतमा निर्माण हुने आयोजनाले ५७ दशमलव ७८ प्रतिशत वित्तिय प्रगतिसमेत हाँसिल गरेको छ । यो बार्षिक लक्ष्यको तुलनामा चालु आर्थिक बर्षको माघ मसान्तसम्म ३३ दशमलव ३७ प्रतिशतले बढी हो । स्वीकृत गुरुयोजना बमोजिम कुल लागत ३३ अर्व १९ करोड ६६ लाख विनियोजित बजेटमा हालसम्म १५ अर्व ५० करोड ६ लाख खर्च भएको छ ।
बार्षिक बजेट एवं खर्चको अवस्था हेर्दा चालु आर्थिक वर्षमा विनियोजित कुल १ अर्व ५९ करोड बजेट मध्ये माघ माघमसान्तसम्म ४९ करोड ७१ लाख खर्च भएको छ । नेपाल सरकारको स्रोतमा बहुउद्देश्यीय जल स्थानान्तरण आयोजनाको रुपमा कार्यान्वयन प्रक्रिया अगाडी वढाइएको भेरी बबई आयोजनाको पहिलो चरणको काममा १२ दशमलव २० किलोमिटर लामो टनेल निर्माणको काम सम्पन्न भइसकेको छ ।
नेपालमै पहिलो पटक टनेल बोरिङ्ग मेशिन (टिबिएम) प्रयोग गरी परिक्षण गर्ने र उक्त प्रविधिको सफल प्रयोग पश्चात मात्र बाँध तथा पावरहाउस निर्माणका साथै हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकलको जडान एवं निर्माण कार्य गर्ने अवधारणा अनुरुप शुरुमा टनेल निर्माण कार्यको लागि १६ अर्ब ४३ करोड बराबरको अनुमानित लागत रहेको गुरुयोजना स्वीकृत भई कार्य अगाडी बढाईएको थियो ।
पहिलो चरणको टनेल निर्माणको काम सम्पन्न भएपछि हाल दोस्रो चरणका बाँध तथा पावरहाउस निर्माणका साथै हाईड्रोमेकानिकल र ईलेक्ट्रोमेकानिकलको जडान एवं निर्माण लगायतका थप निर्माणका कामहरु धमाधम भइरहेको आयोजनाले जनाएको छ ।
जसका लागि ३६ अर्ब ८० करोड ७७. दशमलव ४२ लाख स्रोत सुनिश्चित गरिएको छ । जसमा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनातर्फ ३३ अर्ब १९ करोड ६६ लाख र भेरी कोरीडर सिंचाइ विकास आयोजना तर्फ ३ अर्ब ६१ करोड ११ लाख बजेट रहेको छ ।
२० बैशाख २०८० मा संघीय सरकार मन्त्रिपरिषद्को निर्णयानुसार भेरी कोरीडर सिंचाइ विकास आयोजनालाई भेरी कोरीडर सिंचाइ तथा नदी व्यवस्थापन आयोजनाको रुपमा सुर्खेत गुर्भाकोटको बोटेचौरमा कार्यालय स्थापना गरेको छ ।
आयोजना अन्तर्गत सुर्खेतको भेरीगंगा नगरपालिका–११, को चिप्ले स्थित भेरी नदीमा करीब १ सय २० मिटर लामो ब्यारेजसहित डिसिल्टिङ्ग वेसिन र ४ दशमलव २० मिटर ब्यास भएको १२ दशमलव २ किलोमिटर लामो सुरुङ्ग मार्फत ४० घनमिटर प्रति सेकेण्ड पानी बबई नदीमा खसाल्ने आयोजनाको लक्ष्य छ ।
जम्मा ३ वटा २३ दशमलव ४ मेगावाट क्षमताका टर्वाईन मध्ये अतिरिक्त एक वटा टर्वाईन मर्मत संभारको बेलामा मात्र प्रयोग गर्ने र बाँकी दुई वटा टर्वाइनको नियमित संचालनबाट भेरीगंगा नगरपालिकाकै हात्तीखाल स्थित बबई नदीको किनारमा जम्मा ४६ दशमलव ८ मेगावाट विद्युत उत्पादन क्षमताको विद्युत गृह निर्माण हुनेछ ।
जसबाट बार्षिक करिब ४ सय गिगावाट आवर विद्युत उत्पादन हुने आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर पवन अधिकारीले बताए । आयोजना सम्पन्न भएपछि भेरी नदीबाट बबई नदीमा उपलब्ध हुने थप ४० घनमिटर प्रतिसेकेण्ड पानीबाट बबई सिंचाई आयोजनाको हेडवर्क्स उपयोग गरी बर्दिया र बाँके जिल्लामा करीव ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाहै महिना सिंचाई सुविधा उपलब्ध हुने जनाइएको छ ।
नेपालमा पहिलो पटक टिबिएम प्रयोग गरी सफलता पूर्वक सुरुङ्ग निर्माण भएको यस आयोजनाबाट यस्तै प्रकृतीका अन्य आयोजनाहरुको अध्ययन, अनुसन्धान र कार्यान्वयन भई समग्र नेपालमा नै प्रविधि विकासमा ठूलो फड्को मार्ने अपेक्षा राखिएको छ । जसको फल स्वरुप हाल ‘सुनकोशी– मरिन डाईभर्सन बहुद्देश्यीय आयोजना’ कार्यान्वयनमा आईसकेको छ ।
यी हुन् दोस्रो चरणमा निर्माण हुँदै गरेका काम
पहिलो चरणमा आयोजनाको सुरुङ्ग मार्ग निर्माणको काम सम्पन्न भएपछि हाल दोस्रो चरणमा बाँध निर्माण स्थल चिप्लेमा हेडवक्स निर्माण कार्य जारी छ । जसअन्तर्गत जम्मा ६ वटा वे मध्ये २ वटा वे निर्माण अन्तिम चरणमा रहेको र बाँकि ४ वे निर्माणका लागि नदी फर्काउने तयारी भईरहेको आयोजनाका सूचना अधिकारी अधिकारीले बताए ।
हेडवक्स साईट चिप्लोमा स्थित छिन्चु जाजरकोट सडक खण्डको डाइभर्सन सडक निर्माण सम्पन्न भएको भने, चिप्ले–खोल्सी डाइभर्सन निर्माणमा पहिलो चरणको काम सम्पन्न भई दोश्रो चरणको कार्य सुचारु रहेको आयोजनाले जनाएको छ ।
पावर हाउस निर्माण स्थल हात्तिखोलामा स्लोप प्रोटेक्सनको कार्य अन्तिम चरणमा रही फाउण्डेशसन निर्माण कार्य सुचारु भएको छ । यस्तै, कोफर्ड ड्याम, एंकर ब्लक निर्माण, सर्जसाफ्टका लागि नालासहितको पहुँचमार्ग, स्लोभ संरक्षणका लागि ढलान कार्य सम्पन्न भई साफ्ट खन्ने तयारी गरिएको छ । साथै पावरहाउस स्थल हात्तीखोलामा क्रसर प्लाण्ट स्थापना भई आयोजनालाई आवश्यक पर्ने निर्माण सामाग्री उत्पादनको अन्तिम अन्तिम तयारी छ ।
त्यस्तै, हाईड्रोमेकानिकलतर्फ हेडवक्समा २ वेको पिलर डिएफ स्टिल लाइनिङ्ग गर्ने कार्य अन्तिम चरणमा रहेको छ भने, यस अन्तर्गत निर्माण गरिने विभिन्न संरचनाहरुको डिजाइन तथा रेखाङ्कनहरु स्वकृतिको काम धमाधम भईरहेको आयोजनाले जनाएको छ ।
इलेक्ट्रोमेकानिकल निर्माण कार्य अन्तर्गत टरबाइनको नमुना टेष्ट सम्पन्न भएको छ, विभिन्न महत्वपूर्ण उपकरणहरुको डिजाईन स्वीकृति तथा केहि स्विकृतीका क्रममा रहेका छन्, भने केहि उपकरणहरुको डिजाइन भईरहेको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
बाँकी जग्गाको मुआब्जा, दुई सिफ्टमा काम
आयोजनामा जग्गा प्राप्तीका लागि मुअब्जा निर्धारण समितिबाट दररेट निर्धारण भई रैकर जग्गाको हकमा ८ दशमलव ११४ हेक्टर जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न भएको छ । झण्डै १० दशमलव ५९ हेक्टर जग्गा प्राप्तिका लाग िसूचना प्रकाशन भइ अन्तिम भेरिफिकेसन सम्पन्न भइ प्राप्तीको चरणमा रहेको छ ।
बबई मानखोला डाइभर्सन आयोजना अन्तर्गत बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको कोर क्षेत्र भएर जाने हुँदा सोको विस्तृत सम्भाव्यता अध्ययन कार्यका लागि बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जसँगको समन्वयमा सम्भाव्यता अध्ययनको फिल्ड कार्यहरू सुचारु रहेको छ ।
त्यस्तै, अनुकुल मौसम रहदा निर्माण स्थलमा दुई सिफ्टमा काम भईरहेको आयोजनाले सामाजिक विकास तथा वातावरणीय सुधार कार्यक्रम अन्तर्गत विभिन्न प्रभावित क्षेत्रमा भएका माग तथा आवश्यकताका आधारमा विभिन्न कार्यहरुसमेत गर्दै आएको छ ।
युग संवाददाता । सुर्खेत । ६ फाल्गुन २०८०, आईतवार १८:५५