गत कात्तिक १७ गते गएको भूकम्पका कारण क्षति पुगेको जाजरकोट भेरी नगरपालिका–२ पोख्राका बासिन्दालाई डस्ना, ब्ल्याङ्केट लगायतका सामान हस्तान्तरण गरिएको छ ।
प्रारम्भ नेपाल नामक सामाजिक संस्थाले भूकम्पपीडितलाई जाडोबाट जोगिन न्यानो, डस्ना, ब्ल्याङ्केट, सिरानी लगायतका सामान हस्तान्तरण गरेको हो ।
उक्त नगरपालिकाका बासिन्दालाई सिंगापुर रेडक्रसका नेपाल प्रतिनिधि तथा प्रारम्भ नेपालका अध्यक्ष कल्पना क्षेत्री, नेपाल पत्रकार महासङ्घ काभ्रे शाखाका अध्यक्ष बद्रीराज तिमल्सिना, जाजरकोट पत्रकार महासङ्घका पूर्व अध्यक्ष जनक केसी, स्थानीय जनप्रतिनिधिहरूले उक्त सामान हस्तान्तरण गरे ।
जाजरकोटका चार सयभन्दा बढी परिवारलाई उक्त सामग्री उपलब्ध गराएको संस्थाका अध्यक्ष क्षेत्रीले जानकारी दिए ।
सन् २०१२ मा सामाजिक कामकै लागि स्थापना भएको संस्थाले २०७२ को भूकम्पदेखि, बाढीपहिरो, कोभिड लगायत विभिन्न दैवी प्रकोपका बेला नागरिकको बास, गाँस, कपास, स्वास्थ्य, शिक्षा लगायतको समस्यामा साथ सहयोग गर्दै आएको छ ।
स्थानीय ८० वर्षीया जैसरा शाहले भने, ‘भूकम्प जाँदा जेठो छोराको घरमा थिए । दुई महिनासम्म भागेर घर बाहिरै पालमा बस्यौ । चिसो बढ्यो बाच्नका लागि फेरि त्यही चर्केको घरभित्र बस्न थाल्यौ । यो संस्थाले मात्र प्रत्येक घरलाई पुग्नेगरी न्यानो ओढ्ने ओछ्याउँने दिएकोमा धन्यवाद दिन्छौँ ।’
भेरी नगरपालिका–२ स्थित पोख्रा र आसपासमा त्यस्तो समस्या कम भए पनि दलित, जनजातिलगायतको बाहुल्यता भएको स्थानमा जिविको पार्जनमा समेत निकै समस्या रहेको छ ।
युग संवाददाता । जाजरकोट । २८ माघ २०८०, आईतवार १६:५८