चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्वारा सञ्चालित जुम्लाको अर्गानिक मिनी मार्केटबाट एकै वर्षमा एक करोड बढीको अर्गानिक वस्तु बिक्री भएको छ । मिनी मार्केटले गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै एक करोड रुपैयाँ बराबरको अर्गानिक वस्तु बिक्री गरेको हो ।
जुम्लामा उत्पादन हुने मार्सीधानको चामल, सिमि, चिनो कागुनो, गहत, स्याउका चाना, दाँते ओखरलगायतका विभिन्न अर्गानिक वस्तुको प्रवर्द्धन तथा बजारीकरणमा मिनी मार्केटले जोड दिँदै आएको छ । विगतमा फाट्टफुट्ट रूपमा बिक्री गरे पनि ३ वर्ष यता अर्गानिक मिनी मार्केट सञ्चालन गरेपछि लेवलिङ प्याकेजिङ तथा ग्रेडिङ गरिएको अर्गानिक वस्तु जुम्ला आउने पर्यटकसँगै नेपालका विभिन्न ठाउँमा बिक्री हुन थालेको मिनी मार्केटका व्यवस्थापक ऋषिराम पाण्डेले बताए ।
उनले भने,‘अर्गानिक मिनी मार्केट सञ्चालन गरेको २÷३ वर्ष भयो । पहिलो वर्षमा जुम्ला आउने पर्यटकको माग बढेपछि पु¥याउन सकेनौं । गत वर्षमात्रै जुम्ला र सुर्खेतबाट एक करोड रुपैयाँ बरारको अर्गानिक वस्तु बिक्री गरेका छौं । जसमध्ये जुम्ला मिनी मार्केटबाट २२ लाख र सुर्खेत अर्गानिक पसलबाट ६ लाख खुद आम्दानी भएको छ । माग बढ्दै गएको छ । तर उत्पादन अपेक्षित छैन ।’
जुम्ली रैथाने वस्तुको माग बढ्दै गएकोले यो वर्ष मात्रै एक करोड ३० लाख रुपैयाँ बराबरको स्याउका चाना, मार्सीचामल, सिमि,ओखर, गहत, चिनो कागुनो, महलगायतका अर्गानिक वस्तु मौज्दात राखिएको व्यवस्थापक पाण्डेले जानकारी दिए । बजार अभावमाा लोपोन्मुख भएको जुम्ली रैथानेबालीको प्रवर्द्धन गर्न मिनी मार्केट सञ्चालन गरिएको हो ।
व्यवस्थापक पाण्डेका चन्दननाथ सहकारीमा करिब १९ हजारबढी महिला सदस्य रहेका छन् । उनीहरुले उत्पादन गरेका सबै कृषि वस्तुलाई मिनी मार्केटले नगद दिएर खरिद गर्दै आएको छ । नगद नलिने सदस्यले आफ्नो खातामा बचत समेत गर्छन् । उत्पादित सवै वस्तुको बिक्रीबाट हातमै नगद पाईने भएपछि सहकारीका सदस्य कृषिमा समेत हौसिएको उनको भनाइ छ ।
मिनी मार्केटमा सहकारीका सदस्यवाहेक अन्यले पनि कृषि वस्तु ल्याउन थालेका छन् । विगतमा जुम्लामा आउने पर्यटकलाई स्वाद चाख्न वा उपहारको लागि जुम्ली मार्सीचामल, सिमि खोजे पनि हत्तपत्त भेटिदैन् थियो । तर मिनी मार्केट सञ्चालनपछि जुम्ला आउने पर्यटकलाई रैथाने वस्तु किन्न समेत सहज भएको छ । मिनी मार्केट बाहेक अर्डर आएको खण्डमा नेपालका कुनै पनि जिल्लामा पठाउने व्यवस्था गरिएको छ ।
पर्यटकको आर्कषण बढ्दो
स्वास्थ्यका लागि लाभदायिक र स्वादिष्ट हुने भएकाले जुम्ली रैथाने कृषि वस्तु जुम्ला आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । उत्पादन घटे पनि एकै वर्ष करोडबढीको रैथानेवस्तु बिक्री हुनुले जुम्लाको अर्गानिक वस्तुप्रति पर्यटकको आर्कषण बढ्दै गएको हो । दशैं तिहार, नयाँ वर्षको समयमा मात्रै १५ देखि २० लाखसम्मको वस्तु बिक्री हुने गरेको मिनी मार्केटले जानकारी दिएको छ । गत वर्ष मात्रै २५ सय केजी दाँते ओखर बिक्री भएको छ ।
पर्यटकको माग अनुसार उत्पादन नभएपछि सहकारीका सदस्य र अन्य किसानलाई उत्पादनमात्रै गर्न भनेको व्यवस्थापक पाण्डेले बताए । ठोस नीतिकै अभावले मार्सी फल्ने फाँटमा खण्डीकरण बढेको छ । मनपरि घरजग्गा कारोबार उस्तै बढेको छ । खेतीयोग्य जमिन मासिँदै गए पनि स्थानीय तह भने मौन छ । कृषिमा प्राथमिकता र किसानलाई प्रोत्साहन तथा उत्पादनका आधारमा अनुदान दिन सकेको छैन । जसका कारण रैथाने अन्न उत्पादन घट्दै गएकोले त्यसतर्फ सरकारको ध्यान जानुपर्नेमा किसान अर्जुन बुढा बताँउछन् ।
युग संवाददाता । जुम्ला । २८ माघ २०८०, आईतवार १४:०७