कालिकोट पचालझरना गाउँपालिकाले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
२७ माघमा बसेको गाउँ कार्यपालिकाको बैठकले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि २०५२ साल फागुन १ गते सुरु भएको महान जनयुद्धको स्मरण र सम्मान गर्न उक्त दिन विदा दिने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राम बहादुर भण्डारीले आइतवार जारी गरेको विदा सम्बन्धि सार्वजनिक सूचनामा लेखिएको छ ‘महान जनययुद्धको स्मरण र सम्मानमा फागनु १ गते गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, विद्यालय तथा संघ संस्थाका कार्यालयहरुमा एक दिनको लागि विदा रहेको सबैमा यो सूचना जारी गरिएको छ ।’
माओवादी जनयुद्ध कालको आधार इलाका भनेर चिनिने यो गाउँपालिकामा अहिले स्थानीय पाठ्यक्रममा माओवादी जनयुद्धको विषयमा पनि पढाई हुदै आएको छ ।
यता ‘जनयुद्ध दिवस’को अवसरमा सरकारले दिँदै आएको सार्वजनिक बिदाको निर्णय सर्वोच्च अदालतले बदर गरिदिए पछि माओवादी आधार इलाका भनेर चिनिने स्थानहरुमा स्थानीय सरकारहरुले उक्त दिन विदा निर्णय गर्दै आएका छन् ।
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गतेको सम्झनामा सरकारले गत वर्षदेखि सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
युग संवाददाता । सुर्खेत । २८ माघ २०८०, आईतवार १३:१४