शहिद रेग्मीको सपना, संघर्ष र बलिदानी

नविन रेग्मी/सुर्खेत
जनताको हक र हितको लागि निस्वार्थ भावनामा जीवनलाई समान्य ढंगबाट बुझ्ने ब्यक्ति संसारमा कमै जन्मने गर्दछन । त्यसै मध्येका एक महान सुपुत्र हुन शहिद मयाराम रेग्मी जसले आफ्नो मातृभुमि, देश र जनताको समर्पणमा जिवन मरणको लडाँईलाई सर्हष स्विकार गरे र अन्ततः ब्यबस्था परिवर्तनको लडाईमा मृत्यु स्विकार गरे तर हारेनन् ।

बरु इन्कलाबको अभियानलाई थप घनघोर बनाउँदै लगे, डर, धम्की, यातना, पिडा र प्रलोभनलाई प्रास्त गर्दै अघि बढे तर स्वार्थसंग सम्झौता गर्न कहिल्यै जानेनन् । रत तत्कालिन निरंकुश जहाँनिया राणा शासनको जगमा टेकेर बस्ति तहसम्म निर्दोष नागरिकको भोक, निद्रा, लुट्न पल्केका जहाँनिया भुरे, टाकुरे समेतलाई ठेगान लगाउँदै हिडेका रेग्मी प्रजातान्त्रिक लान्दोलनका एक महान योद्धा बने ।

ब्यक्तित्व चिनारी
शहिद मयाराम रेग्मीको जन्म वि. सं. १९८५ साल फाल्गुन ०३ गते तत्कालिन कटिदरा मेहेल्तोली पञ्चायत हाल भगवतीमाई गाउँपालिका–३ दैलेखमा भएको थियो । बुबा लालमणि रेग्मी र आमा झुपा रेग्मीका जेष्ठ सुपुत्र मयाराम सुविधा सम्पन्न मुखिया परिवारका एक आधार स्तम्भ थिए ।

सानैदेखि तिक्ष्ण बुद्धिका रेग्मी पारिवारीक र सामाजिक विषय वस्तुहरुमा पौढहरु सरह सहभागिता देखाउने, निर्णायक भूमिकामा अग्रसर हुने जस्ता विशेषताले भरिपूर्ण भएकै कारण छोराको ब्यबहारबाट निकै प्रभावित भएर उनका पिता लालमणिले गुरुकुल माध्यमबाट भएपनि औपचारिक शिक्षाको लागि सबै प्रबन्ध गरिदिनु भएको थियो ।

बुवाको अथक प्रयास र आफ्नो इमान्दार अभ्यासबाट गुरुकुल शिक्षा हाँसिल गर्नुभएका शहिद रेग्मी परिपक्क हुँदै गएपछि समाजमा आफुसरह सबैले शैक्षिक अवसर किन पाएनन् ? यदि सबैले यो अवसर पाएको भए के हुन्थ्यो होला ?

जस्ता विषयमा आफ्नै परिवार भित्र प्रश्नहरुको उत्तर खोज्न थाल्नुभयो र कालान्तरमा समान शैक्षिक पहँुचको पक्षमा वकालत गर्दै तत्कालिन ब्यबस्थाका विरुद्ध जागरण अभियान नै सञ्चालन गरेको तथ्य उहाँका दौतरी समूहले नै स्मरण गर्ने गरेका थुपै उदाहरणहरु यद्यपी पनि सुरक्षितनै पाईएका छन् ।

राजनितिक जीवन
शैक्षिक जागरण अभियानकै जगमा थप मजबुत बन्दै गएको राजनितिक चेत संगै तत्कालीन युवा बर्गले थपिदिएको साथ र आत्मिक साहानुभूतिनै उहाँका लागि मजबुत उर्जा बन्यो । फलतः बि.सं. २००४ सालदेखि नै तत्कालीन राणाशासनको विरुद्धमा स्थानीय मुखिया र जिम्वालसंग थालिएको औपचारिक संघर्षले थप राजनैतिक स्वरुप ग्रहण गर्दै आयो ।

त्यपछि भने दिन दुई गुणा र रात चौगुणाका दरले थुपै चुनौतिका चँङ्गुलहरु झेल्नु पर्ने स्थिती थपिँदै गयो र तत्कालिन ब्यबस्थाका पक्षपाति कुल घरानकै मुखिया र जिम्वालहरुनै नै रेग्मीका लागि प्रधान वर्ग शत्रु बन्दै गए । मुखिया र जिम्वालको निर्मम प्रहार र प्रलोभनहरु विच पनि आफु भित्र जागृत भएको सामाजिक न्यायको चेतलाई व्यबहारिक प्रयोजनमा केन्द्रिकृत गर्न लागि पर्नुभयो ।

तर राज्यको निर्मम निर्दयी र अत्याचारी दमनका विच जारी सिङ्गो ब्यवस्थाका विरुद्धको लडाई सिमित साधन, स्रोत र सहकार्यबाट धेरै लामो समय टिक्न नसक्ने होकि भन्ने चिन्तामा रहनुभएका उहाँ राजनैतिक शक्ति सिर्जनाका लागि एकता र सहकार्यको खोजिमा रहनुभयो ।

फलतः समान सामाजिक तथा राजनैतिक उद्देश्यसहित राष्ट्रब्यापी आन्दोलनमा होमिएको निर्मल लामा (तत्कालिन दैलेख जिल्लाका वडा हाकिम) नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीसंग विशेष सम्झौतासहित वि.सं. २००८ सालमा राजनीतिक अभियानलाई एकिकृत गर्दै बामपन्थी राजनितिमा प्रवेश गर्नुभयो ।

तत पश्चात्त पार्टीको जनवर्गिय संगठन अखिल नेपाल किसान संघ कर्णाली प्रान्तको विशेष नेतृत्वमा रहेर पार्टी भित्र जिम्मेवार प्रभावशाली नेताको हैसियत कायम गर्नुभएका उहाँ संगठन विस्तारका काममा थप क्रियाशिल बन्दै जानु भयो । र कर्णालीमा कम्युनिष्ट विचारधाराको विजारोपणमा विशेष योग्दान दिनुभयो ।

मुखिया–जिम्वाल विरुद्धका घटनाक्रम
१) जग्गाको कर उठाउने क्रममा तत्कालिन पञ्चायतका कर्मचारीले रु.१।– का दरले उठाउनु पर्ने कर रु.५।– का दरले उठाएको पाईएपछि कर्मचारीको बिरुद्धमा यहाँकै नेतृत्वको समूहले कर्मचारीबाट असुलेको रकम फिर्ता गर्न लगाई माफी माग्न लगाउनु भएको थियो । भने कर्मचारी कर नै नउठाई जिल्लामा फर्केका थिए ।

२) २०१० सालमा मनघर (हाल भववतिमाई गाउँपालिका वडा नंं. ४ ) निवासी जङे दमाइलाई भैँसीले दुईटा पाडी पाएको निहुमा भैंसी जफत र धनीलाई रु. २०००।– जरिवाना तोकेको थियो । विषय थाहापाएपछि यहाँ सम्बन्धित ठाउँमा गएर मुलुकी ऐन २०१० मा भएको कानुनि ब्यवस्था बारे खोजिनिति सहित मुद्धा प्रक्रियामा गएपछि मुखिया–जिम्वाल भागेका थिए ।

३) वनमा भैंसी पाले वापतको जिम्वाल–मुखियालाई गोठाले दूध दिनु पर्ने प्रथाको अन्त्य गर्नुभएको थियो ।

४) उहाँले थाल्नु भएको अभियान आजित भएपछि अन्ततः जग्गाको कर उठाउने निहुमा जनता ठग्ने भ्रष्ट कर्मचारीहरु नै गाउँगाउँबाट लखेटिएका थिए ।

राजनीतिक जीवनमा संघर्ष
माथी उल्लेखित गतिबिधिबाट निकै आजित र आक्रोशित बनेका जिम्वाल–मुखिया र बडा हाकिमहरुको मुख्य निसानामा रहेका मयाराम रेग्मीलाई जिवन सुरक्षको चुनौति समेत बढ्दै गयो । भ्रष्ट कर्मचारीहरुलाई गाउँ निकाला अभियान थालेका रेग्मीपछि बडाहाकिम रङ्गनाथ जोशीको आदेशमा परिचालित टोलीको गिरफ्तारीमा परेपछि चार दिनसम्म गौडा घर (हालको प्रशासन कार्यालयमा) थुनिएका थिए ।

यसरी शोषक, सामन्ति, निरंकुश र ब्यभिचारी ब्यक्तिका विरुद्ध खरो उत्रिने र सर्वसाधारणलाई न्याय दिलाएरै छाड्ने मयाराम रेग्मी गिरफ्तारीमा परेको खबरले चारैतिर सन्नाटा छायो नागरिकको मनमा निराशासंगै निर्भिकता आवेग र आगोको ज्वाला जल्न थालेपछि गृहक्षेत्र कटिदरा हालको भगवतिमाई गाउँपालिका क्षेत्रबाट हजारौ शुभेच्छुक सहितको विरोध रयालीले गिरफ्तारी फिर्ताको मुख्य माग सहित लगातार एक दिन, एकरात गौडाघर (हालको प्रशासन कार्यालय) घेरेपछि बाध्य भएर तत्कालिन बडा हाकिम रङ्गनाथ जोसीले गिरफ्तारी फिर्ता घोषणा गरेका थिए ।

तत्कालिन विश्व राजनितिको नौलो आयामका रुपमा रहेको चिनियाँ कम्यूनिस्ट ब्यवस्था तत्कालिन प्रभाव बारे तिब्र चासो राख्ने मयाराम अध्ययनका लागि भन्दै वि.सं.२०१६ सालमा चिनमा समेत जानुभयो । तर उहाँ चिन पुगेको बारे कर्णाली भेगमा ब्यापक चर्चाचली सकेको थियो । चिन अध्ययन भ्रमण सकाएर उतैबाट घरदैलो कार्यक्रमका लागि हुम्ला केन्द्रित हुनु भएका उहाँ वि. सं. २०१६ साल जेठ २७ गत्ते पुनः निरंकुश शासकको गिरफ्तारीमा पर्नुभयो ।

ब्यबस्था विरुद्ध गतिविधि चलाएको आरोपमा वि.सं. २०१६ जेठ ३० गत्ते देखि वि.सं. २०१७ कात्तिक २४ सम्म जुम्ला जेलको १८ महिने लामो कष्टकर जेलजिवन झेलिरहेका उहाँलाई पछि बुबा लालमणि रेग्मी, आमा झुपा रेग्मी र (अंकलका छोरा) दाई चन्द्रलाल रेग्मी दैलेखबाट जुम्ला जेल पुगेर जरिवाना बापतको नगदी रकम जेलमा बुझाएपछि २०१७ साल कार्तिकमा जेल मुक्त हुनुभएको थियो ।

प्रजातन्त्र पुनस्र्थापनामा योग्दान
कात्तिकमा जेलमुक्त भए लगत्तै दैलेख आएका रेग्मी पार्टी नेतृत्वको सम्पर्कमा गएर फेरी निरंकुशताको समुल अन्त्य र प्रजातन्त्रको स्थायीत्वका लागि पार्टी संगठनमा केन्द्रित भैरहेकै बेला अर्थात वि.सं. २०१७ साल पौष १ गते राजा महेन्द्रले दलमाथी प्रतिबन्ध लगाए ।

देशमा निर्वाचनबाट बनेको विपि कोइराला नेतृत्वको पहिलो सरकारलाई अपदस्त गरे । राजनितिक दलहरुमाथी प्रतिबन्धको घोषणा गरे । जसका विरुद्ध देशभर आन्दोलन भयो । सोहि आन्दोलनको क्रममा दलीय प्रतिबन्धका विरुद्ध संघर्षरत काँग्रेस र कम्यूनिस्टको संयुक्त मोर्चाको अग्रस्थानमा थिए ।

सहिद रेग्मीसमेत आबद्ध मोर्चाले कर्णाली क्षेत्रमा समेत दलीय प्रतिबन्धका विरुद्धको संघर्षलाई बढाउँदै लग्यो भने राज्य पक्ष पनि अभियानलाई दबाउने प्रयोजनाका लागि क्रुर र कठोर बन्दै गयो जसकारण सुर्खेतको गोठिकाँडा प्रहरी चौकी र संघर्षरत समूहवीच झडप भयोे र झडपपछि उक्त प्रहरी चौकी समेत संघर्षरत समूहको कब्जामा परयो, प्रहरी जवान चन्द्र बहादुर शाहीको मृत्यु समेत भयो । रेग्मी सम्मिलित संघर्षरत समूह तत्कालिन पक्षको मुख्य निशाना रहन थाल्यो ।

त्यसपछि तत्कालिन राज्य पक्षबाट राजनैतिक पार्टीका कार्यकर्ता उपर हत्या, हिंसा, लुटपाट र ब्यापक धरपकडको कालो, जर्जर यात्रा सुरुभयो । संर्घषलाई सफलता ठान्ने तत्कालिन नेतृत्वकर्ता मयाराम रेग्मी लगायत सयौँ परिवर्तनकारी योद्धाहरु भने भूमिगत रुपमै राजनैतिक अभियानमा केन्द्रित भईरहनुभयो ।

अन्तिम गिरफ्तारी
प्रजातन्त्र प्राप्तीका खातिर संघर्षरत रेग्मी शत्रुको निशानाबाट कयौँ पटक बाँच्न सफल भएपनि बि.स. २०१७ साल पौष २४ गतेको मिर्मिरे मात्रै उहाँका लागि अन्तिम स्वतन्त्र जीवन बन्यो र उहाँ चौराठा हाल (नौमुले गाउँपालिका ८ दैलेख) बाट गिरफ्तारीमा पर्नुभयो । गिरफ्तार गरी दैलेख गौडाघर (हालको प्रशासन कार्यालय) को हिरासतमा राखेर आत्मसमर्पणका लागि तकालिन राज्य पक्षले डर, धम्की मात्रै दिएन बरु कयौँ प्रलोभन समेत दिँदै सर्त माने सकुशल छोडिदिने बाचासमेत गरायो ।

जसअन्र्तगत दलिय प्रतिबन्धको विरुद्धमा नलागेको र प्रजातन्त्रको पक्षधर पनि नभएको कुरामा मन्जुरभई गाउँका मुखिया–जिम्वालहरुको हुकुमलाई विना प्रतिवाद मान्न तयार हुने कागजमा सहमत भए छोडिदिने नत्र थप कठोर यातनासहितको भयानक मृत्यु स्विकार्न तयार हुनुपर्ने सर्त अगाडि सारियो ।

कठोर यातना
उल्लेखित सर्तहरुलाई ठाडै अस्विकार गर्दै भन्नुभयो ‘गाउँका मुखिया–जिम्वालहरुको हुकुमी शासन, मुलुकभरको निरंङ्कुशताको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना नभएसम्म अन्तिम सास रहुन्जेल लडिरहन्छु यो ब्यबस्था सिद्धिएको देख्नु नै मेरो अन्तिम सपना हो ।’ रेग्मीका यस खाले अभिव्यक्तिबाट झन आक्रोशित हँुदै पिडकहरुले थप यातना सुरुगरे हातका औला हँुदै हत्केला खुट्टा र पैतलामा समेत एक–एक गरी किलाठोक्दै आश्वासन दिँदै धम्काउँदै अस्वभाविक हातपात, अंगछेदन र मलमुत्र खुवाउने जस्ता यातनाका अमानविय श्रृङ्खला चलाई रहे ।

तर रेग्मीले ‘गाउँका मुखिया–जिम्वालहरुको हुकुमी शासन, मुलुकभरको निरंकुशताको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना नभए सम्म अन्तिम सास रहुन्जेल लडिरहन्छु यो ब्यबस्था सिद्धिएको देख्नु नै मेरो अन्तिम सपना हो ।’ भन्ने तर्कलाई शारिरीक शक्ति सन्तुलनको अन्तिम अवस्थासम्म पनि छोडेनन बरु ब्यवस्था विरुद्धको इन्कलाप दोहोरयाईरहे ।

विभत्स हत्या
तँ आज मर्दैछ्स जीवनको अन्तिममा भन्नु केहि छ भने भन तेरो खबर घरमा पुरयाइ दिन्छौ ! पिडकहरुको यो निर्देशनको बदलामा मयाराम रेग्मीको जवाफ थियो ‘मलाई न्यायको पक्षमा लडेर मर्नुमा कुनै डर छैन यसबाट गद्धारहरु हो तिमिहरु किन आत्तिएका छौं मेरो खबर त गाउँका मुखिया–जिम्वालहरुको शासनबाट आजित जनताले पु¥याउने नै छन तिमीहरुले दुख पाउनु पर्दैन बरु मलाई मारिदिए पुग्छ ।’

जुन दिन विं.सं २०१८ साल माघ २४ को दिन हत्या हुनसक्ने सूचना पाएकै कारण गौडाघर आसपास ५/७ मिटर क्षेत्र वरपर आफन्त शुभचिन्तकहरुको बाक्लो उपस्थिति थियो तर शोकमग्न मुद्राको उपस्थिति विच चारै तिर सन्नाटा थियो । ठिक त्यहि बखत गौडाघर बाहिरपट्टी कर्मचारीहरुको चहलपहल बढ्यो आसपासका मान्छे भगाउन लाठिसहित निस्किएका केहि ब्यक्तिहरुले आदेश दिए ।

त्यस लगत्तै दैलेख गौडाघर (हाल जिल्ला प्रशासन कार्यालय) को माथिल्लो तला पूर्व २ नम्मर झ्यालबाट केहि चिजबस्तु खाँदेर राखे जस्तो ठुलो जुटको बोरा जमिनतिर खस्यो । जुन जुटको बोरामात्रै थिएन त्यहाँ त महिनौको यातनाले अर्धमृत मयाराम रेग्मीको शरीर बडा हाकिम रङ्गनाथ जोशीको आदेशमा संधैका लागि जमिनमा फालिएको थियो । (स्रोत : घटनाका जानकार र प्रत्यक्षदर्शी उहाँकै बहिनि तुलसा रेग्मी भट्टराई र ज्वाई स्वर्गिय राम प्रसाद भट्टराई ।)

शहिद घोषणामा राज्यको वेवास्था
शहिद मायाराम रेग्मीका सहोदर भाई लिलाराम रेग्मी निकट परिवारका सवै सदस्यहरु शहिद मयाराम रेग्मीको त्याग बलिदानि बारे राम्रैसंग जानकार रहेपनि राजनीतिक सक्रियतामा नरहेकै कारण उनीहरुले शहिद रेग्मीको न्यायका लागि भरपुर सक्रियता जनाउन नसकेको पाईएको छ । तर पछिल्लो समय जागिरे जीवनबाट निवृत्त शहिद रेग्मीका भाई लिलारामका कान्छा छोरा मणिराज रेग्मी भने राष्ट्रिय शहिद घोषणाको मुख्य मागसहित स्वर्गिय रेग्मीको सामाजिक न्याय, संघर्ष, त्याग जिवन सर्मपणको विषयलाई लिएर पछिल्लो समय खुलेरै वकालत गर्न थाल्नु भएको छ ।

मणिराज रेग्मी भन्नु हुन्छ ‘मेरो घरमा राजनीतिमा कोहि नभएको कारण यो अगाडी बढन सकेन २०५६ सालमा पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराई शान्ती समितिको अध्यक्ष भएको बेला राहत स्वरुप एक लाख प्राप्त भएको हो । म सानैदेखि घर बाहिर भएकोले अरुलाई भन्ने काम भयो तर कसैले गरेनन गरे त प्रतिष्ठान खोल्ने र रकम मागेर खाने काम गरे ।

बाटोको नामाकर गरे मध्य पहाडी लोकमार्ग गएपछि यो पनि ओझेलमा छ । म जिल्लामा आएदेखि ५ बर्ष भयो मेरो आफ्नो खर्च एक डेढ लाख भैसक्यो तर फाइल प्रशासनबाट अगाडी जाँदैन । ५ वटा सिडिओ फेरिए मेरो ठुलो बुबालाई शहिद घोषणा गर्ने सपना फेरिएन । एक फाइल मुख्यमन्त्री कार्यालयमा छ । हँुदैन पनि भन्दैनन्, काम पनि गर्दैनन् कसले किन रोकेको छ पत्ता लगाउन जरुरी छ ।

[email protected]

तपाईको प्रतिक्रिया