साहित्य नदी हो निर्बाध बग्न दिनुहोस्

पेशाले शिक्षक तथा सञ्चारकर्मी, साहित्यकार सुमित्रा सुमीज्यूको जन्म रसुवा भएको हो भने कर्मघर विदुर नगरपालिका–४ नुवाकोटमा रहेको छ । उहाँले साहित्यका विबिध बिधामा सशक्तरुपले कलम चलाउँदै आउनुभएको छ । नेपालका दर्जन क्रियाशील साहित्यिक संस्थाबाट सम्मानित भइसकेकी साहित्यकारले विश्व नेपाली नारी पदक–२०७१ पनि प्राप्त गर्नुभएको छ । साथै भारतमा रहेका क्रियाशील साहित्यिक संस्थाबाट पनि उहाँ सम्मानित हुनभएको छ । हालै मात्र नुवाकोटमा उहाँको नेतृत्वमा नुवाकोट साहित्य महोत्सव–२०८० सम्पन्न भएको छ । साहित्य संगम नुवाकोटकी अध्यक्ष समेत रहनुभएकी साहित्यकार सुमित्रा सुमीसंग हाम्रा सहकर्मी धिरेन अनुपमले गर्नुभएको भलाकुसारी ।

कविता

न झर्छ प्रेम आँसुमा न मुस्कुराउँदा हुने
न प्रेम पाउँदा भयो न यो गुमाउँदा हुने
करोड लाख मूल्यमा हिसाब छैन प्रेमको
पढेर पार पाउने किताब होइन प्रेम यो ।।

फराकिलो सदैव यो न साँघुरो छ विन्दुमा
नदी समुद्र छालमा न मिल्छ प्रेम सिन्धुमा
न लेख शब्द काव्यमा बयान हुन्छ प्रेमको
प्रमाण के गरी दिने हँुदैन साध्य प्रेमको ।।

खुला दबाब बाध्यता न प्रेम मार्ग बाधक ।
सफा विशुद्ध साधना सुधा न प्रेम साधक ।।
कमाल मोलको धनी रवाफ हुन्छ प्रेमको ।
सवाल मात्र भेटियो जवाफ छैन प्रेमको ।।

युगआह्वान दैनिकको जम्काभेटमा यहाँलाई स्वागत छ ?
हार्दिक धन्यवाद !

आफ्नो परिचय बताई दिनुस न ?
नमस्कार ! म सुमित्रा सुमी । जन्मघर रसुवा अनि कर्मघर नुवाकोट । पेशाले शिक्षक, साहित्यकर्मी ।

साहित्यमा यहाँ कसरी लाग्नु भयो ?
सुरुवातमा मेरी आमाको प्रेरणा त्यसपछि गुरुहरू त्यसपछि म बाँचेको हरेक पलहरू, परिस्थिति, परिवेश लगायत मलाई माया गर्ने तपाईहरूजस्ता शुभचिन्तकहरूको माया, सद्भाव र प्रेरणाले हो ।

साहित्य संगम नुवाकोटको अध्यक्ष र साहित्यिक अभियान्ता पनि हुनुहुन्छ । अर्कोतर्फ विद्यालय, सञ्चार र घरको काम पनि छ यी सबैकाम कसरी सम्भव तुल्याउनु भएको छ ?
तपाईंले भनेजस्तै मेरा सबै काम, कर्तव्य पूरा गर्दै साहित्यलाई समय दिईराखेकी छु । काम गर्नको लागि इच्छा हुनुपर्ने रहेछ । समय आफै हाम्रो दास बनिदिँदो रहेछ । मेरो अनुभव ! समय छैन भन्नू हरेक काम नगर्नका लागि बहना मात्र हो जस्तो लाग्छ । सबै कुरासँगै लैजानका लागि म भित्रको उच्च इच्छा र दृढ संकल्प अनि हरेक कामप्रतिको निरन्तरता हो ।

बाह्र महिना बाह्र गाउँपालिका साहित्यिक अभियान कहाँ पुग्यो ? कठिनाइका अनुभुती र सहयोग कसरी लिनुभएको छ ?
बाह्र महिना बाह्र पालिका अन्तर्गत ‘गाउँगाउँमा साहित्य’ ले ७ औँ शृङ्खला पूरा गरिसकेको छ । अब हामी दुप्चेश्वर गा.पा. मा जाने तयारी गरिरहेका छौँ । हरेक काममा सरलता, जटिलता दुबै हुने रहेछन् । जटिलताको सामना गर्दै कामलाई कामसँगै रमाइलोसँग जोडियो भने सहज हुने रहेछ । फेरि काम गर्दा कठिनाई नभए कामको मजा नै हुँदैन होइन र ? जे होस माया गर्ने सहयोग गर्ने सहयोगी मनहरू भेटिरहेको छु । सहज छ ।

नुवाकोट साहित्य महोत्सव पनि भर्खरै सम्पन्न गर्नुभएको छ र साहित्य महोत्सव गर्ने आँट कसरी आयो ?
संसारमा असम्भव केही छैन होला सायद ! जहाँ इच्छा त्यहीँ उपायहरू आइदियो । सबैको माया र साथ पाउँछु भन्ने विश्वास थियो म सँग ! सबैको साथ पाएँ, माया पाएँ, साहित्य संगम नुवाकोटद्वारा आयोजित ‘नुवाकोट साहित्य, संस्कृति तथा पर्यटन महोत्सव–२०८०’ असाद्यै भव्यताको साथ सम्पन्न भएको छ ।

केही समाजका अगुवा भन्नेले नै नुवाकोट साहित्य महोत्सवलाई असफल पार्न न्वारनदेखीको बल लगाएर ओट लगाउने हर्कत गरे भन्ने सुनिन्छ खास कुरा के होनी ?
खै यस्तो कुरा चाहिँ थाहा भएन मलाई । म अँध्यारो तिर फर्केर कहिले हेर्दिन सधैँ उज्यालो । खोजिरहेको हुन्छु कार्यक्रममा सबै माया गर्ने हौसला दिनेहरुको घुईचोमात्र देखेँ मैले । नेपालको ६८÷६९ जिल्लाबाट बरिष्ठ साहित्यकारहरूको उपस्थिति साहित्य महोत्सवको सफलताको केन्द्रबिन्दु हो । ‘सकारात्मक सोच सबै रोगको औषधी रहेछ’ सर । हृदयमा संधै सफा राख्न सकुँ, मस्तिष्क संधै सकारात्मक सोचले भर्न सकँु यत्ती हो ।

तपाईंको बिचारमा मञ्च बनाउन सजिलो रहेछकी रचना सुनाउन ?
सबैका सहज र असहज पाटाहरू हुन्छन् । मन्च नभए कस्लाई सुनाउने आफ्ना सृर्जना ? सुनाउजे सर्जक नभए मञ्च हुनुको मात्रै के अर्थ ? प्रकृतिलाई त पोखिएपछी मजा लिईदिने कोही चाहिन्छ भने सुनाउनेका लागि स्थान र स्रोता दर्शक चाहिएला नि होइन र ? लेख्नत कोठाम बसेर लेख्न सकिन्छ तर मञ्च बनाउन जहाँ पायो त्यहीँ पनि सकिँदैन । विबिध कठिनाईका बाबजुद पनि दुबै परिपुरक लाग्छन् ।

साहित्यलाई व्यापार बनाउन खोज्ने साहित्यकारलाई के भन्न चाहानुहुन्छ ?
सके गरी खानुहोस् साहित्यकारज्यूहरू तर भाषा, साहित्य अनि शब्द सिर्जना आफैमा बहुमूल्य छ । यसलाई तपाईं व्यक्तिगत रूपमा निश्चित मूल्य दिएर सिर्जनाको बहुमूल्यता नघटाउनुस भावनाको हत्या नगर्नुहोस्, साहित्य कसैको पेवा होइन । साहित्य नदि हो निर्बाध बग्न दिनुहोस् प्रकृति हो मुस्कुराउन दिनुहोस् ।

साहित्य कस्तो हुनुपर्छ जस्तो लाग्छ ?
साहित्य सरल भाषा शैलीको सबैले बुझ्न सक्ने र सबैको मन छुन सक्ने र मस्तिष्क हल्लाउन सक्ने हुनुपर्छ ।

पारिश्रमिकको नाउँमा कवि गजलकारहरुले तोकेर रुपैयाँको बार्गेनिङ गर्छन् भन्ने कुरा आयोजक संस्थाले सुनाउने गर्छन् तपाईंलाई यस कुराले कतिको प्रभाव पारेको छ । साहित्यमा बार्गेनिङ गर्ने कुरालाई लाई कसरी लिनुभएको छ ?
यस जिज्ञासालाई सायदमाथी नौ नम्बरको प्रश्नमा पनि मैले आफ्ना कुरा राख्ने प्रयत्न गरेको छु । अनि अर्को कुरा केही लेखकहरू जसले रचना सुनाएपछी पैसा दिनुपर्ने कुरा गर्नुहुन्छ । स्रोत हुने आयोजकले दिनुहोला त्यो फरक कुरा हो म चाहिँ व्यक्तिगत ऋण गरेर उहाँहरूको परिवार पाल्नका लागि कविता र कविता भन्ने मान्छे किन्ने आफ्नो क्षमता र अवस्था नभएको बताउँछु । साहित्य सिर्जनालाई पैसामा तुलना गर्नु मलाई उचित लाग्दैन ।

तपाईंको जीवनमा सबै भन्दा बढी खुसी र दुःखी भएको पललाई कसरी सम्झना गर्नु हुन्छ ?
हरेक मान्छेको जिन्दगी सुख, दुःख, खुशी, पीडा, आभाब, दबाब, प्रभाव, सद्भाव आदि मिसिएको महासागर हो । सुख, दुःख धेरै आए गए होलान् । अहिले म बाँचेको हरेक समय असाध्यै खुशीको समय हो । बितेका दुःखद पलहरू सम्झेर अब दुखी नबनूँ होला है । गुमाएको कुरा सम्झेर अझ पीडित हुनु भन्दा पाएकोमा खुशी हुन सक्नु र जान्नुपर्ने रहेछ ।

गजलको नाउँमा गैरबहर र बगरमा देखिएको बिबादलाई कसरी लिनुभएको छ ?
हरेक विषयमा तुकसहितको छलफल हुनुपथ्र्यो विवाद भन्दा पनि ! निष्कर्ष बिनाको जुँगाको लडाइँ ठीक लाग्दैन मलाई । रचनामा भाव अब्बल पक्ष हो भाब मर्न नदिउँ । रचना जिवन्त हुने लेखौं । बाजाबाज गरेर पाउने केही होइन आखिर जानेत खाली हातनै हो । हामी नरहे पनि गजल संधै, बाँची रहने लेखौंं । तर लेख्नेले हरेक बिधाको सैद्धान्तिक पक्ष पनि बुझेर रचना सिर्जना र साहित्यिक बिधालाई मर्न नदिए हुन्थ्यो जस्तो लाग्छ ।

प्रेम के हो ?
हरेक जीवित प्राणीको ज्यूने एउटा बलियो आधार हो ।

साहित्यमा राज्यले के गरोस भन्ने लाग्छ यहाँलाई ?
साहित्यिक दुनियाँ राज्य छ र जस्तो लाग्छ मलाई चाही । राज्य भएको भएको भान हुन पाएको भए पो अपेक्षा गर्नु ? साहित्य विकासको लागि राज्य छ भने हाम्रो कला, भाषा साहित्य जोगाउनेतिर राज्यले काम गरोस् , शुभकामना ।

साहित्य महोत्सव गर्ने रहर म¥यो कि अझै जुनुन बाँकी बचेको छ ?
हे हे किन यस्तो जिज्ञासा राख्नु भएको ? हरेक रहर उमारी राख्नुपर्छ, हुर्काउनुपर्छ र फुलाउनु फलाउनु पर्छ नि । साहित्य महोत्सवको रहर मरेको छैन अझ यो भन्दा ठूला साहित्य महोत्सव गर्ने रहर, आँट र साहस थपिएको छ । कामले काम सिकाउँदो रहेछ ।

अन्तमा मैले सोध्न बिर्सेका र तपाईंको मनमा लागेका केही कुराछन् भने राख्न सक्नु हुने छ ?
सर्वप्रथम तपाई र तपाईंको सम्पूर्ण टिमलाई हृदयतःआभार ‘युग आह्वान’ दैनिकमा आफ्ना कुरा पस्कन पाएँ । धेरै कुरा सोध्नुभयो तर तपाईंको जिज्ञासा पूरा गर्न सकेँ कि सकिन खै ?
धन्यवाद, नमस्कार ।

तपाईको प्रतिक्रिया