यात्रा समिक्षा : सम्झनामा नुवाकोट साहित्य महोत्सव

खलासीले बसको ढोका ढक्ढकाएसंगै साढे तीन बजे सुर्खेत बसपार्कदेखि नवराज कुन्दन र म रमना भयौं पुस १४ र १५ गते नुवाकोटको विदुर नगरपालिका बटारमा हुने साहित्य, संस्कृति तथा पर्यटन महोत्सव २०८० मा सहभागी हुन । छिन्चु पुगेपछि थपिए जाजरकोटका गजलकार भावुक रिदम बाबू भाइ । तीन जना भयौं कर्णालीबाट नुवाकोट जाने । ड्राइभरले एक्सलेटर दबाएसंगै रोकिएको बसका पाङ्ग्राहरु अगाडि गुडे । बस छिन्चुदेखि राजधानी हुँइकियो । रातभरको अनिदो यात्रासंगै विहान करिब साढे नौबजे नाइट बस ले गल्छी पुरायो ।

बल्छीमा अड्किएको माछाझै हामी गल्छी झर्यौँ । धादिङको गल्छी कुनैबेला बिरानो लाग्थ्यो तर त्यही बिरानो लाग्ने सानो सहर अचेल आफ्नै परिचित गाउँठाउँ जस्तै लाग्छ । समय समयमा काठमाडौं र नुवाकोट जाने आउँजाउँले पनि होला उक्त ठाउँ प्रिय लाग्नथालेको ।

छवि ओझा दाजु र सुमित्रा सुमी जी का समय समयमा मोबाइलमा बजि रहने रिङ्गटोनको स्वर सुनिदा लाग्थ्यो बर्षऔं पहिले हराएको प्रदेशी आफ्नै घर फर्कदै छ र उक्त प्रदेशीलाई घर पुग्ने सहजताका लागि घरका सदस्यहरु बाटोको जानकारी गराउँदै घर पुग्न सुझाउँदैछन् ।

रातभर सिटमा कुक्रिएको शरीरलाई तन्काउने समय नमिल्दै माइक्रो बसका चालकले इसरा गरिहाले दाजु समय भयो नुवाकोट जाने । चालकको इसरामै त्रिशूली नदीको किनारै किनार उत्तर लाग्यौं । कल्चौडेभिर, तारुका, महादेवफाँट, काँशीटार, धुरपुरे, देविघाट, पिपलटार माझीटार हुँदै विदुर नगरपालिकाको बटारमा पौने एघार बजे पुग्यौं । विदुर नगरपालिका स्थितित संगम चोक बटारको मुटुहो । चोकको आडैमा छ विदुर नगरपालिकाको चार नम्बर वडा कार्यालय । बाटोमा आँखा बिच्छाउँदै हामीलाई कुरी बसिरहेका थिए छवि ओझा दाइ ।

हँसिलो मुद्रामा स्वागत गर्दै चार नम्बर वाड कार्यालयको गेट भित्र आमन्त्रण गर्नुभयो । हामी उहाँकै पछिपछि लाग्यौं । कार्यालयको परिसर भित्र पुगेपछि भित्तामा झुण्डाएको बोर्ड हेरेपछि थाह भयो उहाँ त निर्वाचित जनप्रतिनिधि पो हुनुहुँदो रहेछ । सेतो चिया प्रति अचेल मेरो मायमोह त्यति छैन । कालो चियानै मनपर्छ । कागति चिया भनेपछि झनै आँत हररर हुन्छ । ओझा दाजुले कागति चियाले स्वागत गरेपछि चियाको पहिलो चुस्कीमै रातभरको निद्रा हरायो । शरीरमा स्फुर्ती जाग्यो ।

चिया पिउँदै थियौ । आई पुग्नु भयो साहित्य संगम नुवाकोटकी अध्यक्ष सुमित्रा सुमी ज्यु र रमेश गिरी सर । आउने जाने पाहुनाको लागि पहिलेनै होटल बुक गरिएको रहेछ । रमेश सरले बाइकको पछि राख्दै पुराउनु भयो नवदुर्गा होटल मा । झोला होटलमै थन्काए । १२ बजी सकेको थियो । साहित्य महोत्सवमा आउने सम्पूर्ण पाहुनाको लागि खानाको बन्दोबस्त गरिएको रहेछ नमस्ते पाटी प्यालेसमा । आयोजकसंगै म पनि त्यतै लागे खाना खानलाई । खाना खाइवरी पश्चात पुन नवराज कुन्दन, भाबु रिदम र पंक्तिकार नवदुर्गा होटल फर्क्यौ आँखाको बिष मार्न । विभिन्न जिल्लादेखि नुवाकोट आउने साहित्यकारहरुको आगमन भने चाकामा दिन प्रतिदिन भरिदै गएको माहुरीको महझै बढ्दै थियो ।

नुवाकोट साहित्य महोत्सवको पहिलो दिन पुस १४ गते बिहान ठिक ८ बजे देशभरबाट बटार पुगेका साहित्यकारहरुको हुल आदर्श बहुमुखी क्याम्पस नुवाकोटको गेटमा जम्मा भइसकेको थियो । प्रभात फेरीमा हिन्दु तथा बौद्ध परम्परा र नेवारी रितिरिवाज अनुसार मातृ भेषभुसामा देखिएका दाजुभाई र दिदी बहिनीहरुको पहिरनले राष्ट्रिय गानको महत्व त्यतिखेर झल्कायो जब विभिन्न जातजाति र पृथक धर्ममा आस्था राख्ने मान्छेहरु एउटै मालाका फुलझै झाँकीमा आ–आफ्नो पहिचान सहित देखिए । हिन्दु धर्मावलम्बीले स्वस्तिक पाठ, बौद्ध धर्मावलबीले ‘ॐ माने प्यामे हुङ्’ नेवारी दिदी बहिनीहरुले नेपाल भाषा तथा सिर्खाली महिला पञ्चेवाजा समूहले, पञ्चेबाजा बजाएर पहिलो नुवाकोट साहित्यिक महोत्सवको पूर्ण सफलताको कामना गरे ।

थरीथरीका जातजाति, पृथक धर्म, भिन्दा भिन्नै रितिरिवाज चालचन र पहिचान सहितको आआफ्नो भाषा संस्कृती भएपो देश सुन्दर देखिने रहेछ । प्रभात फेरीमा फरकफरक मौलिक कला संस्कृतिमा देखिएका मान्छेहरुको हुलको उल्लास देखेपछि नेपालका चर्चित हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको गितको याद आयो

सय थरी बाजा एउटै ताल
सय थरी गोडा एउटै चाल ।

भजन कृतन, महिला दिदीबहिनीको लोक पञ्चेबाजाको धुनको तालमा गोडाहरुको चाल मिलाउँदै र्याली बटारचोक, पुरानो बजार, आँपघारी हुँदै नमस्ते पाटी प्यालेस पुगेर रोकियो । बौद्ध तथा हिन्दु स्वस्तिक पाठबाट उद्घाटन गरिएको कार्यक्रममा नारी श्रष्टाहरूले बजाएका पञ्चेबाजाले अलौकिक आनन्द थप्यो । सामन्ती सासकले सदियौंदेखि दलित जातीको थाप्लोमा गुथेको परमपरालाई सिर्खाली महिला पञ्चेबाजा समूहले क्रमभङ्ग मात्रै गरेको थिएन ।

पञ्चेबाजा बजाउने महिला दिदीबहिनीहरु सबै ब्राह्मण थरका थिए । यो थालनिले लोप हुँदै गएको पञ्चेबाजालाई संरक्षण गर्नेछ भने दलित दाजुभाईहरूले परमपरागत रुपमा बाजाउँदै आएको आफ्नो पुर्खेउली कलालाई स्वाभिमान ठान्नेछन् । जातिय आधारमा गरिने छोइछिटोमा पनि कमिल्याउने आभाष पंक्तिकारको मनमा लाग्यो । पञ्चेबाजा समूहकी अध्यक्ष राधिका रिमाल भन्दै थिइन् पञ्चेबाजा सिकेदेखि खाली बस्नु परेको छैन सर ।

घर खर्च मजैले चलेको छ । लोक भाखाको टुक्कामा बजाइने सनाई र नरसिंहाको धुनले भाषा साहित्यमा अतुलनीय योगदान गर्ने देखे । भजनका टुक्काहरू, मेह्न्दोमायाको उल्लासमय रौनक र स्थानीय लोक नृत्यले तमाम दर्शक दिर्घामा बसेका दर्शकहरुको मन जितेको थियोे । मेह्न्दोमाया नाचले तामाङ्ग कला संस्कृतिको प्रतिनिधित्व त गरेको छ नै । तामाङ परम्परा अनुसार यस नाचको बिशेषता वैवाहिक परम्परासंग सम्बन्ध रहेको कुरा सुन्दा पंक्तिकारलाई छुट्टै स्वादको आस्वादन गरेको अनुभुति भयो ।

महिला, पुरुष गरेर सातसात जनाको समुहमा बिभाजित समूह मध्ये पुरुष समूहमा मिसिएका वाग्मती प्रदेश सरकारका अर्थमन्त्री माननीय श्री बहादुर सिंह लामा मेह्न्दोमाया नाचमा सरिक हुँदा तालिको गडगडाहटले हलनै गुञ्जायमान भयो । प्रमुख अतिथिको छोटोमीठो मन्तव्य सुन्नलाएक थियोे । भाषासाहित्यको जगेर्नाको लागि सबै सरकारले आआफ्नो क्षेत्रबाट योगदान पुराउनु पर्छ भन्ने कुराले साहित्यकारहरुको मनमा खुशी थपिएको आँकलन गर्न सकिन्थ्यो ।

रमेश गिरीको सञ्चालन, शम्भु गजुरेलको छोटोमिठो स्वागत मन्तव्य र समयको महत्वलाई बुझेर संगमकी अध्यक्ष सुमित्रा सुमीले उद्घाटन सत्रको समापन गरेकी थिइन् । समयको महत्व बुझ्न सकिएन भने साहित्यिक कार्यक्रमले राजनीति पार्टीका जस्तो भद्दा आकार लिन्छन् । उक्त क्रियाकलापबाट जोगिदै प्रमुख अतिथिले गरेको मन्तव्य, भाषण नभएर भाषा साहित्यको जर्गेर्नाको लागि दिएको अमुल्य सुझाब जस्तो लाग्थ्यो ।

विदुर शब्दप्रति हरेक मान्छेका आआफ्नै धारणा होलान । तर मेरो बिचारमा परापुर्वक कालमा विद्धवत व्यक्तित्वहरु बस्ने ठाउँ भएर नै उक्त ठाउँको नाम विदुर रहन गएको होकी भन्ने जिज्ञासाले घर बनायो । विदुरको फाँटमा सानादेखि ठुला, गरिब देखि धनी मान्छेहरु अटाएको अनुमान सहजै गर्न सकिन्छ क्षमता अनुसार बनेका घरहरुको स्वरुप हेर्दा । सुन्दर छ विदुर नगरपालिका, सुन्दर छ त्यहाँको भुबनोट । सुन्दरताकै आँचल बिच्छाएर बगिरहेको छ त्रिशूली नदी ।

सुर्योदय संगै मुस्कुराउँछ आफ्नो जिर्ण अनुहार देखाएर नुवाकोट दरबार । विदुर नगरपालिकाको बड्दो प्रदुषणलाई आफुले ग्रहण गरेर स्वच्छ अक्सिजन बाँडिरहेको छ विदुर नगरपालिकाको टाउँको माथी फैलिएको वनदेबी जंगलले ।

कविता, मुक्तक र गजलका सेसन त हुन्थेनै । ‘साहित्य संस्कृति, पर्यटन तथा राजनीति’ जस्तो बिषयमा बहस चलाएर भाषा साहित्यको उन्नयन र बिकासको लागि नेताहरुलाई ख बनाएर जिम्मेवार बनाउनु सुमित्रा सुमिको चलाखी पुर्ण अभिनय हो भन्दा अन्यथा नहोला ।

म्यागम गाउँपालिका नुवाकोटकी उपप्रमुख सीता तामाङले नेपाली भाषा साहित्यको उन्नयनको लागि आउने अधिवेशनमा बजेट विनियोजन गर्ने प्रतिबद्धताले साहित्यकारहरुलाई फुरुङ्ग बनाएको थियोे । नेपाल नाट्य तथा संगित प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पुरु लम्साल नुवाकोटकै जल्दाबल्दा साहित्यकार हुन् उनका केही बिषयमा सहमति हुँदाहुँदै पनि दुईवटा बिषयमा सहमत हुन सकिएन ।
(क) नुवाकोटमा उहाँको गतिविधि न्यून हुनु ।
(ख) २०७५ साल सम्म सुदुरपश्चिमका मान्छे ट्वाइलेट प्रयोग गर्दैन थिए भन्ने उनको झुट्टो अभिव्यक्तिले सुदुर पश्चिमकै गजलकार अटल उपेन्द्रको मन खिन्न बनायो ।

बहसमा साहित्यकार ओम रिजालको उत्कृष्ट प्रस्तुति थियोे । उनको प्रस्तुतिमा खोट लगाइ हाल्नै पर्ने चिजको कमि देखिएन । साहित्य, संस्कृति, पर्यटन र राजनीतिलाई एक रथका दुई पाङ्ग्रा बनाएर लगे मात्रै देशको चौतर्फी बिकास हुने कुरामा रिजालको मत थियोे । उक्त कार्यको लागि राज्य र नेताहरु गम्भीर हुनुपर्ने उनको जिकिर थियोे ।

उक्त सेसन सकिएपछि कविता सेसनले मुर्तरुप लियो सो सेसनको अध्यक्षतामा हुनुहुन्थ्यो थियोे नवराज लम्साल । कविहरुको मुखार विन्दुबाट बिरेचन भएका कविताहरु आगोका फुल भएर श्रोतामाझ बर्षिय । कविताले देश बोल्यो, प्रेम बोल्यो, नेता र राजनी प्रति ब्याङ्ग्य प्रहार गर्यो । अन्ततह कविका कविताका बाङ्कीहरुले सबै दर्शक श्रोतालाई भावुक बनायो ।

‘पाइन खबर घर सम्झी आउनु होस मेरो हजुर’ नेपाली लोकसंगितकी मुरधन्य व्यक्तित्व हरिदेवी कोइराला दिदीको आवाजमा गाइएको उक्त गित कुनै बेलाको सुपरहिट गित हो । आज पंतिकारलाई मन्चसंगै सेर गर्ने अवसर जुरेकोले मन पुलकित त भयो नै । बुढेस कालले पनि दिदीको आवाजलाई डाह नगरेको देख्दा खुशी लाग्यो । हरीदेबी दिदीले आफ्नै आवाजमा आफ्ना नयाँ पुराना गित गाएपछि दर्शक दिर्घामा रहेका श्रोताहरु छमछमी नाचे ।

पाँच बजे कविता सेसनको कार्यक्रम सकिएसंगै सन्ध्याकालिन आरती हेर्न जानु थियोे देवीघाट । देवीघाट तादी र त्रिशूली नदीको संगम स्थल हो । जहाँ नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहको पार्थिव शरीर अन्त्यष्टी गरिएको ठाउँ पनि हो । दक्षिण बगिरहेको पानीको बहाब हेर्दै जाल्पादेबी मन्दिर परिसर वरीपरी टोलाउँदै थिँए । हस्याङ्ग फस्याङ्ग गर्दै आइ पुगे रमेश गिरी अघिसम्म म उहाँलाई सर भनेर सम्बोधन गर्थेँ । सिन्धुलीका प्रिय मुक्तकार पौडेल लोकेन्द्र डहरेले दाजु भन्ने साइनोलो मलाई पुकारेपछि ।

उमेर सोधिहाल्नु भयो रमेश जिले । ४३ बर्षमा हिडेको कुरा सुनाएपछि हैट तपाईं पनि मेरो दाजु पर्नु भो । आत्मियता बाँडेर दिएको मौखिक सम्मान कागजको खोस्टामा लेखेर दिएको सम्मान भन्दा कयौं गुणा प्रिय लाग्ने रहेछ । दाजुभाईको साइनोमा आत्मियताको फरक झल्को हुनेरहेछ । खै किन हो किन पौेडेल लोकेन्द्र डहरे, नवराज कुन्दन, भाबुक रिदम र रमेश गिरी आफ्नै सहोदर भाई जस्तै लाग्छन् । भाइ रमेश गिरीले हात समाउँदै एउटा मन्दिरको आडैमा रहेको बडेमानको ढुङ्गा देखाउँदै भने दाजु पृथ्वीनारायण शाहलाई यही ढुङ्गामाथी चिता बनाएर जलाइएको थियोे ।

म हेरेको हेरेई भए । ढुङ्गामाथी नजर दौडाए । अस्तु भेटिन्छकी भनि वरिपरि हेरे । ढुङ्गाको आडैमा थियोे स्तम्भ । स्तम्भमा पृथ्वीनारायण शाहको जन्म मिति १७७९ पौष २७ गते, राज्यारोहण मिति १७९९ चैत्र २५ गते र देहावसान मिति १८३१ माघ १ गते भनेर उल्लेख गरिएको थियोे । सन्ध्याकालिन आरतीको रौनक अस्तायसंगै देबीघाटबाट हामी फर्कियौं नमस्ते पाटी प्यालेस । आजका सेसन मध्ये मुक्तक र गजलको सेसन मात्रै शेष बचेका थिए । सात बजे मुक्तकको सेसन सुरु भयो । देशभरबाट आएका एक दर्जन मुक्तकारहरुले मुक्तक वाचन गरे । सबै मुक्तकारले सुनाएका मुक्तक चोटिला सुन्दर त थिएनै अन्तमा लोकेन्द्र डहरेको अन्तिम मुक्तकले हलनै गुञ्जायमान भयो ।

सुरुभयो गजलको सेसन । स्टेजमा उक्लिए विद्या निर्दोष पहाडी पालैपालो एक दर्जन गजलकारको नाम उच्चारण गर्दैगर्दा रोष्टममा उभिइन सावित्री गिरी, वसन्त वली बसन्ती, रोमु अधिकारी, आँचल कुमार शर्मा, नवराज कुन्दन, भावुक रिदम बाबू, गिता अधिकारी जून, शुशिला श्रेष्ठ, अस्मिता भट्टराई, प्रदिप रोदन लगायतका दर्जन सायरहरु । गजलकारका सेरहरुले देश, माटो, माया र राजनीतिमा हुने लाजनितिका बारेमा हमलतात गरेनै । कालिकोटका सायर नवराज कुन्दनको उक्त सेरले सबैको मन जित्यो ।

यो बच्चाले भित्ताको माटो चाटेर खायो
मलाई संकाछ यसैले भोलि घर खाने छ ।

हल भित्र रहेको भित्ताको घडीले रातको नौ बजाएपछि गजल महफिल सकियो । खानाखाइवरी साहित्यकारहरु लागे आआफ्नो आवास तिर । सितल निश्चल फर्किए काठमाडौ कवि असिम सागर, दलवीर सिंह बराली, अस्मिता, शुशिला, भावुक रिदम, नवराज कुन्दन, विनोद खत्री आकास, वसन्त वलि बसन्ती, पौडेल लोकेन्द्र डहरे, सन्तोष सरिल लगात हामी नवदुर्गामै फर्कियौ ।

नुवाकोट साहित्य महोत्सवको अन्तिम दिन पौष १५ हिजोनै उत्तरगया गाउँपालिकाकी उपप्रमुख चमेली गुरुङले उद्घाटन सत्रमै उपस्थित सबै साहित्यकारहरुलाई निम्तो दिइसक्नु भएको थियोे उत्तरगयामा आउन । महोत्सवको अन्तिम कार्यक्रमको समापन उत्तरगया गापाको निलकण्ठ माविमा हुने योजना बनेको रहेछ ।

गाडी होटल अगाडि हामीलाई लिन आयो सबै साहित्यकारहरु खचाखच बसमा उक्ले म सबै भन्दापछि रहे । सिट प्याक भइसकेको थियोे पछि जाने सुरसार गर्दैथिँए । वसन्त वली बसन्तले आफु बसेको सिट मलाई दिएर उनी उभिए । मनमनै लाग्यो आफू उभिएर जेष्ठ नागरिकको सम्मान भाइ बसन्तीले गर्न जानेको रहेछ ।

जिल्ला प्रसासनको बाटो हुँदै बस उकालो लाग्यो । चालकले स्टेरिङ्ग जता घुमायो हामी उतै घुम्दै नुवाकोट दरबार अघिको इन्द्र चोक पुग्यौं । यहाँ भन्दा अगाडि दुइपटक नुवाकोट दरबार पुगि सकेको छु । अझै दरबारको जिर्णोदार नभएको देख्दा सरकारको ढिलासुस्ती प्रति खिन्नता जागेर आयो । नुवाकोट दरबारदेखि टुडिखेल÷ असोकबाीका अलि तल छ ।

असोक बाटीकाको आडैमा छ २०१३ सालमा स्थापना भएको भैरवी माध्यमिक विद्यालय । विद्यार्थी भाइबहिनीहरुले फुलका पुष्प गुच्छा दिएर आगन्तुक पाहुनाहरुलाई स्वागत गरे । भैरवी माध्यमिक विद्यालयका शिक्षक रामहरि सरले नुवाकोटको ऐतिहाँसिकता र महत्वको बारेमा उभिएर केही ब्रिफिङ गर्नुभयो ।

बिक्रम सम्वत १८०१ मा नुवाकोट माथी पृथ्वीनारायण शाहले विजय प्राप्त गरेपछि नेपाल एकीकरणको सुरुवात यही बाट भएको थियोे । बिक्रम सम्वत १८०१ देखि बिक्रम सम्वत १८२५ सम्म पृथ्वीनारायण शाहको सक्रिय जीवनको दिनचर्या दुर्ग रत्न दरवारमै बित्ने गथ्र्याे रे । नुवाकोट दरवारलाई पृथ्वीनारायण शाहले सम्बोधन गर्ने नाम रहेछ दुर्ग रत्न । दुर्ग रत्नको अर्थ रहेछ राम्रो र सुरक्षित किल्ला । पृथ्वीनारायण शाहको पालामा दुर्ग रत्न दरवार नौ तलाको भएता पनि बि.सं. १९९० सालको भुकम्पले दुइतला भत्काएपछि दरबार सात तलामा सिमित भएको रहेछ ।

उहिले तिब्बत जाने यो एउटा ब्यापारीक नाका पनि रहेछ । व्यापारको शिलसिलामा यहीँबाट मान्छेहरु तिब्बतसम्म जाने रहेछन् । नुवाकोटलाई तिब्बतियन भाषामा भाल्पाजोङ्ङ, नेपाल भाषामा नक्वा भनिने रहेछ । १२ औं शताब्दीतिर नुवाकोटलाई पुखर नामले सम्बोधन गरिन्थ्यो रे । पुखरको अर्थ रहेछ सुन्दर सहर । नुवाकोटदेखि कपिलेश्वर महादेबको क्षेत्रलाई ब्रहम क्षेत्रको नामले परापुर्व कालमा चिनिएको रहेछ ।

रिपु मल्लले केही तथ्यहरु आफ्नो शिलालेखमा भैरवी मन्दिरको बारेमा उल्लेख गरिएको कुरा पनि रामहरी सरले प्रस्टाए । गद्य र पद्य साहित्यको पार्दुभाव नुवाकोट बाटै शुरु भएको र पद्य कवितामा कलम चलाएर साहित्य सृजना गर्ने नेपालकै पहिलो कवि सुन्दरानन्द दासको जन्म पनि नुवाकोटमै भएको कुराले नेपाली साहित्यको बिरासतमा गर्विलो अर्थ राख्छ । २३ सय बर्ष पुरानो नुवाकोट स्वयम्भू चैत्तय गुम्बा मेटिएको आफ्नो इतिहाँस खोतलेर पुन वास्तविक चेहरामा दुनियामाझ उभिनेअभिलाषाका साथ पूर्ण उत्खनन्को पर्खाइमा छ ।

१२ औं शताब्दीको अन्यतिर बौद्ध भिक्षु, पद्मसम्भव र गुरु रिपुछेले नुवाकोट स्वयम्भू चैत्य गुम्बाको बारेमा तिब्बतीयन बौद्ध ग्रहन्थमा उल्लेख गरेको पाइन्छ । कतै काठमाडौमा रहेको स्वयम्भू भन्दा पुरानो इतिहाँस यो नुवाकोट स्वयम्भू चैत्य गुम्बाको त रहेको छैन । उक्त कुरा सम्बन्धि सरोकारवालाको खोजी नितिको बिषय हो ।

स्वयम्भू चैत्य गुम्बाको उत्खनन् र निर्माण कार्य भईरहेको दृष्य देख्दा मनमा खुशी थपियो । पुर्खाले ठडाएको इतिहाँसलाई भावि सन्ततीहरुले संरक्षण र सम्वद्र्धन गर्नु नैतिक जिम्मेवारी पनि हो । गौतममान सिंह ज्यूको पहलमा उत्खनन् तथा पुनर्निर्माणको कामले गति लिएको देख्दा खुशी लाग्यो । मजदुरहरु दिवाल लगाउन, माटो पुर्न र अन्य काममा व्यस्त थिए ।

स्कुले विद्यार्थीहरुलाई कवि नवराज लम्सालले बौद्धिक प्रवचन दिएपछि । पाहुनाहरुलाई विद्यालय परिसरमै चिया नास्ताको बन्दोबस्त गरिएको रहेछ । नेपाल रेडक्रस सोसाइटी नुवाकोटका अध्यक्ष हरिस श्रेष्ठ सरले कुनै कुराको अतिथि सत्कारमा कमिहुन दिनु भएको थिएन । रेडक्रस आफैमा पवित्र संस्था हो । पवित्र मन, वचन, कर्मले हरि श्रेष्ठ सर नुवाकोट साहित्य महोत्सव सफल पार्नको लागि बाहिरबाट गएका साहित्यकारको अतिथि सत्कारमा निस्वार्थ जुटिरहेको दृष्यले माखाको जस्तो सानो चित्त कसैले पनि बनाउनु बेकार रहेछ भन्ने लाग्यो ।

कविता नसुनाएकै भरमा मन दुःखाउनु र मञ्चमा बढी नबोलेकै कारण कार्यक्रमकै बिच भागबाट भागेर जाने जो कोहीलाई हरि श्रेष्ठ सरको व्यवहार एक अनुपम उदाहरण थियोे । रेडक्रस सोसाईटी नुवाकोटका सम्पूर्ण पदाधिकारीहरुको खटनपटन र साहित्यलाई निस्वार्थ माया गरेको देख्दा मन पुलकित भयो ।

स्वागत कार्यक्रम समापनपछि रेडक्रस सोसाइटी नुवाकोटले चियापानको कार्यक्रमको आयोजना गरेको थियोे । दिदीबहिनीहरु चिया र सेलरोटी बाडी रहनु भएको थियोे । मैले भने लाजै नमानी सेलरोटी र चिया थपिथपि खाए ।

नुवाकोट दरबार, भैरबी मन्दिर, तलेजु भवानी, असोकबाटीका, देवीघाट, उत्तरगया र नुवाकोट स्वयम्भू चैत्तय गुम्बा नुवाकोटका मुख्य धार्मिक तथा ऐतिहाँसिक पर्यटकीय स्थान हुन् । नुवाकोट दरवारको अवलोकन पश्चात् हामी उत्तरगया जाने भयौं ।

हामी सवार गाडी ओरालो लागेपछि अम्बिका पौडेल र अस्मिता भट्टराईको दोहोरीको अधि हामी मुखदर्शक भयौं । बसमा चढेका हामीहरु कसैलाई कुरा गर्ने अवसर जुरेन । अम्बिका र अस्मिताको दोहोरीका टुक्कामा हामी मात्रै होइनौं उमेरले साठी काटेका केशबराज आमोदी र गोर्खे साईला सर पनि दोहोरीमा रमाए । दोहरी गितको रसपानमा डुबेर फलाखु खोला तरेर रसुवाको उत्तरगया पुगेको चाल भएन ।

उत्तरगया, दक्षिणगया, पूर्वगया, पश्चिमगया, मध्यगया र मध्यपश्चिमगया छ धाम मध्य दक्षिण गया भारतमा पर्छ भने अरु सबै धामहरु नेपालमा पर्छन् । धामहरुको महत्वपूर्ण धाम उत्तरगया रसुवा र नुवाकोट जिल्लाको सिमानामा अवस्थित छ । वैदिक पुराण, हिमवत खण्डमा वर्णित अनुसार कालकुट बिषको सेवनले भगवान शिवलाई प्यास लागेपछि वेदको छडीले जमिनमा हिर्काएपछि त्यसै ठाउँबाट गंगा उत्पति भई भगवान शिवले प्यास मेटाएको र बेदको लौरीको सहाराले गंगा उत्तपति भएकाले उक्त ठाउँको नाम बेत्रावती रहन गएको कुरा निलकण्ठ माविका शिक्षक गणेश सरले बताउनु भएको थियोे ।

त्रिशुली नदी बेत्रावतीमा पुगेपछि वेत्रगंगा र रुद्रगंगासंग मिसिन्छ पुग्छ । यही त्रिवेणी नदीहरुको संगम स्थललाई उत्तरगया पुण्य धार्मिक स्थलको रुपले चिनिने रहेछ । दिवंगत पृतीहरुको मृत आत्माको कामना गर्न देशभरबाट पौष महिनाको पौष् ाऔंसीमा श्रद्धालुहरु उत्तरगया आएर पिण्डदान गरी मोक्ष प्राप्तिको कामना गर्ने रहेछन् । गोसाइँकुण्ड जाँदा बेत्रावतिमा स्नान गरेर जाँदा फल प्राप्त हुने आम जनमासको बुझाई छ । यसैगरी १८४८ असोज १७ तद्अनसार ५ अक्टोबर १७७२ का दिन नेपाल र चिन तिब्बत संधिभएको ठाउँ पनि बेत्रावती नै हो । वेत्रावतीको बारेमा यति सारो जानकारी प्राप्त गरेपछि लाग्यो सुचना प्रविधिको विकास हुँदा हँुदै पनि हामी धेरै कमजोर रहेछौं । धाम मध्यकै पबित्र धाम ।

यस्तो पवित्र तिर्थ स्थलको बारेमा देशमा रहने हरेक नागरिकलाई जानकारी नहुनु विडम्बना हो । यस्तो कुरामा तीनै तहका सरकारले सुचना प्रवाह गर्ने कुरामा अग्रसर रहनु पर्छ । संसार भरका श्रद्धालुहरुलाई भित्राउने कोसिस गरेको खण्डमा धार्मिक तिर्थ स्थलहरुले आन्तरिक पर्यटन प्रबद्र्धन गर्नेकुरामा ठुलै भुमिका खेल्ने कुरामा दुइमत छैन । आफ्नै नाभीमा भएको कस्तुरी खोज्न मृगझै भौतारिने परमपराको अन्य कसले गर्ला यावत प्रश्नको उत्तर खोज्दै अञ्जुली भरी जल चढाएर स्वर्गवासी आमालाई श्रद्धाञ्जली अर्पण गरे ।

जन्म दिने आमालाई गुमाए पनि बेलाबेला फोनद्वारा सम्झी रहनुहुने आमा भेटाएको थिए रसुवामा । हिजो बुवासंग भेट भएको थियोे आज उत्तरगयाको मुल द्वारमा आमासंग भेट भयो । प्रणाम गरे आमाले आर्शिवाद दिनुभयो । मैले आर्शिवाद ग्रहण गरे । भन्नू भयो बाबू आज बास बस्न रसुवा जाने । मैले टाउँको मात्रै हल्लाए । न अं भन्न सके न नाई नै । आमाले म प्रति गरेको प्रेमले परलोक पुगेकी आमाको यादले मन बाउणियो । धेरै बोल्न सकिन । आमालाई महिला दिदीबहिनीहरुको हुलमा छोड्दै हरि श्रेष्ठ सर संगै अघि बडे ।

साहित्यकार सवार बस श्री नीलकण्ठ माध्यामिक विद्यालयको गेट छिचोल्दै कम्पाउण्ड भित्र गएर रोकियो । २००७ सालमा स्थापना भएको रहेछ विद्यालय । जंगलको विचभागमा अवस्थित छ निलकण्ठ मा.वि. । सबै साहित्यकारलाई खानाको व्यवस्था विद्यालयकै क्यान्टिनमा गरिएको थियोे । झापाको कार्यक्रम सकेर हतारहतारमै पुग्नु भयो छन्द कवि प्रा.डा देवी नेपाल पनि ।

हातको घडीले १२ बजाएपछि कार्यक्रम सञ्चालन विद्यालयकै शिक्षक गणेश सरले गर्नुभयो । सुमित्रा सुमीको अध्यक्षतामा प्रमुख अतिथि हुनुहुन्थ्यो उत्तरगया गाउँपालिका रसुवका अध्यक्ष माधव अर्याल, विशिष्ट अतिथि नवराज लम्साल, प्रा.डा. देवी नेपाल, ओम रिजाल, धरान उपमहानगरपालिकाका १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले, हरिदेवी कोइराला, हरि श्रेष्ठ, पुरुलम्साल लगायत देश भरबाट जम्मा भएका साहित्यकारहरु ।

निलकण्ठ विद्यालयका प्रधानाध्यापक माधव लामिछाने सरले स्वागत मन्तव्यले स्वागत गरेपछि कार्यक्रमले रफ्तार लियो । दुई दर्जन स्थानीय साहित्यकारको रचना वाचनपछि कार्यक्रम अविधिभर मञ्चमै रहेका उत्तरगया गाउँपालिकाका प्रमुख ज्युले । आगामी अधिवेशनमा साहित्यको लागि बजेट छुटाएर उत्तरगयामा कार्यक्रम गर्ने प्रतिवद्धताले सबै साहित्यकारहरुको चेहरामा खुशी थपियो ।

तालिको गडगडहाटले साहित्यकारले उहाँको सम्मान गरे । दोस्रो दिन स्थानीय स्रष्टाहरुको रचना पाठ गर्ने तालिका अनुसार स्थानीय सर्जकहरुले भरपुर रचना वाचन गरे । छन्द कविहरुको उर्वर भुमी नै रहेछ नुवाकोट । पहिलो छन्द कवि सुन्दरानन्द दासको जन्म नै नुवाकोटमा भएपछि उहाँको आर्शिवाद त्यहाँका मान्छेमा नपर्ने कुरै भएन ।

रसुवा र नुवाकोट बाट फर्कने मन नहुँदाहुदै पनि पर्कनु सबैको बाध्यता थियोे । सुमित्रा सुमी जी का तीन वटा कार्यक्रममा संगै उपस्थित पनि भएको छु । कहिल्यै उहाँ यसरी भावुक भएर कार्यक्रम समापन गरेको देखेको थिएन । छोरा मान्छे रुनुहुँदैन बाले सिकाई रहँदा आमाले छोरी रुनु हँुदैन भनेर किन सिकाउभएन उहाँको प्रति प्रश्नले आफैसंग प्रशन्न गरेपछि हलनै स्तब्द भयो । कार्यक्रम सफल भएको खुशी त छँदै थियोे ।

तर कार्यक्रममा आउनु भएका पाहुनालाई धन्यवाद मन्तव्यसहित कार्यक्रम समापन गरेर साहित्यकारहरुलाई विदाइ गरी रहँदा घरबाट अन्माएर पराईघर पठाउँदैछु जस्तो महसुस उहाँले गरिरहनु भएको थियोे । दुइ दिने कार्यक्रमले सबैलाई आत्मियताको डोरीले बाँधेपछि सबैलाई एकघरको सदस्य जस्तै बनाएको थियोे साहित्य महोत्सव नुवाकोटले । सुमित्रा सुमी जी को लालित्य पूर्ण बोलीको सुहागले प्रा.डा देवी नेपाल, डा. नमराज लम्साल दाजुको पनि गह गालेपछि उहाँको आँखाबाट आँसु रसाएको थियोे । रुनको लागि चोट र खुट्टामा ठेस लाग्नु पर्ने रहेनछ । मन भत्किएपछि आँसुत अनायसै रसाउने रहेछन् । मैले पनि मन थाम्न सकेन एकाएक आँखाका चेपबाट आँसु रसाए ।

गलबन्दीको फुर्कोले आँसु पुछे र बाहिर उठेर जाने मन बनाए । कार्यक्रमको अन्तिम पल उठेर जाँदा सुमि जीले असहज महसुस गर्नु होला भन्न ठानेर हिकहिकाउँदै आँसुलाई पचाउने सामर्थ्य राखे । नवराज कुन्दन र भावुक रिदम त हलबाटै बाहिर आएछन् ।

कार्यक्रम समापन संगै हामी विदुर फर्कियौं । केही हिजोनै फर्किसक्नु भएको थियोे । केही साहित्यकार अझै बाँकी बचेका थियौँ, धरान, सुर्खेत, कैलाली, मकवानपुर, झापा, जाजरकोट, काठमाडौ र चितवनका साहित्यकार । बटारबाट चितवन र धादिङका साहित्यकारहरु घर फर्किपछि बचेका थियौ दलवीर सिंह बराली, असिम सागर, अस्मिता, शुशिला, खेमराज आचार्य, भावुक रिदम र सिङ्गै धरानका साहित्यकारहरु ।

पुर्वका मित्र रोमु अधिकारीसंग फोनमा लामै कुराकानी भएता पनि साक्षात्कार हुने अवसर जुरेको थिएन । रोमु जी लगायत सिङ्गो धरानका साथीहरूको बसाइँ आरके होटलमा थियोे हाम्रो नवदुर्गामा । रोमु जीको आग्रहमा म पनि दलवीर जी र असिम सागर दाईलाई त्यतै छोडेर आरके हानिए । मञ्चमा संगै बस्ने अवसर जुरेपनि आत्मियता साटेर कुरा गर्ने अवसर जुरेको थिएन । मजाका रहेछन् धरान १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्ले सर । उहाँकै नेतृत्वमा दस जनाको टिम आएको थियोे नुवाकोट । नेपाली गजलको उन्नयन र विकासका लागि नेत्र सरको लगाब र त्याग देखेर पंतिकार काएल नभएको पनि होइन । साहित्य प्रति सरको समर्पणलाई सबैले सलाम गर्नै पर्छ ।

युटुबमा सुरेश गन्दर्भलाई देखेता पनि पहिलोपटक नुवाकोटमै देख्ने अवसर जुर्यो । धरानका मेयर हर्क साङपाङको श्रम गरौं भन्ने गित र रिङ्के बुङ्को राँगोलाई भन्ने बहुचर्चित गित गाएर एकछिन सुरेश गन्दर्भ जी ले होटलको माहोल तताए । एम टिभी अनलाइन मिडियाका सन्चालक भैरव सर पनि मजाका भलाद्मी मान्छे रहेछन् । उहाँले त दुइ मिनेट भन्दा भन्दै आधा घण्टाको नै अन्तरवार्ता पो म संग लिनु भएको रहेछ । पछि भिडियो हेर्दा पो थाह लाग्यो ।

चार बजे नै धराने साथीहरु पुर्व लागेपछि । म विस्तारामै निदाएको थिँए । ढोकामा ढकढक आवाज आएपछि सुमित्रा सुमि जी पो बाहिर आउनु भएको रहेछ । अब त निदाउने कुरा पनि भएन । फर्किनु थियोे आजै हामीलाई पनि । छवि ओझा दाजु पनि पोखराबाट राति साढे तीन बजेनै विदुर पुग्नु भएको रहेछ । उहाँ पनि हामीलाई विदाई गर्न होटेलमै आउनु भो । छङ्ग उज्यालो हुने पर्खाई गर्दा गर्दै घडिले आठ बजाई सकेको थियोे । अटल उपेन्द्र, दलवीर सर, असिम दाइ, अस्मिता र शुशिलाको यात्रा काठमाडौंको लागि थियो भने भावुक रिदम र पंतिकार पश्चिम फर्किनु थियोे ।

नुवाकोटमा बसेर मन भरिएको थिएन । कहिलेकाही खाली मनलाई पनि भरी बनाएर फर्किनु पर्ने रहेछ । छवि दाजु र सुमि जी संग धित मरुन्जेल कुराकानी गर्ने मन हुँदा हुँदै हामी बसमा चढ्यौ । ल बस्नुस हामी लाग्यौं भनेर बिदाइका हात हल्लाएर फर्किने आँटसम्म आएन । मलेखु पुगेपछि छवि दाजु र उहाँकी जीवन संगिनी-भाउजूसंग फोनमा कुराकानी भएको थियोे । उहाँको गुनासो थियोे तपाईं यहाँ आएर पनि हाम्रो घरको खाना खाएर जानुभएन । रसुवाबाट पनि बुवा आमा घर नपुगेको गुनासो गर्दै हुनुहुन्थ्यो । अर्को पटक लामै बस्ने गरी आउँदा बास बस्छु भन्दै आमा बुवा र भाउजुको मनलाई बिश्वस्त पार्ने कोसिस गर्दै म भने त्रिशूलीको लहर गन्दै गन्दै कुरिनटार बढी रहेको थिँए ।

साइली दिदीसंग भेट नभएको पनि धेरै भइसकेको थियोे । भान्जाको जागिर र साइली दिदी कुरिनटार भएकाले दिदीलाई भेट्न भावुक रिदमलाई साथमा लिएर कुरिनटार झरेँ । दिनभरिको कुरिनटार बसाइँ संगै भान्ना भान्जी र दिदीसंगको भेटघाटपछि साँझ नौ बजेको रात्रीबसमा भाबुक रिदम र म सुर्खेत फर्कियौं नुवाकोट साहित्य महोत्सवको सम्झना मन भरी खेलाउँदै । बेलाबेल भावुक रिदम निद्रबाट बिउँझेझै गरी मलाई सुनाउँथ्यो दाजु सुमित्रा सुमी दिदीको हिम्मतलाई मान्नै पर्छ । म भने नुवाकोटमा पाएको असिम प्रेम र आतिथ्यता सम्झेर टाउँको मात्रै हल्लाउथे । मनमा कुरा खेलाउँदै खेलाउँदै म भने सम्झनाको विस्तरामा भुसुकै खै कतिखेर निदाएछु । अर्को दिन सुर्खेत पुगेको पनि चाल भएन ।

तपाईको प्रतिक्रिया