पातारासीमा विपद् व्यवस्थापन नमुना अभ्यास


जुम्लास्थित नेपाली सेनाले हरेक स्थानीय तहमा सामुदायिक विपद् कार्य अभ्यास गर्दै आएको छ । स्थानीयबासीको प्रत्यक्ष सहभागितामा विपद् अभ्यास भइरहेको नन्दबक्स गण जुम्लाका गणपति सुमन श्रेष्ठले बताए ।
उनका अनुसार जुम्लाको पातारासी गाउँपालिकाल–४ डिल्लीचौरमा चार दिन सामुदायिक विपद् अभ्यास गरिएको हो ।
आगलागी, भूकम्प, बाढी, डुबान जस्ता विपद्को अवस्थामा, विपद्को दौरान र विपद् पश्चात कसरी सर्वसाधारणको उद्धार गर्ने भन्ने विषयमा अभ्यास भइरहेको उनले बताए । नेपाली सेनाले स्थानीय बासिन्दालाई प्रकोपबाट बच्ने उपायबारे जानकारी पनि गराएका छन् । सुरक्षाकर्मीको टोलीले बाढी, पहिरो, आगलागीलगायत विपत्बाट बचाउन ‘डेमो’ प्रदर्शन गरेका हुन् ।
नेपाली सेनाले स्थानीय सरकार र पातारासीले गाउँबासीका लागि तालिमको आयोजना गरेको हो । जुनसुकै विपद्मा पनि नेपाली सेना अग्रस्थानमा हुनुपर्ने विषयलाई मध्येनजर गर्दै अभ्यास थालिएको गणपति श्रेष्ठ बताउँछन् । सो अभ्यासले विपद्मा परेका नागरिकको जीउँधनको सुरक्षामा ठूलो मद्दत पु¥याउने छ । उनले भने, ‘विपद् कसैलाई सोधेर नआउने भएकाले सबैले सावधानी अपनाउन जरुरी छ ।’
त्यसैका लागि यो अभ्यास गरिएको हो । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिलाई नेपाली सेनाले सिकेको ज्ञान र सीप प्रदान गरिएको छ । गाउँमा घट्ने विपद्का घटनामा स्थानीय सरकार सबै भन्दा पहिले खट्नुपर्ने भएकाले तालिम र आवश्यक पर्ने स्रोत साधनका बारेमा जानकारी गराउन खोजिएको गणपति बताउँछन् ।
यसअघि जुम्लाको अन्य गाउँपालिकामा स्थानीयलाई सचेत गर्नको लागि अभ्यास भइसकेको छ । विपद् परेको अवस्थामा समुदायमा रहेका साधारण जनतालाई प्रयोग गरी घाइतेको उद्धार गर्न दक्ष बनाउने उद्देश्यले विपद् प्रतिकार्य तालिमको प्रत्येक स्थानीय तहमा आयोजना हुँदै आइरहेको छ ।

तस्बिर गोल्डेन बुढा

नन्दबक्स गणले चार वटा विपद्का घटनालाई प्राथमिकतामा राखेर सामुदायिक विपद् प्रतिकार्य तालिम दिँदै आएको छ ।
स्थानीयहरु यता पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले विपद्का बारेमा स्थानीय सरकारले गर्न सक्ने कामको बारेमा नेपाली सेनाले जानकारी गराएकोमा खुसी व्यक्त गरिन् ।
विपद्का घटना न्यूनिकरणका लागि मानसिकतादेखि नै तयार रहनुपर्ने अहिलेको मुख्य आवश्यकता छ । उनले भनिन्, ‘विपद्को पूर्व तयारीका लागि सरकार तयार छ ।’ विपद् व्यवस्थापन तथा न्यूनिकरणको लागि स्थानीय सरकार सचेत छ ।
सडक दुर्घटना, आगलागी, भूकम्प र बाढी पहिरोबाट हुन सक्ने विपद्का घटनामा उद्धारका लागि उद्धारकर्ता तयार गर्न आयोजना गरिएको उक्त अभ्यास प्रभावकारी भएको उनी बताउँछिन् । बाढीपहिरो, आगलागी, सडक दुर्घटना र भूकम्पमा नागरिकहरुलाई कसरी जोगाउने, खोज तथा उद्धार कसरी गर्ने, प्राथमिक उपचार, घाइते तथा मृतकहरुको व्यवस्थापनका विषयमा जानकारी कसरी प्राप्त गर्ने विषयमा गम्भीर छलफल हुने गरेको छ ।
पहिलो दिन सडक दुर्घटनाका घाइतेलाई उद्धार, दोस्रो दिन आगलागी नियन्त्रण, तेस्रो दिन भूकम्पका घाइतेको उद्धार, खोँचमा खसेका घाइतेको उद्धार र चौथो दिन बाढी पहिरोबाट बगाएका घाइतेलाई उद्धारका बारेमा अभ्यास गराउने कार्य नेपाली सेनाले गरिरहेको छ ।
क्याप्सनः सामुदायिक विपद कार्य अभ्यास गराउँदै नेपाली सेना ।
तस्बिर गोल्डेन बुढा





