सुर्खेतमा ७० जनामा ‘सिकलसेल एनिमिया’ पुष्टी भएको छ । जिल्लामा वसोवास गर्ने थारु समुदायका नागरिकमा सिकलसेल एनिमिया रोग संक्रमण पुष्टी भएको हो ।
सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका सदस्य तथा सुर्खेतका प्रतिनिधि डिलबहादुर चौधरीका अनुसार संक्रमितहरुमा वीरेन्द्रनगरमा वसोवास गर्नेहरु धेरै छन् ।
वि.सं. २०७१ साल देखि नेपालमा सिकलसेल रोगलाई नागरिक स्वास्थ्य समस्याका रुपमा लिन थालिएको हो । यस अघि सरकारले यस रोगलाई सिमित समुदायमा रहेको दिर्घ रोगका रुपमा मात्र लिन्थ्यो ।
थारु समुदायमा देखिने सिकलसेल एनिमिया रोग वंशानुगत भएको अनुसन्धान केन्द्रका सदस्य डिलबहादुरले बताए । गत आर्थिक वर्ष २०७९/०८० मा केन्द्रको सहकार्यमा सुर्खेतका थारु समुदायमा सात सय ३७ जनाको स्वास्थ्य परिक्षण गरिएको थियो ।
गत वर्ष भएको स्वास्थ्य परिक्षणको नतिजा हालै मात्र आएको हो । नतिजाले सुर्खेतमा वसोवास गर्ने थारु समुदायका नौं प्रतिशत बढी नागरिकमा सिकलसेल एनिमिया रोग संक्रमण पुष्टी भएको जनाएको छ ।
उनले भने, ‘सुर्खेतमा मात्र होइन, नेपालभरका थारु समुदायमा यो समस्या छ । तर हालसम्म पनि समुदायमा यसको पूर्ण जाँच हुन सकेको भने छैन ।’
वीरेन्द्रनगरमा ५२९ जनामा संक्रमणको शंका
वीरेन्द्रनगरमा थारु समुदायको संख्या कुल पाँच हजार पाँच सय ७६ जना छ । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक गरेको ‘नगर पाश्र्वचित्र, २०७५’ का अनुसार वीरेन्द्रनगरको १४ र १५ नं. वडा वाहेकका सबै वडामा थारु समुदायका नागरिकको वसोवास रहेको देखिन्छ ।
नगर पाश्र्वचित्रको तथ्यांक अनुसार नगरको वडागत रुपमा १० नं. वडामा थारु समुदायको संख्या धेरै छ । यहाँ एक हजार सात सय ८१ जना थारु समुदायका नागरिक वसोवास गर्छन् । अन्य वडाहरुमध्ये २ नं. वडामा एक हजार एक सय ८७ जना, ९ नं. वडामा एक हजार तीन सय ४४ जना र ३ नं. वडामा ६ सय ८२ जना वसोवास गर्छन् । अन्य वडाहरुमा भने माथी उल्लिेखित संख्या भन्दा न्यून संख्यामा थारु समुदायको वसोवास रहेको देखिन्छ ।
सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रले गत वर्ष फेला पारेको संक्रमितहरुको संख्या हेर्दा वीरेन्द्रनगरमा पाँच सय २९ जनामा संक्रमण रहेको आंकलन गर्न सकिन्छ । स्वास्थ्य परिक्षण गरिएका मध्येमा नौं दशमलव पाँच प्रतिशतमा संक्रमण पुष्टी भएपछि यहाँ सैयौंको संख्यामा संक्रमितहरु रहेको हुनसक्ने सिकलसेल सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रका सदस्य तथा सुर्खेतका प्रतिनिधि डिलबहादुर चौधरी बताउछन् ।
स्वास्थ्य जाँच मेशिन खरिद गर्न वडाको माग
थारु समुदायका सबैभन्दा धेरै नागरिक वसोवास गरिरहेको वीरेन्द्रनगर–१० को वडा कार्यालयले सिकलसेल एनिमिया रोग परिक्षणका लागि जाँच मेशिन खरिद गर्न माग गरेको छ ।
मंगलवार बसेको आधारभुत स्वास्थ्य सेवा केन्द्र, घुस्राको सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले स्वास्थय जाँच मेशिन खरिद गर्न माग गरेको हो । ‘वडा नं. १० मा चौधरी समुदायमा सिकलसेल एनिमिया रोग देखिएको र सम्पूर्ण प्रभावित क्षेत्रका बासिन्दाहरुको जाँचमा सहज पहुँच प¥याउनका लागि सिकलसेल एनिमिया जाँच मेशिन खरिद÷व्यवस्थापनका लागि वीरेन्द्रनगर नगरपालिकालाई अनुरोध गर्ने’, वडा अध्यक्ष डिलबहादुर रखालको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा वीरेन्द्रनगर नगरपालिकाले सिकलसेल एनिमिया जाँच मेशिन खरिदका लागि बजेट समेत विनियोजन गरेको छ । तर हालसम्म पनि जाँच मेशिन खरिद प्रक्रिया भने शुरु भएको छैन ।
पुनम वि.सी. । सुर्खेत । २० मंसिर २०८०, बुधबार १६:४३