कर्णाली प्रदेश धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा पर्यापर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको प्रदेश हो । त्यसमध्ये पनि साविक कर्णालीका पाँच जिल्लालाई पर्यटकिय हबका रुपमा लिइन्छन् । मुगुमा राराताल, डोल्पामा शेफोक्सण्डो, हुम्लामा मानसरोवर, कालिकोटमा पचाँल झरना र जुम्लामा गिडिदह, गुठिचौर छुमचौर, तातोपानी, चैत्य गुम्बा र प्रसिद्ध चन्दननाथ मन्दिरमा वर्षेनि पर्यटकको घुइँचो लाग्ने गन्तव्य हुन् ।
विशेषगरी मुगुस्थित नेपालकै ठुलो प्राकृतिक ताल रारामा पर्यटको आगमन उल्लेखनीय रूपमा हुँदै आएको छ । चैत वैशाख र दसैं तिहारका बेला रारामा पर्यटकको घुइँचो हुन्छ । तर पूर्वाधार अभावले रारासहित कर्णालीमा अपेक्षित पर्यटक आउन सकेका छैनन् । एकातिर कोरोनाले थलिएको पर्यटन क्षेत्र उठ्न नसक्नु र अर्काेतिर पर्यटन पूर्वाधार निर्माणमा पर्याप्त लगानी नहुनुले कर्णालीको पर्यटन सम्भावना अझै अवसरमा रूपान्तरण हुन सकेको छैन ।
गत कात्तिकमा पाल्पा रामपुर नगरपालिकाको ३५ जनाको टोली रारा पुग्यो । पहिलो पटक रारा आएको उक्त टोलीलाई रारा कतिदिनमा पुगिन्छ ? कहाँ बस्ने ? कति बजे हिँडे कहाँ पुगिन्छ भन्ने कुनै थाहा थिएन । मुस्किलले रारा पुगेपछि सबै पीडा राराको सुन्दरताले हराए पनि व्यवस्थापकीय कमजोरी धेरै रहेको पाल्पा रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले औंल्याए । पर्यटनको यतिधेरै सम्भावना बोकेको रारा तालमा आउन जान कति लाग्छ भन्नेबारे बाटोमा कतै अभिलेखसम्म भेटिएन ।
सहायता माग्दै रारा पुग्यौ । उनले भने, ‘कर्णाली राजमार्गको उस्तै दुर्गति रहेछ । नाग्म–गमगडी सडक धुलाम्ये र हिलाम्य मात्रै । रारामा होटल बासको ठुलो समस्या उस्तै देखियो । विभिन्न समस्याका बाबजुद पनि पर्यटक पुग्छन् । तर एक पटक गएको पर्यटकलाई फेरि फर्काउने वातावरण सृजना गरी बास व्यवस्थापन तथा बाटो सुधार जोड दिन जरुरी छ ।’
पाल्पा रामपुरको टोलीमात्र हैन, दसैं तिहारको अवधिमा मात्रै हजारौको सख्यामा पर्यटक रारा पुगेका छन् । दैनिक कम्तीमा पनि दुई सयसम्म पर्यटक रारा पुग्ने गरेका छन् । रारा पुग्ने अधिकांश पर्यटकको एउटै गुनासो सडक, होटल बास तथा अभिलेखकरणको समस्या रहेको बताउँछन् । रारा तालसँंगै कर्णालीकै प्रसिद्द चन्दननाथ मन्दिरमा पनि पछिल्लो वर्षमा अपेक्षित पर्यटक आउन सकेका छैनन् ।
पर्यटन व्यवसायी नोर्बु लामाले कर्णाली राजमार्ग स्तरवृद्धि नहुनु, र हवाई यात्रा सबैको पहुँचमा नहुनु, सहज रूपमा हवाई टिकट नपाउनुले कर्णालीमा पर्यटक घटेको बताए । अर्थतन्त्र सुधारको मेरुदण्ड मानिने पर्यटन क्षेत्रको वृद्धि विकासमा सरोकारवालाको ध्यान छैन । उनले भने, ‘पर्यटन सम्भावना प्रचुर रहेको कर्णालीमानै संघ र प्रदेश सरकारको न्यून लगानी छ । कर्णाली राजमार्ग र नाग्म गमगडी सडककै कारण पर्यटक आउन मान्दैनन् । आएका पर्यटक फेरि फर्किदैनन् । पर्यटकलाई खर्च गर्ने वातावरणसमेत बनाउन सकिएको छैन् ।’
रारा पर्यटन वर्ष २०७५ घोषणा गरे पश्चात राराताल घुमेर चन्दननाथ मन्दिर भ्रमण गर्ने पर्यटक बढे पनि पूर्वाधार निर्माणमा प्रदेश सरकारले ध्यान नदिँदा पछिल्लो वर्षमा पर्यटक आगमन घटेको देखिन्छ । चन्दननाथको इतिहासबारे बुझ्न,थेसिस गर्न अनुसन्धान गर्ने विदेशी पर्यटक चन्दनाथमा बढी आउने गरेका छन् भने पनि मनोरञ्जनका लागि राराताल, मानसरोवर दर्शन शेफोक्सण्डो पुग्ने गर्छन् ।
पर्यटन पूर्वाधारकै पिरलो
कर्णालीमा पर्यटक आगमन अपेक्षानुसार वृद्धि नहुनु मुख्य कारण पूर्वाधार अभाव हो । कर्णाली पदयात्राको एक उत्कष्ट गन्तव्य भए पनि पूर्वाधार अभावले पर्यटकले सास्ती पाउने गरेका छन् । पर्यटक बढाउन, सडक निर्माण, संचार सुधार, खानेपानी, ठाउँठाउँमा होमस्टे संचालन, प्रचार प्रसारमा जोड, हवाई यातायातमा सहज लगायतको विकास गर्न जरुरी छ ।
रारा तालमा छेउमा पदमार्ग, सडक यातायातलाई भरपर्दो र राम्रो होटल बनाउनु पर्ने मुख्य आवश्यकता देखिएको पाल्पाका विक्रम बस्नेतले बताए । पाल्पाबाट रारातर्फ प्रस्थान गर्दा खाने बस्ने व्यवस्थापन पोखरा लेकसाइट जस्तो होला भन्ने कल्पना गरे पनि रारामा निकै समस्या रहेको उनको भनाइ छ । तर राराको सुन्दरताले सबै कष्ट भुलाएर मन लोभिन्छ ।
हुम्लाको मानसरोवर जान सयौं पर्यटक आउन चाहे पनि पूर्वाधार नहुँदा आउन नसकेको पर्यटन व्यवसायी नोर्बु लामा बताउँछन् । उनी भन्छन, ‘कर्णालीमा ४० पर्यटकीय गन्तव्य छनोट भए पनि उचित नीति र बजेट विनियोजन नगर्दा पर्यटन क्षेत्रको विकास हुन सकेन । दर्जनौ पर्यटकको पदयात्राका लागि अर्डर आए पनि हुम्ला, मुगु, डोल्पा पर्यटक लिन अझै सहज रुट, बासस्थान नभएकोले समस्या छ ।’
साथै हवाई सेवामा पर्यटकका लागि छुटै सिट छुटाउनु पर्नेमा समेत पहुँचकै भरमा टिकट दिने प्रवृत्तिको अन्त्य भएको छैन । जसका कारण कर्णालीमा पर्यटक क्षेत्रले गति लिन सकेको छैन । पूर्वाधार विकास बिना पर्यटन प्रवर्द्धन सम्भव छैन । स्थानीय तहको नजर सधै सडक निर्माण गर्न डोजरे विकासमा देखिन्छ । कर्णाली प्रदेश सरकार स्थानीयतहले पर्यटन क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्नेमा पर्यटन व्यवसायी लामाको जोड छ ।
पर्यटन क्षेत्रबाटै आर्थिक समृीद्ध भित्र्याउन सकिने, प्रचुर सम्भावना कर्णालीमा भए पनि लगानी अभावले सम्भावना अव्सरमा रूपान्तरण हुन नसकेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतले बताए । कात्रिक दोस्रो साता राराताल पुगेका महतले वर्षाैंपछि पुग्दा पनि रारामा सञ्चारबाहेक अन्य विकास हुन नसकेको उल्लेख गरे ।
उनले भने, ‘पहिलो चुनौती बाटो देखियो । भने दोस्रो होटल बास । रारा पुग्न जुम्ला–उर्थु, न्याउरीघाट–भुलभुले सडक निकै छोटो छ । त्यसलाई स्तरवृद्धि गर्न आवश्यक छ । साथै कर्णाली राजमार्ग र नाग्म–गमगडि सडक पनि सुधार जरुरी छ । रारामा पुगेका पर्यटकहरू बोटिङसमेत नगरेर फर्किन बाध्य छन् । निकै महँंगो पनि छ । रारा ताल भ्रमणका लागि सामान्य प्याकेज, रुट सार्वजनिक भए अझ सहज हुन्छ ।’ यसैबीच कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०÷८१ का लागि पर्यटन प्रवद्र्धन तथा पर्यटन पूर्वाधार विकासका लागि दुई अर्ब १४ करोड १२ लाख रुपैयाँ विनियोजित गरेको छ ।
बजेट वक्तव्यको बुदाँ नं.१६७ मा राराको मुर्मा गाउँलाई प्रकृतिमैत्री पर्यटकीय होमस्टे विकास लगायतको पूर्वाधार विकास गरिने, बुँदा नं. १६५ मा सिञ्जा उपत्यकालाई विशेष पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने, कर्णालीमा आन्तरिक उडान सहज गर्ने, धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटन क्षेत्रको गुरुयोजना बनाउने उल्लेख गरिए पनि कुनै कार्यान्वयनमा आउन सकेको छैन । दुई अर्ब बढी बजेट पर्यटन प्रवर्द्धनमा विनियोजन गरेको कर्णाली सरकारले रारा तालको लागि छुट्टै कुनै बजेट र नीति ल्याउन सकेको छैन ।(कारोबार)
युग संवाददाता । जुम्ला । ४ मंसिर २०८०, सोमबार १३:५७