भूकम्प पीडितको राहात तथा पुनर्निर्माणका लागि जुम्लाका स्थानीय सरकारले ३६ लाख ६ हजार रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।
स्थानीय तहहरुले भूकम्पले प्रभावित जाजरकोट र रुकुमपश्चिमको राहत तथा पुनःस्थापनका लागि सहयोग पुग्ने भन्दै आ–आफ्नो स्थानीय तहले सहयोग रकमको घोषणा गरेका हुन् ।
नेपाल सरकारले भूकम्प पीडितका लागि खडा गरेको प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमै सहयोग रकम जम्मा गर्ने विज्ञप्ति मार्फत जनाएका छन् ।
जुम्लाको गुठिचौर गाउँपालिकाले १० लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने भएको छ । तातोपानी गाउँपालिकाले १० लाख, चन्दननाथ नगरपालिकाले पाँच लाख ५५ हजार, यसैगरी पातारासी गाउँपालिकाले पाँच लाख, तिला गाउँपालिकाले तीन लाख रुपैयाँ राहतस्वरुप सहयोगको घोषणा गरेकका छन् ।
यता जुम्लाको सिँजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाले पनि एक -एक लाख रकम सहयोग गर्ने विज्ञप्ति जारी गरेका छन् । यस्तै जुम्लाका प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले एक लाख ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेकि छन् । सांसद लामाले सो रकम विपत कोषमा जम्मा गरिसकिएको बताइन् ।
लामाले भनिन् विपतमा सानो सानो सहयोगले उपचार, राहात, पुनःस्थापनाका लागि सहयोग पुग्नेछ । व्यक्तिगत रुपमा नगद लत्ताकपडा र सिरक पनि भूकम्प प्रभावित क्षेत्रमा पठाएको जनाइन् । करिब साढे चार लाख बराबरका लत्ता कपडा, सिरक प्रभावित क्षेत्रमा सहयोग भएको बताइन् ।
पहिलो चरणमा एक सय पिस कपडा, दोस्रो चरणमा एक सय ९० वटा डबल साईजको फाइबर सिरक र एक सय २० थान कपडा भूकम्प प्रभावित क्षेत्रमा पठाइएको बताइन् ।
गाेल्डेन बुढा । जुम्ला । ४ मंसिर २०८०, सोमबार ११:२४