अघिल्लो साता धादिङका अमलेस कार्की कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य मुगु जिल्लामा अवस्थित राराताल भ्रमणमा निस्केका थिए । भ्रमणमा निस्कनुअघि उनले राराताल घुम्ने र घर परिवारका लागि कोदोको पिठो लिएर जाने योजना बनाइसकेका थिए । राराताल घुमेर उनि जुम्लाको सदरमुकाम खलंगा पुगेका उनले २० किलो कोदोको पिठो किनेर लगे ।
कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्ने अनि स्वास्थ्यका लागि फाइदाजनक बाली भएकाले कोदोको पिठो किनेको उनले बताए । पछिल्लो समय सदरमुकाम खलंगास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्ग्यानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक तथा बाह्य पर्यटकको दिनहुँ घुइँचो लाग्ने गरेको छ ।
दुई वर्षअघिसम्म कोदाको दाना बेचिरहेको मिनी मार्केटले अहिले किसानसँग पिठो किन्छ ।चन्दननाथ नगरपालिका–८ कोटिलाका धर्मराज बोहरा कोदो खेती गर्ने किसान हुन् । उनको अधिकांश बारीमा कोदो रोपिएको छ ।
केही दिनअघि उनी ८० किलो कोदोको पिठो बोकेर सदरमुकाम खलंगा आइपुगे,किलोको एक सय रुपैयाँमा बेचेको बताए । उनले आठ हजार रुपैयाँ कमाए । हामीले कोदो रोप्यौं, तर कोदोको मूल्य थाहा पाएनौं । कोदो बेच्यौं, तर यसले दिने फाइदाबारे जानेनौं । बल्ल अहिले कोदोको महत्त्वबारे बुझ्दै छौं । यस्तै तातोपानी–५ श्रीनगरकी एकुमाया महतको घरखर्च चलाउने माध्यम नै कोदो खेती हो । कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको छ ।
नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदो खेती गरिन्छ । सुक्खा तथा चिस्यान कम हुने माटोमा पनि राम्रोसँग सप्रिने हुनाले एकुमायाले कोदो खेती गरेकी हुन् । चन्दननाथ नगरपालिका–२ की पूजा अधिकारी घरमा आर्थिक संकट पर्नेबित्तिकै कोदोको पिठो पिसेर बजार लैजान्छिन् । सानोतिनो संकट कोदोको पिठो बेचेर समाधान हुने गरेको उनको अनुभव छ ।
कोदोको पिठो र दाना बिक्छ भन्ने थाहा थिएन । घरमा रोटीका लागि मात्रै प्रयोग भइरहेको थियो । कोदोको दाना र पिठोको माग सर्वत्र रहेछ । कोदोको पिठो बेचेर वार्षिक ५० हजार कमाइ गर्ने गरेको उनले बताइन् । जुम्लाको कोदो चैत–वैशाखमा रोपेर असोजमा भित्र्याइन्छ । यस वर्ष हालसम्म तीन सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्ग्यानिक मिनी मार्केटको तथ्यांक छ । मार्केटले किसानबाट कोदोको पिठो एक सय रुपैयाँमा किनेर बजारमा एक सय ५० रुपैयाँमा उपलब्ध गराएको छ ।
कोदोको दाना भने किसानबाट ८० रुपैयाँमा किनेर एक सयमा बेच्ने गरिएको बताइएको छ । सदरमुकाम खलंगामा अर्ग्यानिक उत्पादन बेच्ने कोसेली घर पाँचवटा छन् । यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा कोदोको पिठो छ । चन्दननाथ सहकारीले सुर्खेतको विमानस्थलमा अर्ग्यानिक मिनी मार्ट खोलेर कोदोको पिठो नै बेचिरहेको छ । कोदोको अत्यधिक माग भए पनि जुम्लाका पालिकाले कोदो बालीको संरक्षणमा खासै चासो नदिएको किसानको गुनासो छ ।
मेचीदेखि महाकालीसम्म कोदोको पिठो पुगेको मिनी मार्टका शाखा प्रमुख राजु बोहोरा बताउँछन् । उनका अनुसार कर्णाली घुमेर जुम्ला पुग्ने हरेक पर्यटकले थोरबहुत कोदोको पिठो लिएरै जान्छन् । यता जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा तीन हजार आठ सय ८५ हेक्टरमा खेती भइरहेको छ ।
गाेल्डेन बुढा । जुम्ला । ३ मंसिर २०८०, आईतवार २०:२२