१० हजार टेन्ट, २९ हजार त्रिपाल अझै अभाव

जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुका लागि अझै १० हजार भन्दा बढी टेन्ट र २९ हजार बढी त्रिपाल अभाव नै देखिएको छ ।

यि दुई जिल्लाका सात वटा स्थानीय तहमा १० हजार दुई सय ९४ वटा टेन्ट र २९ हजार पाँच सय २७ वटा त्रिपाल आवश्यक रहेको राष्ट्रिय विपद् जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

बारेकोट गाउँपालिकामा एक हजार ३५ वटा टेन्ट र दुई हजार हुई सय ८६ वटा त्रिपाल आवश्यक छ । त्यसैगरी छेडागाड नगरपालिकामा एक हजार नौं सय ४५ वटा टेन्ट र चार हजार पाँच सय ४५ वटा त्रिपाल आवश्यक रहेको प्राधिकरणले जनाएको छ । शिवालय गाउँपालिकामा १६ वटा टेन्ट र ३२ वटा त्रिपाल र नलगाड नगरपालिकामा एक हजार दुई सय वटा टेन्ट , चार हजार दुई सय १६ वटा त्रिपालको आवश्यकता रहेको प्राधिकरणका प्रवक्ता धुब्रबहादुर खड्काले जानकारी दिए । रुकुम पश्चिम तर्फ सानीभेरी नगरपालिकामा एक हजार दुई सय ४६ वटा टेन्ट , तीन हजार सात सय ४१ वटा त्रिपालहरु आवश्यक रहेको उनले जानकारी दिए ।

आठबिसकोट नगरपालिकामा तीन हजार वटा टेन्ट र आठ हजार वटा त्रिपाल तथा चौरजहारी नगरपालिकामा एक हजार पाँच सय ५२ वटा टेन्ट, ६ हजार एक सय २६ वटा त्रिपाल आवश्यक रहेको प्राधिकरणको तथ्यांक छ । भूकम्पले क्षति पुगेको सल्यानमा समेत तीन सय वटा टेन्ट र पाँच सय ८१ वटा त्रिपालहरु आवश्यक रहेको उनले जानकारी दिए ।

वितरण संख्या ज्यादै न्युन

हालसम्म जाजरकोटमा ७३ वटा टेन्ट र ८३ वटा पारिवारिक टेन्टहरु वितरण भईसकेका छन् ।

प्राधिकरणलाई बुधवार प्राप्त मंगलवारसम्मको तथ्यांक अनुसार जाजरकोटमा नौं हजार एक सय १४ वटा पाल, १२ हजार ७६ वटा ब्ल्यांकेट वितरण भएको देखिन्छ ।

रुकुम पश्चिम तर्फ ३० वटा टेन्ट वितरण भएका छन् । त्यसैगरी एक हजार सात वटा त्रिपाल समेत वितरण भएको तथ्यांक छ ।

हालसम्म रुकुम पश्चिमका दुई हजार तीन सय ६० वटा ब्ल्यांकेट वितरण भएको प्राधिकरणको तथ्यांक छ ।

जाजरकोटमा ६७ हजार नागरिक विस्थापित

भूकम्पका कारण जाजरकोटमा ६७ हजार बढी नागरिक विस्थापित भएका छन् ।

भूकम्पले जिल्लामा ३४ हजार बढी घरमा क्षति पुर्याएको थियो । बुधवार साँझसम्मको तथ्यांक अनुसार जाजरकोटमाका कुल नौं हजार सात सय ९४ घरमा पूर्ण क्षति पुर्याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकारणको तथ्यांक छ । त्यसैगरी जिल्लामा कुल २४ हजार सात सय सात घरमा भूकम्पले आंशिक क्षति समेत पु¥याएको छ ।

जिल्लामा कुल ६७ हजार एक सय ७४ जना नागरिक भूकम्पका कारण विस्थापित भएको प्राधिकरणको तथ्यांक छ । त्यसैगरी जाजरकोटमा मात्र भूकम्पका कारण एक लाख ५४ हजार तीन सय ९६ जना नागरिक प्रभावित भएका थिए ।

विस्थापित हुनेहरुमा सबैभन्दा धेरै कुशें गाउँपालिकामा रहेका छन् । पालिकामा कुल २५ हजार आठ सय १५ जना विस्थापित भएको प्राधिकरणको तथ्यांक छ । त्यसैगरी नलगाड नगरपालिकामा १५ हजार तीन सय ४१ जना, भेरी नगरपालिकामा १४ हजार नौं सय ९७ जना विस्थापित भएका छन् । छेडागाड नगरपालिकामा एक हजार आठ सय १०, बारेकोट गाउँपालिकामा पाँच हजार ६ सय ३२, जुनीचाँदे गाउँपालिकामा तीन हजार चार सय ४९ जना नागरिकहरु भूकम्पका कारण विस्थापित भएका हुन् । शिवालय गाउँपालिकामा भने भूकम्पका कारण एक सय ३० जना नागरिक विस्थापित भएको प्राधिकरणको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया
error: Content is protected !!