
पर्यटन प्रर्वद्धनको उद्देश्यले मुगुको रारा ताल वरपरी ‘रारा ताल साईकल परिक्रमा मार्ग निर्माण’ योजना शुरु गरिएको अहिले छैठौं आर्थिक वर्षमा प्रवेश गरेको छ । तर हालसम्म पनि साईकल मार्ग निर्माण आयोजना भने पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।
२०७७ सात असोज १ गतेका दिन कर्णालीका तत्कालिन मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालिन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले संयुक्त रुपमा साइकल मार्गको शिलान्यास गरेका थिए ।
कर्णालीको प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि नै साइकल मार्ग निर्माणका लागि बजेट विनियोजन गर्न थालेको थियो । क्रमागत योजना अनुसार साइकल मार्ग निर्माण गर्ने लक्ष्य लिएको प्रदेश सरकारले २०७६/०७७ मा समेत तीन करोड रुपैयाँ विनियोजन गर्यो ।

त्यस आर्थिक वर्षमा भने शङ्कर माली जेभी निर्माण कम्पनीले दुई करोड ८८ लाख रुपैयाँमा ठेक्का कबोल गरेको थियो । नेपालकै सबैभन्दा धेरै लम्बाई भएको साइकल मार्गको परिकल्पना गरिएको यस आयोजना हालका समयसम्म पनि निर्माण सम्पन्न हुन सकेको छैन ।
आयोजना निर्माणका चरणमा सुरुवाती समयमा विछ्याइएका ढुंगाहरु जस्ताको त्यस्तै छन् ।
हाल २०८०/०८१ मा रारा साइकल मार्गका लागि प्रदेश सरकारले पुनः दुई करोड रुपैयाँ समेत विनियोजन गरेको छ ।
आयोजना निर्माणको जिम्मा पाएको निर्माण कम्पनी डिभिजन वन कार्यालय, मुगुसँग समेत आधिकारिक सम्पर्कमा आएको पनि छैन । चालु आर्थिक वर्षमा आयोजनाका लागि पुनः बजेट विनियोजन भएपछि भने कार्यालयले निर्माण कम्पनीसँगको सम्झौता नविकरण गर्ने भएको छ ।
डिभिजन वन कार्यालय, मुगुका कार्यालय प्रमुख असरप्रसाद साहले भने, ‘हामीले निर्माण कम्पनीलाई पत्राचार गरेका छौ । सार्वजनिक खरिद नियमावली अनुसार पुनः सम्झौता नविकरणका लागि खवर गरेका हौँ ।’
‘ठेक्का पाएको कम्पनीका सञ्चालक मुगुका स्थानीय नै हुन् । कम्पनीका सञ्चालकको अन्य व्यक्तिगत समस्या भएकाले ढिला भएको हुनसक्छ । उहाँका परिवारमा चिठिपत्र सहित खवर समेत पठाएका छौँ । यसै आर्थिक वर्षमा काम सम्पन्न हुन्छ’, उनले भने ।
साईकल मार्गमा हालसम्मको कार्यप्रगति विवतरण बारे प्रश्न गर्दा कार्यालय प्रमुख साहले निर्माणको जिम्मा पाएको कम्पनीले तिब्र गतिमा काम गरे एक महिनाको अवधिमा निर्माण कार्य सम्पन्न गर्ने जानकारी दिए ।
निर्माण कम्पनीको आलटाल
कार्यालयले पत्राचार गर्दा समेत निर्माण कम्पनी आधिकारिक सम्पर्कमा नआएपछि अहिले डिभिजन वन कार्यालय आगामी फागुन महिनासम्म पर्खने योजनामा छ ।
अर्धवार्षिक समिक्षा पछि प्रदेश सरकारले खर्च हुन नसक्ने बजेटहरुलाई रकमान्तर गर्ने समयसम्म पर्खने डिभिजन वन कार्यालय, मुगुका सूचना अधिकारी निरज झाले जानकारी दिए ।
‘हामीले प्रक्रियागत रुपमा निर्माण कम्पनी, बैंक लगायतका सबै निकायमा पत्राचार गरिसकेका छौँ । रकमान्तर समयसम्म पनि आएनन् भने यो आर्थिक वर्षमा साइकल लेनको बजेट अन्य शिर्षकमा रकमान्तर हुने सम्भावना छ’, उनले भने ।
यसअघि गत वर्ष २०७९/०८० मा कम्पनीले बिल भुक्तानीका लागि कागपत्र समेत पेश गरेको थियो । तर सो समयमा यस बजेट शिर्षकमा रकम नभएका कारण भुक्तानी हुन नसकेको उनले जानकारी दिए । हालसम्ममा शङ्कर माली जेभी निर्माण कम्पनीले दुई पटक पेश्की, एक पटक बिलको भुक्तानी लिएको उनले जानकारी दिए ।
आर्थिक वर्ष २०७६/७७ मा शंकर माली जेभी निर्माण कम्पनीसँग दुई करोड ८८ लाखमा सम्झौता भएको थियो । एक किलोमिटर लम्बाइ र एक दशमलव ६ मिटर चौडाइसहितको ब्लक निर्माण गरिने सम्झौतामा उल्लेख थियो । यस विषयमा थप जानकारी लिन बुझ्न शंकर माली जेभी निर्माण कम्पनीका सञ्चालक डिवी कार्की (९८५१०२५७१९)सँग फोन सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।
पुनम वि.सी. । सुर्खेत । १४ कार्तिक २०८०, मंगलवार ११:२६