शुक्रवार विहान मुगुमा एकै घरका चार जनाको शव फेला प¥र्यो । स्थानीयले दुई दिनसम्म घरमा कसैलाई नदेखेपछि शंकास्पद रुपमा घरको ताला फोडेका थिए ।
घर भित्र तीन बालबालिका सहित उनका आमा समेत मृत अवस्थामा फेला परे । जिल्ला प्रहरी कार्यालय, मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार छायाँनाथ रारा नगरपालिका–६, मन्दु गाउँकी २६ वर्षिय श्रीदेवी बोहोरा, उनका ११ वर्षिय छोरा मनोज बोहोरा, एक वर्षिय छोरा रहर बोहोरा र सात वर्षिय छोरी अप्सरा बोहोराको हत्या भएको बताए ।
मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते बिहान दशैंको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन् । कोटिल्ला पनि छायाँनाथ–६ मै पर्छ ।
भोलिपल्ट ८ गते बेलुका घर फर्केका उनीहरूको सोही राति हत्या भएको प्रहरीको अनुमान गरिएको छ ।
‘९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखिपछि छिमेकीहरूले बिहानै सिमी टिप्न खेत गरा तिर गएका होलान् सोचेका रहेछन्’, थापाले भने, ‘आज बिहानसम्म पनि घरमा ताला लगाएको देखे । स्थानीले फेरी माइतीतिर गएको हो कि भनेर फोन गरेका थिए । तर माइतीबाट ८ गते नै फर्किएको बताएपछि बिहान १० बजेतिर स्थानीयले ढोकाको ताला तोडेका थिए । भित्र हेर्दा चारै जनाको हत्या भएको देखेका थिए ।’
मृतकमा श्रीमान् वैदेशिक रोजगारीमा रहेका छन् । घटनामा हत्याराको खोजीमा प्रहरीले अनुसन्धानका लागि कुकुरसम्म झिकाउने प्रहरीले तयारी गरेको छ ।
युग संवाददाता । सुर्खेत । १० कार्तिक २०८०, शुक्रबार १६:०९