यतिबेला जुम्लाका किसानलाई ‘जुम्ली कालीमार्सी’ धान काट्न चटारो चलिरहेको छ ।
जुम्लाका आठ वटै स्थानीय तहमा रहेका खेतका फाँटमा कालीमार्सी जातको धान उत्पादन हुन्छ । धान पाक्न थालेपछि किसानलाई धान काट्न भ्याइ–नभ्याइ भएको किसान गुठिचौर गाउँपालिका– ५ निवासी शान्ति कुमारी भण्डारीले बताइन् ।
यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको उनले बताइन् । आजभोलि किसान यतिबेला मार्सीधान भित्र्याउन व्यस्त देखिन्छन् ।
जुम्लामा दुई हजार नौं सय ५० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले बताए । उनले भने, ‘६ हजार तीन सय ७७ मेट्रिकटन उत्पादन हुन्छ । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय जगतसम्म नै पुगेको छ ।’
राणा शासनको समयमा केन्द्रमा रहेका शासकका लागि यही मार्सी धानको चामल हुलाकबाट काठमाडौँसम्म पुर्याउने गरेको चन्दननाथ चन्दननाथ नगरपालिका–४ का ७९ वर्षिय तिर्थराज भारती स्मरण गर्छन् ।
करिब सात सय वर्षअघि जुम्लीहरुका इष्ट देवता चन्दननाथले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याएको धार्मिक विश्वास गरिन्छ । २०२७ सालमा जुम्लामा स्थापना भएको कृषि अनुसन्धान केन्द्रले १३ वर्षसम्म स्वदेशी तथा विदेशी जातका धानको बिउको अनुसन्धान गरेको थियो । यसको सक्कली बीउ अनुसन्धानका लागि कृषि अनुसन्धान केन्द्रमा राखिए पनि अन्यत्र भने हराइसकेको छ ।
मार्सी विश्वको अग्लो स्थानमा फल्ने धानको रूपमा लिइन्छ । कृषि विज्ञहरुका अनुसार चिसो हावापानीमा उत्पादन हुने खाद्यान्न र फलफूल निकै स्वादिलो हुन्छन् । त्यसैले जुम्लालगायत हिमालको तल्लो भेग र उच्च पहाडमा फल्ने मार्सी धानको भात निकै मिठो र स्वादिलो हुन्छ ।
सात महिनामा पाक्छ मार्सी
उच्च रक्तचाप, मधुमेह लगायतका बिरामीलाई यो चामलको भातले निकै फाइदा हुने बताइएको छ । त्यसैलेपनि शहरी क्षेत्रमा यसको माग बढी हुने गरेको किसानहरु बताउँछन् ।
जुम्लामा धानखेती दुई हजार देखि दुई हजार सात सय ९० मिटरसम्म हुने गरेको छ । जिल्लाको पातारासी गाउँपालिकाको छुुमचौर ज्युलोमा समेत मार्सी फल्छ । मार्सी धान पाक्न सात महिना पूरै लाग्छ । चैत १२ गते बीउ भिजाएर १६ गतेतिर बीउ उतारेर सुकाउने अनि तातो कुनामा राखेर पातीले छोप्ने गरिन्छ । त्यसपछि १८ देखि २० चैतसम्म हिल्याएको माटो पिँधमा बसेपछि छरिसक्नुपर्छ ।
वैशाख १ मा बेर्नाको पानी पूरै सुकाउने प्रचलन छ । त्यसपछि बीउ हरियो हुन्छ । भेडाबाख्राको धूलो मल, कालो कोइला, घर बढारेको कसिंगर चालेर मलका रूपमा हालिन्छ ।
एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । जौ काट्दै सँगसँगै रोपाइँ गरिन्छ । जेठ पहिलो सातादेखि रोपाइँ शुरु हुन्छ, असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्छ । भदौमा झारजङ्गल काट्नुपर्छ ।
कीराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो, तर अहिले तापक्रम बढेकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । मार्सी धान खेतीबारे चन्दननाथ बाबाले पुस्तक नै लेखेको खस भाषाविज्ञ रमानन्द आचार्यले बताए ।
गाेल्डेन बुढा । जुम्ला । २ कार्तिक २०८०, बिहीबार १५:४०