हालको समयमा कर्णालीमा सुनपाती संकलनको समय हो । विषेश गरेर असोजदेखि कार्तिक महिनामा सुनपातीको संकलन हुन्छ ।
यो वनस्पतिको सांस्कृतिक रुपमा समेत प्रयोग हुन्छ । हुम्लाका स्थानीयहरु यस वनस्पतिलाई ‘भुत भगाउने चलन’ मा समेत प्रयोग गर्छन् । बास्नादार भएकाले यसलाई धुपी र भुत्लेको जरासँग मिसाएर आगो बालेर भुत भगाउने हुम्लामा सांस्कृतिक चलन छ ।
आयुर्वेदमा समेत सुनपातीको प्रयोग हुन्छ । सुनपातीको पात र फुलको प्रयोग श्वासप्रश्वास सम्बन्धी समस्यामा प्रयोग हुन्छ ।
रुघा, खोकी, दम, ब्रोङ्काइमटस पेट, कलेजोको लागि यो लाभदायी हुन्छ । फोक्सोका विकारहरू, अपच बान्ता, दुखाइ कम गर्ने आदीमा सुनपाती सेवन गर्न सकिन्छ । यसको पाउडर दूधसँग खाएमा उच्च रक्तचाप, पक्षाघात, जोर्नी दुई र ज्वरोमा फाइदाजनक हुन्छ ।
हुम्लाका स्थानीयहरु यस वनस्पतिलाई ‘भुत भगाउने चलन’मा समेत प्रयोग गर्छन् । बास्नादार भएकाले यसलाई धुपी र भुत्लेको जरासँग मिसाएर आगो बालेर भुत भगाउने हुम्लामा सांस्कृतिक चलन छ ।
व्यवसायिक रुपमा हेर्दा यो वनस्पति अत्तरहरु बनाउन प्रयोग हुन्छ । सुनपातीको पातबाट महंगाखाले अत्तरहरु बन्छन् । यसका साथै तेल निकालिसकेको छोक्राबाट धुप समेत बनाउने गरिन्छ ।
व्यवसायिक रुपमा सुनपाती बिक्रि शुरु भएको केहि वर्ष मात्र भएको छ । कर्णालीबाट वार्षिक रुपमा १२ हजार सात सय किलोग्राम सुनपाती बिक्रि हुने वन विभागको तथ्यांक छ । हुम्ला, मुगु, डोल्पा, जुम्लालगायतका क्षेत्रमा पाँच हजार एक सय मिटरसम्मको उचाईमा पाइने यो जडिबुटीको प्रयोग पनि धेरैमा छ ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा हालै मात्र प्रकाशित ‘बडीबुटीहरुको पहिचान पुस्तिका’का अनुसार कर्णालीबाट वार्षिक रुपमा १४ हजार एक सय २५ केजि सुनपाती निर्यात हुने उल्लेख छ ।
मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठले हालको समयमा सुनपाती प्रति किलो एक सय ३० रुपैयाँसम्म बिक्रि हुने गरेको जानकारी दिए । वार्षिक रुपमा हेर्दा सुनपाती निर्यातबाट मात्र कर्णालीले १८ लाख ३६ हजार सम्म आम्दानी गरेको देखिन्छ ।
मन्त्रालयका लागि डा. दिपेश प्याकुरेल र मोहन देव जोशीले गरेको अध्ययनका अनुसार यो वनस्पति तीन हजार तीन सयदेखि पाँच हजार एक सय मिटरसम्मको उचाईमा पाइन्छ । विशेष गरेर उत्तर फर्केको, खुल्ला तथा ओसिलो पत्थरीलो भीर, चट्टान, बुट्यानक्षेत्र तथा वनमा पाईन्छ ।
४७ प्रतिशत जडिबुटी कर्णालीबाट
नेपालमा व्यापार हुने जडीबुटीहरुको कुल परिमाणमध्ये ४७ प्रतिशत कर्णालीबाट निर्यात हुन्छ ।
कर्णालीमा ६० प्रकारका जडिबुटीहरुको निर्यात भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ । कर्णालीबाट वार्षिक रुपमा अनुमानित एक अर्व दुई करोड रुपैयाँ भन्दा धेरै जडीबुटीको निर्यात हुने मन्त्रालयले जनाएको छ ।
पुनम वि.सी. । सुर्खेत । ३० आश्विन २०८०, मंगलवार ११:५८