कर्णाली प्रदेश सरकारले द्वन्द्वका घाइते भएका नागरिकहरुको उपचार खर्च बढाएको छ । प्रदेश सरकारले शसस्त्र द्वन्द्व र जनआन्दोलनका क्रममा घाइते भएका नागरिकको उपचारमा विरामी कुरुवा सहितलाई प्रदान गर्दै आएको यातायात खर्चमा वृद्धि गरेको हो ।
सशस्त्र द्वन्द्व वा जनआन्दोलनका क्रममा घाइते भएका कर्णालीका नागरिकहरुका लागि उपचारमा सहज गराउने उद्देश्यले प्रदेश सरकारले ‘द्वन्द्व पीडित घाइते अपाङ्ग उपचार खर्च कार्यविधि’मा संशोधन गरेको हो ।
गत असोज १७ गते संशोधन सहितको उपचार खर्च कार्यविधि प्रदेश राजपत्रमा प्रकाशन गर्दै प्रदेश सरकारले उपचार खर्चको यातायात तर्फ द्वन्द्व पीडित घाइतेका लागि १२ हजार रुपैयाँसम्म खर्च दिने भएको हो ।
त्यसैगरी विरामी कुरुवाका लागि आठ हजार रुपैयाँसम्म यातायात खर्च समेत प्रदेश सरकारले उपलब्ध गराउनेछ । यो सुविधा हुम्ला जिल्ला स्थायी ठेगाना रहेका घाइते पीडितहरुका लागि हो ।
हुम्ला वाहेक कर्णालीका अन्य जिल्लाहरुमा वसोवास गरेका द्वन्द्वमा अपाङ्ग भएकाहरुका लागि यसअघि उपचारका समयमा कुरुवा सहित एकमुष्ट तीन हजार रुपैयाँ दिने व्यवस्था थियो । तर अव भने जिल्लागत रुपमा यातायात खर्च दिइने कार्यविधिमा व्यवस्था गरिएको छ ।
द्वन्द्व तथा जनआन्दोलनमा घाइते भएकाहरुका लागि उपचारमा जाँदा मुगु जिल्लाका लागि ६ हजार, जुम्ला र कालिकोटका नागरिकलाई तीन–तीन हजार रुपैयाँ यातायात खर्च दिइने व्यवस्था गरिएको छ । जाजरकोट र रुकुम पश्चिमका नागरिकलाई दुई हजार पाँच सय रुपैयाँ घाइते विरामीका लागि उपलब्ध हुनेछ ।
डोल्पाका लागि भने कार्यविधिले यातायात खर्च घटाएको देखिन्छ । यसअघि घाइते र विरामी कुरुवाका लागि एकमुष्ट २० हजार रुपैयाँ उपलब्ध हुने व्यवस्था थियो ।
अहिले कार्यविधिले विरामीका लागि ६ हजार रुपैयाँ र कुरुवाका लागि चार हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ ।
त्यसैगरी घाइते पीडितसँग आउने कुरुवाका लागि हुम्लाका नागरिकले आठ हजार रुपैयाँ पाउनेछन् । डोल्पा र मुगुका चार–चार हजार, जुम्ला र कालिकोटका लागि दुई–दुई हजार, जाजरकोट र रुकुम पश्चिमका लागि एक हजार पाँच सय रुपैयाँ विरामीका कुरुवालाई उपलब्ध हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।
दैलेखबाट विरामीका साथमा आउने कुरुवाका लागि एक हजार रुपैयाँ उपलब्ध हुनेछ । उपचार खर्चका लागि भने प्रदेश सरकारले तोकेका अन्य मापदण्डका आधारमा हुनेछ ।
सुर्खेतमा पालिकागत यातायात खर्च
गुर्भाकोट, लेकवेशी र भेरीगंगा नगरपालिकाबाट उपचारमा स्वास्थ्य संस्था आउने पीडित विरामीका लागि एक हजार रुपैयाँ र विरामी कुरुवाका लागि पाँच सय रुपैयाँ खर्च कार्यविधिले व्यवस्था गरेको छ । वीरेन्द्रनगर नगरपालिका भरका विरामी र कुरुवाका लागि पाँच–पाँच सय रुपैयाँ यातायात खर्चको व्यवस्था छ ।
पञ्चपुरी नगरपालिका र सिम्ता, चिङ्गाड, वराहताल, चौकुने गाउँपालिकाबाट उपचारका लागि आउने पीडित विरामीले भने यातायात वापत दुई हजार रुपैयाँ पाउनेछन् । यि पालिकाबाट विरामीको साथमा आउने कुरुवाले एक हजार रुपैयाँ पाउने कार्यविधिमा व्यवस्था भएको छ ।
यातायात खर्चका लागि विरामीले अस्पतालमा नै निवेदन दिनुपर्ने कार्यविधिमा व्यवस्था गरिएको छ ।
हरेक दिन एक हजार रुपैयाँ खाना खर्च
द्वन्द्व पीडित घाइते अपाङ्गता भएको व्यक्ति अस्पतालमा उपचार गराउँदा विरामी कुरुवा समेतले खाना खर्च पाउनेछन् । अस्पतालमा भर्ना भई बहिर्गमन (डिस्चार्ज) हुने बेलासम्म विरामी सहित कुरुवाका लागि प्रति दिन एक हजार रुपैयाँ उपलब्ध हुनेछ ।
विरामीका लागि अस्पतालमै खाना उपलब्ध हुने अस्पतालहरुमा भने विरामीका कुरुवाले मात्र प्रति दिन पाँच सय रुपैयाँ खाना खर्च पाउनेछन् ।
प्रदेश सरकारले द्वन्द्व पीडित घाइते अपाङ्गता भएको व्यक्तिको उपचारको लागि सम्झौता पश्चात अस्पताललाई एकमुष्ट खर्च रकम पठाउने व्यवस्था गरेको छ ।
विवरण खुल्ने कागजपत्र भए पुग्ने
यस सुविधाका लागि द्वन्द्व पीडित घाइते अपाङ्गता भएको व्यक्तिको परिचय पत्रका साथमा घाइते वा अपाङ्गता भएको विवरण खुल्ने कागजपत्र आवश्यक पर्नेछ ।
स्थानीय तहले प्रदान गरेको परिचय पत्रको हकमा भने सम्बन्धित जिल्ला प्रशासन कार्यालयले समेत प्रमाणित गरेको हुनुपर्ने कार्यविधिमा व्यवस्था छ ।
२०५२ साल फागुन १ गतेदेखि २०६३ मंसिर ५ गतेसम्मको सशस्त्र द्वन्द्व र जनआन्दोलनमा घाइते भई तत्कालिन शान्ती समितिको सिफरिस सूचीमा नाम समावेश भएकाहरुले यो सेवा प्राप्ीत गर्न सक्नेछन् । त्यसैगरी प्रदेश आन्दोलनको क्रममा घाइते वा अपाङ्गता भएका नागरिकहरु समेत समावेश हुनेछन् ।
सशस्त्र द्वन्द्वका चार सय बढी परिवार
वि.सं. २०५२ देखि २०६३ सम्मको सशस्त्र द्वन्द्व अवधिमा कर्णालीमा कुल चार सय ३२ जना द्वन्द्वमा परी अपाङ्ग भएका थिए ।
अनौपचारिक सेवा केन्द्र (ईन्सेक)को तथ्यांक अनुसार सबैभन्दा बढी कालिकोटका एक सय २८ जनामा द्वन्द्वका कारण अपाङ्गता भएको थियो । त्यसैगरी सुर्खेतका ८१ जना, सल्यानका २१ जना, डोल्पाका सात जना, जुम्लाका ४४ जना द्वन्द्वमा परी अपाङ्ग भएका थिए ।
मुगुका १८ जना, हुम्लाका २८ जना, दैलेखका ३९ जना, जाजरकोटका ६३ जना र रुकुम पश्चिमका तीन जना अपाङ्ग भएको ईन्सेकको ‘द्वन्द्वपीडित पाश्र्वचित्र’मा उल्लेख छ ।
पुनम वि.सी. । सुर्खेत । २९ आश्विन २०८०, सोमबार ११:५४