सार्वजनिक बहसमा किसानले कृषि क्षेत्रमा भोग्नुपरेका गुनासा

हुम्ला  ।
किसानले कृषि क्षेत्रमा भोग्नुपरेका गुनासा सार्वजनिक रुपमा उठाएका छन् । कृषि उत्पादन र उत्पादकत्वमा जलवायु परिवर्तनका चुनौती, अवसर र सरोकारवालाको भूमिका विषयक गाउँपालिकास्तरीय बहस कार्यक्रममा सहभागी किसानले यो गुनासो सुनाएका हुन् ।

बहसमा भाग लिँदै खार्पुनाथ गाउँपालिका–५ की महिला कृषक ललिता शाहीले पुराना रैथाने बाली कोदो, फापर, चिनो र कागुनो बालीको उत्पादन घटेको सुनाइन् । उही जग्गामा पहिले अन्नबाली राम्रो उत्पादन हुने गरे पनि अहिले आएर उत्पादन घटेको उनले बताइन्। खार्पुनाथ गाउँपालिका–१ की अर्की किसान बिमला सिंहले पुराना रैथाने बालीको रोग किरासमेत बढी लाग्ने गरेको भन्दै उत्पादनसमेत घटेको बताइन् ।
यसरी उत्पादन घट्नुको कारण पत्ता लगाउन नसकिएको गुनासो गर्दै धेरै किसानले यी बाली लगाउनै छाडेको उनको भनाइ छ ।

उत्पादन घटेको कारण किसानले यी पुराना रैथाने बाली लगाउन छाडे पनि यी बाली गाउँमा लोप हुने अवस्थामा पुगेको भन्दै किसानले चिन्ता व्यक्त गरेका छन् । बहसमा आफूले भोगेका समस्या सुनाउने क्रममा किसानले यस्तो गुनासो गरेका हुन् । उनले यी बालीको उत्पादन घट्नुको कारण पत्ता लगाएर विकल्प खोज्नसमेत सेवाप्रदायक निकायलाई आग्रह गरिन् ।

त्यसैगरी किसान खड्कबहादुर शाहीले पहिले नपाक्ने बाली अहिले पाक्न थालेको जानकारी दिए। पहिले सिमी र आलु नफल्ने गरेका कारण आवश्यक पर्ने अन्य गाउँबाट किनेर ल्याउने गरेको बताउँदै उनले अहिले भने राम्रोसँग फल्न थालेको बताए । यसरी रैथाने बालीको उत्पादन घट्नुको कारण जलवायु परिवर्तन मुख्य कारण हुन सक्ने बताउँदै गाउँपालिकाका कृषि शाखाका प्रमुख डिल्ली नेपालीले यसको अध्ययन गरिने जानकारी दिए ।

उनले तापक्रम वृद्धि भएकाले उच्च क्षेत्रमा पाक्ने बाली होचा क्षेत्रमा पाक्न थालेको र होचा क्षेत्रमा पाक्ने बाली उच्चमा पाक्न थालेको बताए ।
जलवायु अनुकूलन हुने बाली लगाउनुपर्ने आवश्यकता खड्किएको उनले सुझाव दिए । बहस कार्यक्रम कृषि उत्पादनमा जलवायु परिवर्तनले पारेको असर, चुनौती, अवसर, त्यसलाई सम्बोधन गर्न तय गरिएका नीति, योजना र कार्यबारे छलफल गरिएको थियो ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले किसानले भोगेका समस्या सार्वजनिक हुनु सकारात्मक भएको भन्दै यसले आगामी दिनमा कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए ।

कार्यक्रम जलवायु उत्थानशील हरित कृषि तथा उत्पादनशील पारिस्थितीकीय पद्धति (ग्रेप) ले आयोजना गरेको हो । कार्यक्रम गाउँपालिका उपाध्यक्ष भरत सिंह, प्रशासकीय अधिकृत विष्णु शाही ग्रेपका जिल्ला संयोजक कृष्णप्रसाद पाण्डे, एनसापका राजन शाहलगायतले किसानका गुनासामाथि छलफल गरेका थिए ।

तपाईको प्रतिक्रिया