सुर्खेत ।
वीरेन्द्रनगर–८ स्थित सिद्ध वहिरा वालक विद्यालयमा अहिले एक सय चार जना विद्यार्थीहरु अध्ययनरत छन् । यस मध्ये १५ जना विद्यार्थी मात्र घरैबाट विद्यालयमा पठनपठनमा लागि आउँछन् । बाँकी सबै विद्यार्थीलाई आवासीय सुविधा दिइएको छ ।
विद्यार्थीका लागि सरकारले प्रति विद्यार्थी ३५ हजार रुपैयाँ आवासिय सुविधाको रकम विद्यालयलाई पठाउँने गरेको छ । यो सुविधा रकम विद्यालयले वि.सं. २०७२ सालदेखि पाएको हो । हालसम्म पनि यहि रकम नै विद्यालयलाई पठाउने गरिएको छ । तर, यता विद्यालयमा प्रति विद्यार्थी ३५ हजार रुपैयाँले उनीहरुको पठनपाठन खर्च नै पुग्दैन । आवासीय सुविधा वाहेक विद्यार्थीका गतिविधि सञ्चालनमा सहयोग गर्न प्रति विद्यार्थी पाँच हजार रुपैयाँ वार्षिक उपलब्ध हुन्छ ।
विद्यालयका प्रध्यानाध्यापक चिन्तामणी कँडेलले भने, ‘प्रति विद्यार्थी ४० हजार रुपैयाँले वर्षभरी खर्च नै पुग्दैन । यसमा उनीहरुको खाना, खाजा, विद्यालय पोशाक सबै खर्चहरु जोडिएको छ ।’ सरकारबाट प्राप्त हुने ४० हजार रुपैयाँले विद्यालयमा विद्यार्थीलाई आवासीय खर्च धान्न समेत समस्या सिर्जना भएको उनले जानकारी दिए ।
यस विद्यालयमा सुनाई र बोलाई सम्बन्धि अपाङ्गता भएका विद्यार्थाीहरु पढ्ने गदर्छन् । कर्णालीका १० जिल्ला सहित छिमेकी जिल्लाहरु बाट समेत गरी कुल १३ जिल्लाका बालबालिका यस विद्यालयमा अध्ययनरत छन् । कक्षा १० सम्म अध्ययन हुने यस विद्यालयमा ५१ जना छात्र र ५३ जना छात्रा अध्ययनरत रहेको प्रध्यानाध्यापक कँडेलले जानकारी दिए ।
विद्यालयमा रकम अभाव भएपछि अहिले विद्यालयले गैरसरकारी संस्थाहरुसँग आर्थिक सहयोग जुटाएको छ । परिलक्षित संस्थाले विद्यार्थीको आवासिय सुविधामा सहयोग गर्दै पोषणयुक्त खानाका लागि वार्षिक तीन लाख रुपैयाँ सहयोग गरेको छ । संस्था मार्फत उक्त सहयोग हुन थालेको अहिले दुई वर्ष भयो ।
बालबालिकालाई पोषणयुक्त खाना खुवाउन निकै कठिन भएकाले सरोकारवाला निकायसँग विभिन्न समयमा आाफ्ना मागहरु राख्ने, माग पत्रहरु पेश गर्ने गरेको उनी बताउँँछन् । तरपनि हालसम्म विद्यालयका लागि भरपर्दो आर्थिक सहयोग जुटेको छैन । ‘अहिले उपलब्ध भएको रकमले त पुग्दैन तर जति हुन्छ त्यति नै पु¥याउने गरेका छौँ,’ उनले भने ।
शैक्षिक सामाग्री र पूर्वाधारमा समस्या उस्तै
विद्यालयमा हाल ११ वटा कक्षाकोठा सञ्चालनमा रहेका छन् । पक्की भवन संरचना पाएको विद्यालयमा अहिले भौतिक निर्माणका कामहरु समेत चलिरहेको छ । पुर्वाधार विशेष विद्यालय भनिएतापनि यहाँ शैक्षिक सामाग्री, होस्टेलमा आवश्यक पर्ने फर्निचरहरु, ओड्ने–ओछ्याउने लत्ताकपडा व्यवस्थानको समस्या नै रहेको प्रध्यानाध्यापक कँडेलले बताए ।
यसलाई समाधान गर्नका लागि सम्बन्धित निकायहरु र विभिन्न संघसंस्थाहरु खासगरी अपाङ्गताको क्षेत्रमा काम गरिरहेका संस्थाहरुसँग उनले सहयोगको अपिल गरेका छन् ।
अहिले विद्यालयमा नौं जना शिक्षकको दरवन्दी रहेको छ । यसका साथै अर्का एक जना बालविकासका शिक्षक सहित विद्यालयमा कुल १० जना शिक्षक छन् । थोरै विद्यार्थी भएपनि सांकेतिक भाषाबाट अध्यापन गराउनुपर्ने हुँद यो जनशक्ति पनि कम भएको उनले बताए । सम्बन्धित निकायहरुमा शिक्षकको दरवन्दी माग गर्दा समेत सम्वोधन नभएको उनले जानकारी दिए ।
दरवन्दी न्युन भएकाले बालबालिकाको शिक्षामा समेत प्रभाव परेको उनको भनाई छ । प्राथमिक तहमा तीन जना मात्र शिक्षक छन् । तीन जना शिक्षकले पाँच कक्षा सम्म पढाउनु पर्ने हुन्छ । प्राथमिक तहमा कम्तिमा पनि दुई जना थप शिक्षकको दरवन्द आवश्यक रहेको उनले बताए । माध्यमिक तहमा एउटा दरवन्दी थप्नुपर्ने उनको भनाइ छ ।
विद्यालयमा लेखाका कर्मचारी समेत छैनन् । लेखा शाखामा कर्मचारी नहुँदा विद्यालय व्यवस्थापनमा असहज भएको उनले जानकार दिए ।
युग संवाददाता । । १० भाद्र २०८०, आईतवार ११:२६