काठमाडौं ।
पूर्वको चर्चितै सहर हो धरान । फेसनदेखि राजनीतिक क्रान्ति भित्र्याउने धरान, आर्थिक–राजनीति रूपमा अग्रणी नाम हो । पूर्वी पहाडी जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने धरानलाई पछिल्लो समय भने राजनीतिक घटनाक्रमले जोड्यो ।
स्वतन्त्र हैसियतमा काठमाडौं महानगरमा बालेन्द्र शाह, धनगढी उपमहानगरमा गोपाल हमालसँगै धरानमा हर्क साम्पाङ निर्वाचित भएदेखि धरानको चर्चा सुरु भएको थियो । ०७९ को स्थानीय तह निर्वाचनपछि साम्पाङ मेयर भएदेखि कुनै न कुनै नाममा चर्चामै छ ।
कहिले सकारात्मक त कहिले नकारात्मक खबरले धरानले राष्ट्रिय मिडियाका हेडलाइन बन्ने गरेको छ ।
पछिल्लो समय धरानको ‘हल्ला’ अखबारहरूको हेडलाइनमा नकारात्मक हिसाबका छन् । मेयर साम्पाङ्ग सकारात्मक समाचारदेखि उनको अटेरीपनको आलोचनाहरू छन् । सँगै पछिल्लो धार्मिक गतिविधिले धरान जोडिएको हेडलाइन त्यति राम्रो छैन । धरानको पछिल्लो विवाद अलि साम्प्रदायिक किसिमको छ ।
गोरु काटेर खाएको विषयबाट विवादित बन्दै गएको धरानको विषयले सामाजिक सञ्जाल बढि नै तातेको छ । केही साताअघि गोरु काटेर सामूहिक भोज गरेको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि विवाद सुरु भएको हो । हुन त धरानमा गोरु काटेर खाएको विषय धरानेको लागि त्यति नौलो भने थिएन । तर, सार्वजनिक रूपमा गोरु काटेर भनेर हिन्दु धर्मावलम्बीहरूलाई चुनौती दिएको भन्दै यसबारे वादप्रतिवाद भएको थियो ।
यस्तो थियो घटना
गत साउन अन्तिम हप्ता । सामाजिक सञ्जालमा धरान– ११ स्थित मंगलबारेमा गोरु काटेर भोज गरेको भिडियो भाइरल भयो ।
खासमा गोरु काटेकै अभियोगमा प्रहरीले पक्राउ गरेका विन्द्राकुमार राई र राजन परियार थुनामुक्त भएपछि गोरु काटेर भोज लगाइएको थियो ।
गत साउन ९ गते धरान–१५ का राजन परियार र धरान–५ का विन्द्रा राईलाई ३० किलो गोरुको मासुसहित इलाका प्रहरी कार्यालय धरानले समात्यो । १७ दिनपछि धरौटीमा रिहा भएका राई र परियारलाई विभिन्न पहिचानवादी संघ संस्थाले सम्मान गरेपछि गोरुको मासुको भोज लगाइएको थियो । नेपाल आदिवासी जनजाति महासङ्घ धरान उपमहानगर समन्वय परिषद् र सांस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा सो कार्यक्रमको आयोजना गरेको थियो ।
सामूहिक भोजको भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदै गएपछि हिन्दु पक्षधर संघसंस्थाहरू विरोधमा उत्रिए । धरानभित्र ’अघोषित’ रूपमा चल्ने गरेको गोरु वधलाई सामाजिक सञ्जालले व्यापक सतहमा ल्याइदियो ।
हिन्दुवादी संगठनहरूले गोरु काटेको विषयमा कडा विरोध गरेपछि विभिन्न आदिवासी जनजाति घटकहरूले पनि काउन्टर विज्ञप्ति निकालेका थिए । त्यसपछि पनि सामाजिक सञ्जालमा गोरु काटेको विषय मत्थर भएन । त्यही क्रममा हिन्दु धर्मका ‘गुरु’ हरुले भदौ ९ गते शान्तिपूर्ण ¥याली गर्ने भन्दै धरानमा भेला हुन् आव्हान गरेपछि भने विभिन्न जातीय घटकहरूले काउन्टर कार्यक्रमसमेत सार्वजनिक गरे ।
नाममा सद्भाव ¥याली भने पनि दुवै पक्ष मुठभेड हुने ‘दुर्भाव’ स्थितिको पुर्वआभास भने सामाजिक सञ्जालमा देखिन्थ्यो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले डेंगु नियन्त्रण गर्ने ’संक्रामक रोग ऐन २०२०’ को आवरणमा सम्भावित धार्मिक द्वन्द्वको संक्रमण रोक्न निषेधाज्ञा जारी गरेपछि भने झगडा टरेको आँकलन गरिएको छ । निषेधाज्ञासहित प्रशासन धरान प्रवेशको तराईको मुख्य ढोका इटहरीको तरहरास्थित कोशी राजमार्गको पानीपिया क्षेत्रमा प्रहरीले सवारीसाधनमा व्यापक सर्च अप्रेसन चलाएको छ ।
शुक्रबार साँझ ड्युटीमा खटिएका एक प्रहरीले भने, ‘धरानमा आन्दोलन हुने भएकाले चेक भएको हो, भोलिसम्म यस्तै हो । माथिको आदेश यस्तै छ ।’
यता, हिन्दु धर्मका गुरुहरूले भने सद्भाव ¥यालीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयको आदेशको विरोध जनाएका छन् । धरानमा सद्भाव ¥याली निकाल्ने सनातनी हिन्दुहरूको निर्णयमा प्रशासनले हस्तक्षेप गर्न खोजेको उनीहरूको तर्क छ। इटहरीमा शुक्रबार साँझ पत्रकार सम्मेलन गर्दै उनीहरूले सुनसरी प्रशासनले कार्यक्रम बिथोल्न कायरतापूर्ण ढङ्गले निषेधाज्ञा लगाएको आरोप लगाएका छन् ।
अनि जारी भयो निषेधाज्ञा
धरानमा गोरु काटेर भोज गरेको भनिएको भिडियोलाई लिएर पहिचानवादी र हिन्दुवादीबीच दोषारोपण सुरु भएको थियो । त्यही सन्दर्भमा हिन्दु धर्मका गुरुहरूले धरानमा सद्भाव ¥याली भन्दै देशभरबाट मान्छेहरूलाई आव्हान गरेपछि सुनसरी प्रशासनले शनिबार झस्कियो र निषेधाज्ञा जारी ग¥यो ।
सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले शुक्रबार जारी गरेको आदेशमा डेंगु महामारी फैलिएको कारणले शुक्रबार राति १२ बजेदेखि शनिबार राति १२ बजेसम्मका लागि धरानमा कुनै पनि सामाजिक, धार्मिक, राजनैतिक सभा, ¥याली, प्रदर्शनलगायतका कार्य निषेध गरिएको उल्लेख छ ।
पहिला मन्दिर भर्सेस चर्च
गोरु काटेर खाएको विवाद पछिल्लो दुई महिनाभित्रको दोस्रो शृंखला हो । केही समयअगाडी मात्र मन्दिरको सामुन्ने चर्च बनेसँगै दुई धार्मिक समुदायबीच विवाद बढेको थियो ।
धरान– १४ सिंहदेवी चोकछेउमै बालगोपाल मन्दिर छ । विजयपुर दरबार आसपासको क्षेत्रमा बुढासुब्बा र चण्डेश्वर मन्दिरको ‘राडार’ क्षेत्रमा रहेको गोपाल मन्दिरको इतिहास करिब ९० वर्ष पुरानो हो । हिन्दुसँगै किराँती आस्थाको क्षेत्रको रूपमा प्रचारित विजयपुर क्षेत्रमा धार्मिक लफडा सुरु भएको थियो ।
लामो समयदेखि अस्तित्व भएको मन्दिरअगाडि नै चर्च बनेको भन्दै मन्दिर पक्ष र चर्च पक्षबीच वाक द्वन्द्व चलिरहेको थियो । आवासीय प्रयोजनका लागि दुई वटा रुख कटान सिफारिस लिएर चर्चको संरचना बनाउन थालेपछि हिन्दु पक्षधरहरू सङ्गठित भएर आन्दोलन गरेको गत महिनाअघि मात्र हो ।
मन्दिर पक्षधरहरू चर्चविरुद्ध उपमहानगर धाएका थिए । धार्मिक ऐतिहासिक, पौराणिक महत्त्वको विजयपुर क्षेत्रबाट उक्त चर्च स्थानान्तरण गराउन र भविष्यमा पनि कुनै चर्चहरू निर्माण हुन नदिन समितिले माग गरेको थियो । तर, आफूले यो विवाद समाधान गर्न नसक्ने भन्दै अदालत जान मेयर हर्क साम्पाङले सुझाएपछि हिन्दु पक्षधरहरू आक्रामक भएका थिए । त्यसको विरोधमा सामाजिक सञ्जालमा समेत वाकयुद्ध चल्यो– साम्पाङ पक्षधर र हिन्दु पक्षधरबीच ।
यसको सुरुवात साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा दिएपछि भएको थियो । साम्पाङले लेखेका थिए, ‘देशको सर्वोच्च अदालतको प्रधानन्यायाधीश होइन म । धर्मको विषयमा न्यायालयले नै हो बोल्ने । कसको भगवान् ठूलो कि कसको ईश्वर ठूलो त्यो कुराको फैसला न्यायालयले गरिदेओस्’।
आफ्नो क्षेत्राधिकारको विषय साम्पाङले पन्छाएको भन्दै ठूलै वाद–प्रतिवाद चलेको थियो । केही विवादित हिन्दु धर्मगुरूहरूले साम्पाङविरुद्ध कडा आलोचना गरेपछि घटनाले ठूलो वाक द्वन्द्व चलाएको थियो ।
गोरु काटेको विषय त्यही तत्कालीन द्वन्द्वको विस्तारित रूप भएको सुरक्षा निकायको समेत प्रारम्भिक निष्कर्ष देखिन्छ । धर्मको विषय भएकाले सार्वजनिक अभिव्यक्ति नदिए पनि सुरक्षा स्रोतले ‘चर्च काण्ड’ पछिको विस्तारित रूप मानेको छ । (शिलापत्र)
युग संवाददाता । । ९ भाद्र २०८०, शनिबार १६:१४