निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा सिमकोट

संघले खटाएको कर्मचारी पालिकाद्वारा अस्विकार

सुर्खेत ।

हुम्लाको सिमकोट गाउँपालिकामा वर्षौपछि प्रमुख प्रशासकीय अधिकृत खटाइने भएको छ । यसअघि प्रमुख प्रशासकीय अधिकृत रहेका अर्जुन दर्जी सरुवा भई गएपछि पालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा कामकाज चलिरहेको थियो ।

तर हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको पदमा कर्मचारी पठाउने भएपछि पालिकाले यो निर्णयलाई अनावश्यक बताएको छ । मन्त्रालयले सिमकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा सुवास आलेलाई पठाउने निर्णय गरेको छ ।

निमित्तको भरमा चलिरहेको पालिकामा प्रमुख प्रशासकीय अधिकृत आउने भएपछि विहिवार बसेको पालिकाको कार्यपालिका वैठकले ति कर्मचारी आवश्यक नभएको भन्दै अस्किार गरेको छ ।

गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले हुम्ला आउने कर्मचारीहरु पालिकामा धेरै नबस्ने गर्दा सेवाप्रवाहमा समस्या उत्पन्न हुने दावि गर्दै कर्मचारी नपठाउन अनुरोध गरिएको हो ।

‘सिमकोट गाउँपालिकामा जिल्ला वाहिरको मान्छे जिल्लामा नबस्ने हँुदा गाउँपालिकाको सेवाबाट जनतालाई सेवा दिने क्रममा असुविधा हुने र वेला वेलामा जिल्ला वाहिर गई काममा वाधा पर्छ’, विहिवार बसेको कार्यपालिका वैठकको निर्णय नं. १० मा भनिएको छ, ‘तीन चार वर्षसम्म यहाँको स्थानीय सातौं तहका अधिकृतले कामकाज गर्दै आएका छन् ।’

हालका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिमकोट गाउँपालिकाकै स्थानीय भएका कारण पालिकाबाट सेवा प्रवाह छिटो–छरिदो भएको भन्दै नागरिकहरुले सेवा पाईरहेको पालिकाको दावि छ । सेवा प्रवाह भईरहेको दावि गर्दै यस अवस्थामा अन्यत्र जिल्लाका प्रमुख प्रशासकीय अधिकृतलाई पालिकामा नखटाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्ने वैठकले निर्णय गरेको हो ।

वडा अध्यक्षको असहमति

रिक्त रहेको पदमा खटाइएका कर्मचारीलाई नै पालिकाले स्थानीय नभएकाले आवश्यक नभएको भन्ने निर्णय गरेपछि सिमकोट गाउँपालिका–६ का वडा अध्यक्ष नन्द रावतले उक्त निर्णयमा असहमति जनाएका छन् ।

कार्यपालिका वैठकमा समेत सहभागि रहेका वडा अध्यक्ष रावतले यस निर्णयमा असहमति जनाएका थिए । उनले भने, ‘दरवन्दी अनुसारको कर्मचारी आउनु राम्रो हो । पालिकामा कर्मचारी खटाउने जिम्मेवारी रहेको मन्त्रालयको निर्णयलाई नमान्नुलाई म सकारात्मक मान्दैन ।’

निमित्त प्रमुख प्रशासकीय अधिकृत मार्फत काम गर्दा सेवा प्रवाहमा समस्या सिर्जना नभएपनि दरवन्दी अनुसारको कर्मचारी आउँदा सेवा प्रवाहमा समस्या समेत उत्पन्न नहुने उनको भनाई छ ।

स्वार्थ बाँझिएको निर्णय ?

सिमकोट गाउँपालिकामा हाल कार्यरत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया र गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाविच पारिवारिक सम्बन्ध समेत छ । निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा पालिका सञ्चालन गर्ने निर्णय गरेको कार्यपालिका वैठकको अध्यक्षता उपाध्यक्ष रोकायाले नै गरेकी छन् ।

       

 

सिमकोट गाउँपालिका–५ निवासी उजिर रोकाया उपाध्यक्ष रोकायाका श्रीमान् हुन् ।

गाउँपालिकाका अध्यक्ष विजय भण्डारी हाल कामको सिलसिलामा बाँकेमा छन् । यसै समयमा कार्यपालिका वैठकको अध्यक्षता गर्दै उपाध्यक्ष रोकायाले आफ्ना श्रीमान्लाई पालिकाको कर्मचारी नेतृत्वमा नै राखिरहने निर्णय गरेको शंका उत्पन्न भएको छ ।

पालिका उपाध्यक्षको स्वार्थ बाँझिनेगरी निर्णय भएको विषयमा सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीसँग बुझ्दा उनले भने, ‘वाहिरबाट हेर्दा स्वार्थ जस्तो देखिएपनि त्यसो भएको होइन । म यताँ नेपालगञ्जमा छु । पालिकामा त्यो निर्णय भएछ । अव यस विषयमा भन्नुपर्दा, पहिलो कुरो स्वार्थ बाँझिएको संकेत हुने खालको निर्णय हुनु थिएन । तर मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाईसकेको खण्डमा भने हामीले हाजिर लगाउनै नदिने पनि हुँदैन ।’

तीन–चार वर्षसम्म पनि निमित्तको भरमा पालिकाको काम भईरहेको जानकारी दिदै उनले समेत संघीय मन्त्रालयले कर्मचारी नपठाउँदा सेवा प्रवाहमा समस्या उत्पन्न नहुने दोहो¥याए ।

‘कर्मचारी नपठाउन अनुरोध गरेका हौँ’

सिमकोट गाउँपालिकामा सेवाप्रवाह स्थिती सामान्य भईरहेको समयमा कार्यपालिका वैठकले मन्त्रालयलाई कर्मचारी नपठाउँन अनुरोध मात्र गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकायाको भनाई छ । उनले भनिन्, ‘हामीले कर्मचारी नपठाउन अनुरोध गरेका हौँ । मन्त्रालयले कर्मचारी खटाउनु उहाँहरुको अधिकार हो ।’

‘म दलले टिकट दिएर, जनताले जिताएर पालिका उपाध्यक्ष भएकी हुँ । उहाँ तत्कालिन जिल्ला विकास समितिको कार्यालयदेखि नै काम गर्दै आईरहनु भएको अनुभवी कर्मचारी हो । अव यसमा स्वार्थ बाँझिएको भन्ने कसरी हुन्छ ? फेरी उहाँ निमित्त भईरहँदा कार्यपालिकाको हालको निर्णयले त्यति क्षति पनि पु¥याउँदैन होला’, पालिकाको निर्णयमा स्वार्थ बाँझिएको भन्ने आरोपका विषयमा उनले स्पष्ट पारिन् ।

उपाध्यक्ष एक्लैले मात्र निर्णय नगरेको जनाउँदै उपाध्यक्ष रोकायाले कार्यपालिका बैठकले नै सो निर्णय गरेको बताइन् ।

हुम्लाका स्थानीय तहहरु प्रमुख प्रशासकीय अधिकृत विहिन नै थिए । हाल भने हुम्लाका सात वटै स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

संघीय मार्मिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको हो । ताँजाकोट गाउँपालिकामा सजना कार्की र सर्केगाड गाउँपालिकामा शान्ति लामालाई मन्त्रालयले खटाएको छ । त्यसैगरी अदानचुली गाउँपालिकामा गिमन थापामगर, चंखेली गाउँपालिकामा सीताराम राई, खार्पुनाथ गाउँपालिकामा रमेश सुनुवार, सिमकोट गाउँपालिकामा सुवास आले र नाम्खा गाउँपालिकामा शैलेशकिशोर राई चाम्लिङलाई प्रमुख प्रशासकीय अधिकृत पदमा खटाइएको हो ।

तपाईको प्रतिक्रिया