सुर्खेत ।
नेकपा एकिकृत समाजवादीका सुर्खेत जिल्ला अध्यक्ष मोहन बडुवाल एमालेमा नै फर्किएका छन् । बडुवाललाई नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले कर्णाली ईन्चार्ज लेखराज भट्ट र स्थायी सदस्य यामलाल कँडेलले स्वागत गरेका छन् । बुधबार एक कार्यक्रमका बिच बडुवालसंगै समाजवादी निकट नेपाल इन्जिनियरिङ्ग एशोसियनको सिंगो कर्णाली टिम समेत एमालेमा प्रवेश गरेको छ ।
तत्कालिन नेकपा विभाजनपछि बडुवाल माधव नेपाल नेतृत्वको समाजवादीमा लागेका थिए । पार्टी विभाजन हुनु अघि बडुवाल एमाले जिल्ला पार्टी सचिव थिए । बडुवाल गत मंसिरमा सम्पन्न सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (ख) बाट प्रदेशसभा सदस्यका उम्मेदवार बनेका थिए । पाँच दलिय गठवन्धनले बडुवाललाई टिकट नदिएपछि उनी त्यस बेला नै पार्टी र गठवन्धबाट रुष्ट बनेका थिए । पार्टीबाट टिकट लिएर मित्रवत प्रतिस्पर्धा गरेका बडुवाल गठवन्धन दल नेकपा माओवादी केन्द्रका विन्दमान विष्टसँग पराजित भएका थिए ।
बडुवालले पार्टी प्रवेश पछि उनले जनताको बहुदलिय जनवादको रक्षाका लागि फेरि एमालेमा नै फर्किएको जनाएका छन् । पछिल्लो समय समाजवादी अरुको खुट्टामा टेकेर पार्टीको विधि र सिद्धान्त बिर्सदै गएपछि आफु पार्टीमा फर्किएको उनको भनाई छ ।
महासचिव पोखरेलले एकिकृत समाजवादीले जनताका आकांक्षा पूरा गर्न नसक्ने भएकाले सबै नेता कार्यकर्तालाई एमालेमा आउन अपिल गरेका छन् । उनले जनताको बहुदलिय जनवादलाई साकार पार्न एमाले नै एक्लो पार्टि भएकाले साथ दिन आग्रह समेत गरेका हुन् । उनले एमालेमा प्रवेश गरेका समाजवादीका नेता कार्यकर्ताहरुको भावनामा कुनै ठेस नपु¥याउने र पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
युग संवाददाता । । ६ भाद्र २०८०, बुधबार १७:३४