बराईबासीको घर-घरमा धाराकाे पानी

हुम्ला । सर्केगार्ड गाउँपालिका– ६ को बराई गाउँका स्थानीयको घर(घरमा खानेपानीका धारा जडान गर्ने वर्षौदेखिको सपना पुरा भएको छ । सो गाउँका लागि पागरपानी खानेपानी योजना निर्माण भएर सञ्चालनमा आउदा स्थानीयको सपना पुरा भएको हो ।

बराई गाउँका स्थानीय धनलाल टमटाले वर्षौदेखि घर(घरमा धारा जडान गरेर खानेपानी प्रयोग गर्ने बराईवासीको सपना अहिले आएर पुरा भएको बताए । यसअघि सो गाउँका स्थानीय बासिन्दाहरु गाउँ नजिकैको मुलको पानी प्रयोग गर्दै आएका थिए । सिङ्गो गाउँका लागि एउटा मुलको पानी प्रयोग गर्नु पर्ने भएपछि बराईबासीले लाईनमा बसेर पानी प्रयोग गर्नु पर्ने हुन्थ्यो । अझ चैत वैशाख महिनामा मुलको पानी सुक्ने भएको कारण पानीको झनै सास्ती खेप्नु पथ्र्यो । आफ्नो घर खानेपानीको व्यक्तिगत धारा जडान गर्नु भएका टमटाले खानेपानीको दिर्घकालीन समस्या समाधान भएको बताए । उनले मात्र होईन सिङ्गै गाउँबासीले घर(घरमा धारा जडान गर्न सफल भएका छन् । पहिलो पटक यसरी घर(घरमा धारा जडान गर्न पाएपछि स्थानीयहरू निकै खुशी भएका छन् ।

खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका प्रमुख अकल महतले दुई आर्थिक वर्षमा उक्त खानेपानी आयोजना सम्पन्न भएर सञ्चालनमा आएको बताए । उनले बराई गाउँका ११३ घरधुरीलाई घरघरमा धारा जडान गरी खानेपानीको समस्या समाधान गरिएको बताए । खानेपानीको धारा निर्माण र जडान समेत कार्यालयले निशुल्क दिएको हो । आर्थिक वर्ष ०७८/०७९ मा स्थानीय उपभोक्ता मार्फत सो खानेपानी आयोजनाका काम सुरु भएर आर्थिक वर्ष ०७९/०८०मा सम्पन्न भएर सञ्चालनमा आएको हो । यसका लागि कार्यालयले इन्टेक निर्माण, दश र बीस घनमिटर क्षमताका दुई वटा आरबिटी चार किलो मिटर टाढाको मुहानबाट पाईपलाई खनेर पानीको व्यवस्था गरिएको छ । उनले आयोजना सम्पन्न गर्न दुई आर्थिक वर्षमा एक करोड साठी लाख बजेट विनीयोजित गरिएकोमा एक करोड पचास लाख रुपैयाँमा सम्पन्न भएको बताए ।

तपाईको प्रतिक्रिया