वर्षेनी थपिन्छन् घरेलु हिंसा पीडित

सुर्खेत, ३ भदौं ।
सुर्खेतमा घरेलु हिंसाबाट पीडित हुने महिलाहरुको संख्यात्मक आँकडामा धेरै फेरबदल भएको छैन । यहाँ प्रहरीकोमा हिंसा पीडितद्वारा पुग्ने उजुरीको संख्या र चिकित्सक तथा मनोपरामर्शकर्ता कहाँ पुग्ने हिंसा पीडित महिलाहरुको संख्या सदैव उस्तै देखिन्छ ।

घरेलु हिंसामा परेका महिलाहरु प्रायः आफ्ना पीडा व्यक्त गर्न चाहदैनन् । निद्रा गडबड हुने, आत्तिने, कराउने खालका समस्या सिर्जना भएपछि औषधि उपचार गर्न महिलाहरु अस्पताल पुग्छन्, शुरुमा घटनाका वारेमा खुल्न नचाहेपनि परामर्श पछि भने उनीहरु आफुले भोगेका घटना बताउँन थाल्छन् ।

घटनाको बारम्बार याद आउने, शारिरीक रुपमा समस्या सिर्जना हुने, सास फेर्न गाह्रो हुने लगायतका विभिन्न खाले समस्या लिएर मात्र महिलाहरु अस्पताल पुग्ने गरेको मानसिक रोग विशेषज्ञ डा. सुशिल समदर्शी बताउँछन् । घटनाका वारेमा जानकारी पाएपछि मात्र, उनीहरु हिंसाको चपेटामा परेको थाह हुन्छ ।

हिंसामा परेका महिलालाई मानसिक तनाव बढि हुने भएकाले उपचार गर्ने वित्तिकै निको पनि हुदैन । चिकित्सकको परामर्श तथा औषधी सेवनका कारणले मानसिक समस्यामा परेका हिंसा पीडित महिला निको समेत हुन्छन् ।

तर, पुनः उही पारिवारिक अवस्था र समाजमा पुनःस्थापित हुन भने महिलाहरुलाई सकस नै हुन्छ । जसकारण उनीहरुको मानसिक स्वास्थ्य पुनः उस्तै अवस्थामा फर्कने जोखिम समेत रहने डा. समदर्शी बताउँछन् ।

डा. समदर्शी कहाँ अहिले दैनिक रुपमा हिंसा पीडित महिलाहरु मानसिक स्वास्थ्य उपचारका लागि पुगिरहेका छन् । घरेलु हिंसा सम्बन्धिका समस्या लिएर जाने विरामीहरुमा खासगरी ३० देखि ४५ वर्ष उमेर समुहका महिलाको संख्या धेरै रहेको उनले जानकारी दिए ।

यता वीरेन्द्रनगरमा मनोसामाजिक परामर्श सेवा प्रदान गरिरहेको कोशिश संस्थामा समेत घरेलु हिंसा पीडित महिलाहरु परामर्शका लागि पुगिरहेका हुन्छन् । मासिक रुपमा करिव सात–आठ जना घरेलु हिंसा पीडित महिलाहरु संस्थामा मनोपरामर्श सेवाका लागि आउने गरेको कोशिशका मनोविमर्शकर्ता नरेन्द्र शर्माले जानकारी दिए । परिवारले वास्ता नगर्ने, श्रीमान्ले कुटपिट गर्ने लगायतका समस्या लिएर कोशिश कँहा हिंसा पीडित महिलाहरु मानसिक स्वास्थ्य उपचारका लागि पुगिरहन्छन् ।

मानसिक यातनाका पीडित धेरै
घरेलु हिंसाकाको विषयमा महिलाहरु खासगरी मानसिक यातनाबाट पीडित रहेको प्रहरीको तथ्यांकले जनाएको छ । तीन आर्थिक वर्षमा सबैभन्दा धेरै दुई सय २० वट उजुरी मानसिक यातना तथा गालिगलौज सम्बन्धिका प्रहरीकोमा आएका छन् ।

२०७७/०७८ मा दुई सय ४२ वटा, २०७८/०७९ मा दुई सय ६९ वटा र गत वर्ष २०७९/०८० मा दुई सय २० वटा मानसिक यातना पीडितले प्रहरीकोमा उजुरी दिएको प्रहरी निरीक्षक झरणा सोनारले जानकारी दिइन् ।

पीडकले मदिरा सेवन गरी शारिरिक यातना दिएको भन्दै २०७९/०८० मा एक सय १८ वटा उजुरी प्रहरीकोमा आएको छ । त्यसैगरी २०७८/०७९ मा ५० वटा र २०७७/०७८ मा ८९ वटा उजुरी आएका थिए । शारिरिक यातना तर्फ समेत पीडितहरुको उजुरी प्रहरीकोमा दर्जनौँको संख्यामा आउँछन् । २०७७/०७८ मा एक सय ४०, २०७८/०७९ मा एक सय ६७ र २०७९/०८० मा ६६ वटा उजुरीहरु प्रहरीकोमा आएको प्रहरी निरीक्षक सोनारले जानकारी दिइन् ।

आर्थिक यातना तर्फको हिंसामा २०७७/०७८ मा एक सय ४०, २०७८/०७९ एक सय ६७ र २०७९/०८० मा ९९ वटा उजुरी प्राप्त भएको उनले बताइन् । घरेलु हिंसा सम्बन्धिका उजुरीहरु मध्ये लागु पदार्थ सेवन गरी कुटपीट गरेको, श्रीमान घरदेखि टाढा हुँदा घरपरिवारलाई नहेरेको, बहुविवाह, शारिरीक यातना, आर्थिक यातना, मानसिक यातना जस्ता हिंसाबाट महिलाहरु पीडित रहेको पाइएको उनले बताइन् ।

मिलापत्रमा टुंगिए धेरै उजुरी
घरेलु हिंसा सम्बन्धि उजुरीहरुमा सुर्खेतमा प्रहरीकोमा वर्षेनी पाँच सय वटा भन्दा धेरै आउँछ । विगत तीन आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा घरेलु हिंंसा सम्बन्धििका एक हजार पाँच सय ७८ वटा उजुरी परेका छन् ।

यि मध्ये तीन सय ३१ वटा उजुरी मिलापत्रमा टुंगिएका छन् भने एक सय ३२ उजुरी अदलती प्रक्रियामा गएको प्रहरीको तथ्यांक छ । २०७९/०८० मा आएका ४० वटा उजुरी छानविनकै क्रममा रहेका छन् ।

आर्थिक वर्ष २०७७/७८ मा पाँच सय ४४ वटा उजुरी प्रहरीकोमा आएका थिए । जसमध्ये चार सय ६२ वटा उजुरी मिलापत्रमा टुंगिएका छन् भने ८२ वटा उजुरी अदालतमा पुगेका थिए । २०७८/o७९ मा पाँच सय ३१ वटा उजुरी प्रहरीकोमा परेका थिए ।

जसमध्ये चार सय ५९ वटा उजुरी मिलापत्रमा टुंगिए, ७२ वटा उजुरीहरु अदालतमा पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक झरणा सोनारले जानकारी दिइन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा घरेलु हिंसा सम्बन्धिका पाँच सय तीन वटा उजुरीहरु प्रहरीकोमा आएकोमा तिन सय ३१ वटा उजुरीमा मिलापत्र र एक सय ३२ वटा उजुरी भने अदालत पठाइएको प्रहरी निरीक्षक सोनारले जानकारी दिइन् ।

प्रहरीको यो तथ्यांक हेर्दा सुर्खेतमा घरेलु हिंसा र यसबाट पीडित महिलाको अवस्था उस्तै देखिन्छ । यहाँ वर्षेनी पाँच सय जना भन्दा बढी घरेलु हिंस पीडित महिला न्यायको खोजी गर्दै लागि प्रहरीकोमा पुगेका छन् । यो तथ्यांकमा पीडित महिलाहरु मिलापत्र पछि पनि पुनः हिंसाको चपेटामा परेको भन्दै प्रहरी समक्ष उजुरी लिएर आउने समावेश रहेको उनले जनाइन् ।

‘मिलापत्र नभए अदालत’
घरेलु हिंसा सम्बन्धिका प्रहरीकोमा आएका उजुरीहरु अवस्था हेरेर प्रहरीको पहिलो प्रयास नै मिलापत्र गराउँने भन्ने हुन्छ । उजुरी आएको १५ दिनसम्म पनि मिलापत्र हुन नसक्ने अवस्था भएमा मुद्दालाई अदालती प्रक्रियामा लगिने जिल्ला प्रहरी कार्यालय, सुर्खेतका प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीले जानकारी दिए । हिंसाको प्रकृति हेरेर घरेलु हिंसा (कसुर तथा सजाय) ऐन अनुसार प्रहरीले मिलापत्र हुन नसकेका मुद्दालाई अदालत पठाउने गरेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया