बाँकेमा रहेको प्रहरी तालिम केन्द्र पञ्चपुरीमा र गुर्भाकोटमा सुरक्षा गण राख्ने तयारी

सुर्खेत, २७ साउन ।
कर्णाली प्रदेश प्रहरी कार्यालय मातहत रहेका कार्यालयलाई सुर्खेतका विभिन्न स्थानमा सार्ने तयारी अन्तिम चरणमा पुगेको छ । तालिम केन्द्र, विशेष सुरक्षा गण, केनाईन शाखा लगायत प्रहरी स्कुललाई समेत कर्णाली प्रदेश प्रहरी कार्यालय स्वामित्वमा रहने जग्गामा स्थानान्तरण गरिने भएको हो ।

हाल लुम्बिनी प्रदेशबाट सञ्चालनमा रहेको कर्णाली मातहतको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतको पञ्चपुरी नगरपालिकामा स्थानान्तरण गरिने भएको छ । पञ्चपुरी नगरपालिका–८, दुलालथाईमा प्रहरी तालिम केन्द्रका लागि २३ विगाह जग्गा उपलब्ध गराउन प्रहरी प्रधान कार्यालय, काठमाडौंले गृह मन्त्रालयमा फाइल पेश गरिसकेको छ ।

मन्त्रीपरिषद्को स्विकृति भएपछि प्रहरी तालिम केन्द्र लुम्बिनीबाट सारेर पञ्चपुरी नगरपालिकाबाटै सञ्चालन हुने कर्णाली प्रदेश प्रहरीका प्रहरी नायव महानिरीक्षक भिमप्रसाद ढकालले जानकारी दिए ।

यस क्षेत्रमा तालिम केन्द्र स्थानान्तरणका लागि वडा तहबाटै प्रक्रिया सुरु गरि गृह मन्त्रालयमा जग्गा प्राप्तीको लागि फाइल पुगेको उनले बताए । हाल वन क्षेत्रको स्वामित्वमा रहको उक्त जग्गाका लागि वडा तह, वन उपभोक्ता समिति र नगरपालिकाबाट समेत सिफारिसका कागजपत्रहरु पेश भईसकेको उनले जानकारी दिए ।

यसका साथै जिल्ला सुरक्षा समिति, सुर्खेतले समेत उक्त क्षेत्रमा कर्णाली प्रदेश प्रहरी कार्यालयलाई जग्गा उपलब्ध गराउन सिफारिस गरेको छ ।हाल लुम्बिनी प्रदेशमै रहेको प्रहरीको विशेष सुरक्षा गण समेत गुर्भाकोट नगरपालिकामा स्थानान्तरण हुने भएको छ ।

गणका लागि जग्गा प्राप्तीको प्रक्रिया भने टुंगिसकेको हो । गत असार २६ गते संघीय सरकारको मन्त्रीपरिषद्को निर्णयले विशेष सुरक्षा गणको स्वामित्वमा चार दशमलव पाँच विगाह जग्गा दिने निर्णय गरेको थियो ।

गुर्भाकोट नगरपालिकाको १३ र १४ नं. वडामा (गुमी गाउँ क्षेत्र) जग्गा प्राप्ती भएसँगै उक्त स्थानमा पूर्वाधार निर्माणका लागि अहिले कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेश सरकारसँग सहयोग मागेको छ ।

भवन लगायतका पूर्वाधार निर्माण र मर्मत कार्यका लागि आवश्यक बजेट लागत अनुमान सहित कर्णालीको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा पेश गरिएको प्रहरी नायव महानिरीक्षक ढकालले बताए । कर्णालीमा हाल ६ हजार दुई सय ७९ जना प्रहरीको दरवन्दी छ ।

यसमध्ये हालसम्म पाँच हजार ६ सय ६ जना प्रहरी जनशक्ति पदपूर्ति भएको छ । जसमध्ये पाँच हजार एक सय ९५ जना पुरुष र चार सय ११ जना महिला कार्यरत रहेको प्रहरी नायव महानिरीक्षक ढकालले जानकारी दिए ।

कर्णालीका जिल्लाहरुमा रहेका प्रहरी इकाई तर्फ भने गत आर्थिक वर्ष २०७९/०८० मा प्रहरीले सात वटा प्रहरी इकाईका लागि जग्गा स्वामित्व पाएको छ । जाजरकोट र कालिकोट जिल्लामा प्रहरी इकाईका लागि १७ रोपनी बढी जग्गा प्राप्ति भएको उनले जानकारी दिए ।

प्रदेश सभामा दर्ता भयो प्रहरी सेवा विधेयक
कर्णाली प्रदेश सभामा वि.सं. २०७७ साल असोज २७ गते नै ‘कर्णाली प्रदेश प्रहरी सेवा’ सम्बन्धिको विधेयक दर्ता भएको थियो । २०७८ माघ २३ गते समितिमा छलफलका लागि गएको यो विधेयक निष्कृय नै भयो । कर्णाली प्रदेश सभाको पहिलो कार्यकाल सकियपछि यो विधेयक स्वतः निष्कृय भएको हो ।

अहिले भने कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालमा यो विधेयक पुनः दर्ता भएको कर्णाली प्रदेश सभाका सूचना अधिकारी उपेन्द्रकुमार गुरुङले जानकारी दिए । यसअघि २०७८ वैशाख १३ गते प्रदेश सभामा यो विधेयक टेबुल भएको र १४ गते विधेयकमा सैद्धान्तीक छलफल समेत सकिएको थियो ।

प्रहरी स्कुललाई दुई विगाह जग्गा
यसअघि वीरेन्द्रनगर स्थित प्रहरी स्कुल, पद्मलिला विद्यालयसँग मर्जरमा गएको थियो । मर्जरकै आधारमा प्रहरी स्कुलले अघिल्लो विद्यालय पद्मलिलाको भौतिक संरचना समेत प्रयोग गर्न पाउँने सम्झौता गरेको थियो । हाल वीरेन्द्रनगर नगरपालिकाको स्वामित्वमा रहेको उक्त पूर्वाधारमा प्रहरी स्कुल सञ्चालन भईरहेको छ ।

अव भने प्रहरी स्कुललाई कर्णाली प्रदेश प्रहरी गणको स्वामित्वमा रहेको जग्गामा स्थानान्तरण गरिने प्रहरी नायव महानिरीक्षक ढकाल बताउँछन् । वीरेन्द्रनगर नगरपालिका–५, चिसापानी क्षेत्रमा प्रदेश प्रहरी गणको स्वामित्वमा तीन बिगाह आठ कट्ठा जग्गा छ । यसमध्ये दुई विगाह जग्गालाई प्रहरी स्कुललाई उपभोग गराउने उनले जानकारी दिए ।

त्यसैगरी बाँकी रहेको एक बिघाह जग्गामा प्रदेश प्रहरी कार्यालय र आठ कठ्ठा जग्गामा भने प्रहरीको केनाईन शाखा सञ्चालन हुनेछन् । कर्णाली प्रदेश प्रहरी गणको स्वामित्वमा रहेको उक्त जग्गामा प्रहरी स्कुल, प्रदेश प्रहरी कार्यालय र प्रहरीको केनाईन शाखा स्थापना गराउन सबै प्रक्रिया पुरा गरी प्रहरी प्रधान कार्यालय मार्पmत गृह मन्त्रालयमा अनुमतिको लागि फाइल पुगेको प्रहरी नायव महानिरीक्षक ढकालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया