जेब्रा क्रसिङ्ग मै रोकिन्छन् गाडी, ट्राफिक नियमप्रति सचेत छैनन् नागरिक

सुर्खेत । वीरेन्द्रनगर बजार क्षेत्र सडकमा यात्रु सुरक्षाका लागि बनाईएका जेब्रा क्रसिङ्गमा सवारी पार्किङ्ग हुने गरेका छन् । केही समय अघि निर्माण सम्पन्न भएको मंगलगढीदेखि गणेश चौकसम्मको सडकमा बनाईएका जेब्रा क्रसिङ्ग क्षेत्रमै जथाभावी सवारी भईरहेका छन् । यसले दुर्घटनाको जोखिमसँगै पैदल यात्रीलाई समेत सास्ती भोग्नुपर्ने अवस्थाको सिर्जना भएको छ ।

वीरेन्द्रनगरमा बढ्दो जनघनत्व र सवारी चापका कारण दैनिक सडक दुर्घटनामा बुद्धि हुँदै गएका छन् । बजार क्षेत्रमा मात्रै होईन मुख्य रत्नराजमार्ग र अन्य भित्रिबाटाहरुमा सडक सुरक्षाका लागि बनाईएका ट्राफिक संकेतहरुको नागरिकले सहि ढङ्गले प्रयोगसमेत गर्दैनन् । ट्राफिक नियमको पालना गरी निश्चित तोकिएको ठाउँबाट सडक पार गर्नुपर्नेमा आफू खुुशी बाटो काट्दा दुर्घटनाको जोखिम बढेको छ ।

ट्राफिक संकेतको बारेमा आवश्यक ज्ञान नहुनेले जथाभावी बाटो काट्नु स्वभाविकै होला तर, सचेतना पाएका नागरिकले पनि जथाभावी सडकमा सवारी पार्किङ्ग गर्ने, मनलाग्दी बाटो काट्दा ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएको छ । मुख्य बजार क्षेत्रमा सडक विस्तार भएपनि पार्किङ्गको उचित व्यवस्था नहुँदा विशेष गरी दिउँसोको समयमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने गरेको छ ।

पैदल यात्रीका लागि छुट्टै फुटपाथको व्यवस्था नहुँदा दुर्घटनाको जोखिमसहित हिँड्न बाध्य हुनुपरेको नागरिकको गुनासो छ । वीरेन्द्रनगरमा चल्ने अधिकांस सवारी साधनले ट्राफिक नियमको पालना गर्दैनन् । मन लाग्दी रुपमा सवारी सडकमा चलाउने गरेका छन् । उनीहरुलाई न ट्राफिक संकेतको ध्यान हुँन्छ, न त पैदल यात्रीको नै । जसका कारण ट्राफिक प्रहरीलाई सडक सुरक्षामा चुनौती थपिदै गएको छ ।

वीरेन्द्रनगरको जनसंख्या र सवारीको चापको दृष्टिकोणले पर्याप्त ट्राफिक प्रहरीको दरवन्दीसमेत छैन । हाल वीरेन्द्रनगरमा ५३ जना ट्राफिक प्रहरी रहदा पोष्टहरुमा ३१ जना रहेका छन् ।

बाटो काट्न सिकाउँदै विद्यार्थी

सडकमा बनाईएका जेब्रा क्रसिङ्गको सहि प्रयोगका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतले विभिन्न विद्यालयहरुसँग सहकार्य गरिरहेको छ । विद्यार्थीमार्फत नागरिकहरुलाई बाटो काट्न सिकाउने अभियान थालिएको हो । विहान र वेलुका दुई सिफ्टमा गरी बजार क्षेत्रका विभिन्न ठाउँमा २५ देखि ३० जना स्वयम्सेवक विद्यार्थीहरु खटिएका छन् ।

विद्यार्थीमार्फत नागरिकलाई ट्राफिक संकेतको सही प्रयोग गर्न सिकाउन प्रभावकारी हुने भएकाले अभियान थालनी गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, सुर्खेतले जनाएको छ । ‘नयाँ नयाँ भएकाले पनि होला मान्छेहरु जेब्रा क्रसिङ्गको प्रयोग गर्दैनन्, ट्राफिक संकेतमा गाडी रोकेका हुन्छन् ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नीरिक्षक देबेन्द्र सिंह बुढाथोकी भन्छन्, ‘चेतनाको कमी हो कि, लापरवाही हो, यसले समस्या ल्याएको छ ।

हामीले नागरिकस्तरमा विभिन्न जनचेतनाका कार्यक्रमहरु गरिरहेका छौं । जस अनुसार वडा नम्बर ६ को शान्ति टोल विकास समितिको सहकार्यमा विद्यार्थीमार्फत नागरिकलाई बाटो काट्न सिकाउने अभियान थालनी गरेका छौं ।’ पछिल्लो सयम वीरेन्द्रनगरमा सडक दुर्घटनामा बृद्धि भइरहेको उल्लेख गर्दै यहाँ हुने दुर्घटनामा ५० प्रतिशतभन्दा धेरै अटोरिक्साका कारण हुने गरेको प्रमुख बुढाथोकीको भनाई छ ।

विभिन्न चरणमा यातायात व्यवसायीसँग ट्राफिक सचेतनाका लागि कार्यक्रम गर्न खोजिएको भएपनि व्यवसायी, सवारी धनी र चालकहरु नआउने गरेको उनको भनाई छ । अटोरिक्साका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्दै गएपछि नियमनका लागि वीरेन्द्रनगर नगरपालिकासँगको सहकार्यमा आवश्यक कारवाहीको प्रक्रिया सुरु गरिएको बुढाथोकी बताउँछन् ।

दरवन्दी अभावका कारण दुर्घटनाको दृष्टिकोणले महत्वपूर्ण मानिएका स्थानबाहेक अन्य क्षेत्रमा ट्राफिक प्रहरी राख्न नसकिएको प्रमुख बुढाथोकीको भनाई छ । सडक सुरक्षा र दुर्घटना न्यूनिकरणका लागि नागरिक आफू पनि सचेत हुनुपर्ने उल्लेख गर्दै सडकमा राखिएका ट्राफिक संकेतको उल्लघंन गरे पाँच सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना हुने व्यवस्था रहेको उनको भनाई छ ।

राजश्वसँगै दुर्घटनापनि बढ्दैछन्

वीरेन्द्रनगरमा सवारी चापसँगै राजश्व र दुर्घटना दुवैमा बृद्धि हुँदै गएको छ । आर्थिक वर्ष २०७८÷०७९ मा विभिन्न कसुरमा सवारी कारवाहीबाट एक करोड नौ लाख राजश्व संकलन भएकोमा गत आर्थिक वर्ष २०७९÷०८० मा बृद्धि भएर झण्डै एक करोड ४९ लाख २१ हजार पाँच सय रुपैयाँ पुगेको छ । सवारी तथा चालक सम्बन्धि आवश्यक कागजात नबोकेका, मदिरा सेवन गरी सवारी चलाएका, ट्राफिक नियमको उल्लंघन लगायतका कसुरमा संलग्न १९ हजार सात सय ८३ सवारी चालक कारवाहीमा परेको ट्राफिक प्रहरीको भनाई छ ।

जसमा एक हजार दुई सय ४६ जना मदिरा सेवन गरी सवारी चलाउनेहरु कारवाहीमा परेका छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा जिल्लाभर तीन सय १९ विभिन्न सवारी दुर्घटनामा परी ३० जनाले ज्यान गुमाएका छन् । एक सय ४२ जना गम्भीर घाइते हुँदा चार सय २३ जना सामान्य घाइते भएका छन् । यि दुर्घटनमा सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनामा परेका छन् । दुई सय ५९ वटा मोटरसाइकल, १८ ट्रक, ६ टिप्पर, १७ बस, १९ माइक्रो, ४४ जिप तथा कार, १३ ट्याक्टर, ४६ टेम्पो र चार वटा साइकल दुर्घटनामा परेका छन् ।

तपाईको प्रतिक्रिया