कर्णालीमा फैलँदै लागुपदार्थको जालो

सुर्खेत । पछिल्लो समय वीरेन्द्रनगर लागुपदार्थ कारोवार र सेवनको हटस्पट बन्दै गएको छ । सुर्खेत प्रहरीले गत असार १ गतेदेखि साउन ३ गतेसम्मको अवधिमा वीरेन्द्रनगरका विभिन्न ठाउँबाट लागुपदार्थ कारोवार तथा सेवनको मुद्दामा २६ जनालाई पक्राउ गरेको छ । सुर्खेतमा मात्रै होइन बर्सेनि कर्णालीका माथिल्ला जिल्लामा सयौँको संख्यामा युवाहरू लागुपदार्थसहित पक्राउ परिरहेका छन् । लागुपदार्थको मुख्य ट्रान्जिट बनेको सुर्खेतबाट यातायातको पहुँच बढेसँगै बिस्तारै दुर्गम जिल्लामा समेत लागुपदार्थ प्रयोगकर्ताहरू बढ्दै गएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरीले गत आर्थिक वर्ष २०७९/०८० देखि हालसम्म कर्णालीका सात जिल्लाबाट एक सय १४ वटा लागुपदार्थ सेवन र प्रयोग गरेको मुद्दामा दुई सय १४ जनालाई पक्राउ गरेको छ । जसमा एक सय ९८ जना पुरुष र १६ जना महिला रहेका छन् । लागुपदार्थको मुद्दाको जिल्लागत तथ्यांक हेर्दा सबैभन्दा धेरै सुर्खेतमा ८८ वटा मुद्दामा एक सय ३७ पुरुष र १२ महिला गरी एक सय ४९ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । जुम्लामा १२ मुद्दामा ३० पुरुष र एक महिला पक्राउ परेका छन् । यस्तै मगुमा तीन मुद्दामा सात पुरुष र एक महिला, दैलेखमा चार मुद्दामा नौ पुरुष पक्राउ परेका छन् ।

कालिकोटमा तीन मुद्दामा पाँच पुरुष एक महिला, जाजरकोटमा दुई मुद्दामा सात पुरुष एक महिला र सल्यानमा दुई मुद्दामा तीन पुरुष पक्राउ परेको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ । पक्राउ पर्नेहरु प्रायजसो ३० वर्ष मुनिका युवा तथा युवती रहेका छन् । शिक्षाको कमी, बेरोजगारी, पारिवारिक स्थिती, देखासिकी, सामाजिक तथा आर्थिक कारण युवाहरु आगुऔषधको दुव्र्यसनीमा फस्दै गएका छन् । आवश्यक कानूनको जानकारी नहँनु तथा लागुपदार्थको दीर्घकालिन समस्याका बारेमा आवश्यक जनचेतनासमेत नहुँनुले पनि युवाहरु लागुपदार्थको दलदल पर्दै गएका छन् ।

लागुपदार्थ रोकथाम र न्यूनिकरणका लागि स्थानीय तह तथा प्रदेश सरकारले प्रभावकारी कार्यक्रमहरु अगाडि सारिनुपर्नेमा त्यसो भने हुन सकेको छैन । प्रहरीको सक्रियताले लागुपदार्थ कारोवार र प्रयोगको ग्राफ बढेको भएपनि यसमा संलग्न मुख्य कारोवारी भने अझैसम्म पनि पक्राउ पर्न सकेका छैनन ।

महिलाको संख्या बढ्दै

पछिल्लो समय लागुऔषधको कारोवार र सेवनमा महिलाको संख्या बढ्दै गएको छ । तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने कर्णालीमा महिलाहरु लागुऔषधको मुद्दामा ठुलो संख्यामा पक्राउ पर्न थालेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा एक सय २१ जना पुरुष पक्राउ पर्दा १५ जना महिला रहेका थिए । यस्तै आर्थिक वर्ष २०७८/०७९ मा एक सय ६४ जना पुरुष पक्राउ पर्दा आठ जना महिला पक्राउ भएका थिए ।
गत आर्थिक वर्ष २०७९/०८० मा एक सय ९८ जना पुरुष पक्राउ पर्दा १६ जना महिला लागुऔषधको सेवन र कारोवारको मुद्दामा पक्राउ परेको प्रहरी तथ्यांकले देखाउछ । महिलाहरु पारिवारिक र आर्थिक समस्याका कारण लागुऔषध ओसारपसार तथा सेवनमा लाग्दै गएको प्रहरीले जनाएको छ ।

खुला सिमाना मुख्य समस्या

प्रहरीको सक्रियतामा लागुऔषध सेवनाकर्ता र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ पर्न थाले पनि मुख्य कारोवारी भने खासै पक्राउ परेको देखिदैन । नेपाल–भारत खुला सिमाना भएकाले भारतीय बजारबाट लागुऔषध नेपालगञ्जको बाटो हुँदै सुर्खेतबाट सोझै कर्णालीका अन्य जिल्लामा पुग्ने गरेको छ ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा हरेक वर्ष लागुऔषध प्रयोगकर्ता र कारोबारीको जालो फैलिँदै गएको बताउँछन् । ‘जब यातायात पुग्छ, त्यहाँ यसको कारोबार बढ्दै गइरहेको छ,’ प्रहरी नायब महानिरीक्षक ढकालले भने, ‘यो नियन्त्रणका लागि प्रहरी एक्लैले चाहेर मात्रै केही हुँदैन, यदि तपाईंहरूलाई शंका लागेको खण्डमा प्रहरीलाई खबर गर्ने खालको समुदाय बनाउन जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ ।’

लागुऔषध न्यूनिकरणका लागि हालसम्म भएका प्रयासको विश्लेषण गर्दै वर्तमानको अवस्था हेरेर थप योजानाका साथ प्रहरी अगाडि बढेको उनको भनाई छ । लागुऔषध कारोवारी र प्रयोगकर्ताको खोजि गरी कानूनी दायरामा ल्याउने प्रहरीको नियमित कामलाई विशेष योजनासहित अगाडि बढाइएको उल्लेख गर्दै जनचेतनाको अभियानलाई विद्यालयस्तरबाट थालनी गरिएको ढकालको भनाई छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्यांकअनुसार कर्णाली प्रदेशका दश जिल्लामा १ हजार ८ सय ११ जना लागुऔषध सेवनकर्ता छन् ।

स्नायु प्रणालीमा गम्भिर असर

मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा औषध हुन् । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागुपदार्थ भन्ने गरिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।

कानूनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागुऔषध हुन्m भने सूर्तिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागुपदार्थमा पर्दछन । लागुऔषध प्रयोगकर्ताहरुमा विस्तार–विस्तार विभिन्न समस्याहरु देखा पर्दै जान्छन् ।

ध्यान केन्द्रित नभै सिक्ने क्षमता कम हुदै जानु, मानसिक रोगको प्रभाव पर्ने, आत्तिने, मति भ्रम हुने, कुपोषण जस्तो देखिने, तौल घट्दै जाने, स्मरण शत्ति कम हुदै जाने महिनावारी गडबढ हुने, ग्यास्टीक, अल्सर जस्ता रोग लाग्ने, क्षयरोग एच.आइ. भी., एड्रस तथा हेपटाइटिस जस्ता रोगको सिकार भई अन्तमा ज्यानैसमेत जान सक्ने चिकित्सकहरु बताउँछन् ।

लागुऔषध सेवन र कारोवारमा संलग्नलाई लागुऔषध नियन्यन्त्रण ऐन, २०२३ बमोजिम धरौटी, कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया