बाख्रा पालनबाटै वर्षेनि पाँच लाख आम्दानी

दुर्गा विसी/सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१ पानीखोलाका दुई दिदीबहिनीले व्यावसायिक बाख्रा पालनबाट वर्षेनि पाँच लाख आम्दानी गर्ने गरेका छन् । पाँच वर्षदेखि व्यावसायिक बाख्रा पालन गर्दै आएका आशा बुढामगर र दीपा मगरले वार्षिक पाँच लाख बढी आम्दानी हुने गरेको बताउँछन् । नवीन बाख्रापालन फर्म मार्फत उनिहरुले ८५ वटा बाख्रा, बोका र खसी पालेका छन् । बाख्रापालन व्यवसायलाई व्यवस्थित बनाउँदै लगेपछि आर्थिक रुपमा राम्रो हुदै गरेको आशा बुढामगरको भनाई छ । पछिल्लो समय बाख्रा नै आम्दानीको मुख्य स्रोत भएको उनको भनाई छ । महिलाले घर भित्रको मात्र काम गर्नु पर्छ भन्ने छैन । आर्थिक रुपमा लाभ लिन सकिने उदाहरण आशा र दीपाबाट बनेका छन् । उनीहरु जेठानी देउरानी हुन् ।


आर्थिक उर्पाजनसित जोडिँदै आत्मनिर्भर हुन सकिन्छ भनेर व्यावसायिक बाख्रा पालनमा लागेको उनिहरुको भनाई छ । आफूलाई वा परिवारलाई आवश्यक पर्ने सामान्य खर्च जुटाउन श्रीमानसँग मात्र आश्रित हुनुपर्ने अवस्थाको अन्त्य गर्न दिदीबहिनी मिलेर बाख्रा पालनमा जुटेको समेत उनिहरुको भनाइ रहेको छ ।

गाउँ नजिकै वनजंगल हुँदा घाँसको समस्या नहुने र बजारीकरणको समस्या नभएकाले बाख्रा पालनलाई व्यावसायिक रुपमा अघि बढाउन सहज भएको भनाइ रहेको छ । सुरुवाती चरणमा थोरै संख्याबाट व्यवसाय थाले पनि आम्दानी राम्रो हुन थालेपछि बाख्राको सख्ंया बढाउँदै लगेको जनाएको छ । हालसम्म ३० लाख बराबरको लगानी लागेको छ ।
बाख्रापालन व्यवसायमा राम्रो गर्दै गएपछि पछिल्लो समय उनिहरुलाई विभिन्न सरकारी तथा गैरसरकारी संघसस्ंथाहरुले सम्मानसमेत गर्दै आइरहेका छन् । उनीहरुलाई मुख्यमन्त्री उत्कृष्ट कृषकबाट पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानले सम्मानसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया