दुर्गममा खाद्यान्न कहिले पुग्ने ?

२०७९/०८० का लागि मुगुको सोरुकोट खाद्य डिपोमा एक हजार क्विन्टल चामल पुग्नुपथ्र्यो । तर चालु आर्थिक वर्ष सकिनै लाग्दा समेत हालसम्ममा सात सय क्विन्टल चामल मात्र सोरुकोट खाद्य डिपोमा पुग्यो । डिपोमा हाल करिव एक सय प्याक चामल मात्र मौज्दात छ । नागरिकहरुले मागेजति चामल समेत पाएका छैनन् । डिपोमा अहिले चामल लिने नागरिकहरुको दैनिक लाइन नै लाग्छ । चामलको मौज्दातकम भएपछि समानुपातिक तवरमा वितरण गरिएको छ । सदरमुकामबाट सोरु जोड्ने गमगढी–सोरुकोट सडकखण्ड अवरुद्ध भएपछि सोरुकोट खाद्य डिपोमा चामलको न्यून मौज्दातअवस्ता सिर्जना भएको छ ।

करिव दश दिन अघि मात्र सोरुकोट डिपोमा खाद्यान्न ढुवानी भएको थियो । तर वर्षाले सडक अवरुद्ध हुँदा अर्को ढुवानी भने नभएको जनाइएको छ । मुगु जिल्लामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा दुई डिपो सञ्चालनमा छन् । अर्को डिपो भने कुलु खाद्य डिपो हो । यस डिपोमा चामलको अभाव छैन । हालको समयमा सदरमुकाममा रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको शाखामा नौं सय क्विन्टल चामल मौज्दात रहेको छ । २०७९÷०८०को लागि तय भएको खाद्यान्न २०८०÷०८१ मा मात्र डिपोमा पुग्ने अवस्थाले नागरिकहरुले सास्ती खेप्नुपरेको छ । हालको समयमा सडक अवरुद्ध भएपनि वर्षात्को ख्याल गर्दै यसअघि नै चामल ढुवानी गरिनुपर्ने भएपनि त्यसो भएको देखिदैन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुर्खेत स्थित प्रादेशिक कार्यालयको तथ्यांक हेर्दा कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात देखिन्छ । केहि साता अघि विभिन्न सञ्चार माध्ययममा प्रकाशित सूचनामा कर्णालीमा १२ हजार क्विन्टल खाद्यान्न मौज्दात रहेको कार्यालयले जनाएको थियो । हुम्लामा चार सय, जुम्लामा आठ सय ८०, मुगुमा एक हजार तीन सय, जाजरकोटमा एक हजार दुई सय, कालिकोटमा चार सय, दैलेखमा पाँच सय, डोल्पामा चार हजार र सुर्खेतमा तीन हजार पाँच सय क्विन्टल चामल गोदाममा रहेको कार्यालयले जनाएको थियो ।

समेरुकोट खाद्य डिपोमा कति खाद्यान्न आवश्यक पर्छ । कुन समयमा कति पठाउनुपर्छ भन्ने विषय यस अघिका आर्थिक वर्षमा समेत सम्बन्धित निकायलाई हुनुपर्ने हो । तर अहिले २०७९÷०८० मा पठाउनुपर्ने चामल हालसम्म पनि पठाउन नसक्नुमा प्रशासनिक कमजोरी देखिन्छ । नागरिकलाई भोकै राख्नु गलत हो । संविधानमा व्यवस्था भएअनुसार नागरिकले खान पाउने हकबाट अधिकार प्राप्त निकायले बञ्चित गराएको देखिन्छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र प्रशासन जस्ता निकायले आफ्ना प्रशासनिक कमी कमजोरी सुधानुपर्ने सधार्दै कर्णालीका दुर्गम जिल्लामा समयमै खाद्यान्न लगायतका अत्यावश्यक वस्तुहरु पैठारी गर्नतर्फ ध्यान दिनुपर्छ । त्यहाँको जिल्ला प्रशासन कार्यालयले समेत समयमा अनुगमन गरेर के खाद्यान्न मौज्दात छ, कति समयमै ल्याउनुपर्ने हो । यस्ता विषयमा समयमै चनाखो हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया